अंकगणित होइन, विधिको शासन

अंकगणित होइन, विधिको शासन

सिकारमा हिँडिरहेका पाण्डव तिर्खाले व्याकुल भएपछि दाजुभाइको सल्लाहमा कान्छो भाइ सहदेव पानीको खोजीमा हिँड्छन्। केही समयमै तलाउ भेटिन्छ। पानी देख्नासाथ सहदेव तिर्खा थाम्न सक्दैनन्। जब उनी पानीघुट्को हाल्न पुग्छन्, हठात् यक्ष प्रकट भएर आफ्ना प्रश्नको उचित उत्तर नदिएसम्म पानी पिउन नदिने सर्त तेस्र्याउँछन्। तिर्खाले आलसतालस सहदेव यक्षप्रश्न बेवास्ता गरी पानी पिउँछन्। परिणाम बेहोस भई लड्न पुग्छन्। भाइको खोजीमा तलाउ पुगेका नकुल, भीम र अर्जुन यक्षप्रश्नको उत्तर बेवास्ता गर्दा सहदेवकै कोटीमा पुग्छन्। के अनर्थ भयो भनी अनुज खोज्न आएका धर्मराज युधिष्ठिरसँग तिनै प्रश्न दोहोरिन्छन्। समय र परिस्थितिको गाम्भीर्य बुझेका युधिष्ठिर प्रश्नको कठघरामा उभिन तयार हुन्छन्।

यक्षको पहिलो प्रश्न थियो, ‘संसारमै सबैभन्दा ठूलो आश्चर्य कुरा के हो ?’ युधिष्ठिरले हाजिरीजवाफ शैलीमा उत्तर दिए, ‘केही छिनअघिका तन्दरुस्त मेरा भाइ आफ्नै आँखा अघिल्तिर मृत्युको मुखमा परिरहेको दृश्यले पनि म द्रवित भइरहेको छैन। दीर्घजीवी भइरहन्छु भन्ने भ्रमको आयतनले मभित्र स्थायी घर गरेको छ। योभन्दा ठूलो आश्चर्य के हुन सक्ला र देव ? युधिष्ठिरको चलाखीपूर्ण उत्तरबाट प्रसन्न यक्षले पानी पिउने आज्ञा दिँदै मुर्छामा रहेका सबै भाइको ज्यान बकस दिए।

नेपाली राजनीतिमा युधिष्ठिर शैलीको धैर्य र दूरदर्शिताको खाँचो छ। धर्मराजको त्यो उपाधिले विवेक गुमाएका भाइको जिन्दगी फिर्ता आयो। जुनबेला विवेकको जरुरी थियो, त्यतिबेला अर्जुनको निसाना, भीमको बल, सहदेव र नकुलको साहस निष्फल प्रमाणित भयो। तर राजनीतिक परिवर्तनपछि पनि हामी चार पाण्डुको नियति दोहोर्‍याउनमा गर्व गरिरहेका छौं। युधिष्ठिरजस्तो गहन शिल्पी र नेतृत्व राजनीतिले पाएन। अघिल्लो पुस्ताका नेता सक्षम थिए, उनीहरूसँग समय थिएन। अहिलेका सँग समय छ, तर न दृष्टिकोण छ, न इमानदारी। फगत कोरा भाषण मात्र। नयाँ संरचनाको अभ्यासमा छौं हामी तर खेलको नियम थाहा छैन। सम्भावना र चुनौतीको ख्याल छैन। संघीय, प्रदेशदेखि स्थानीय तहका प्रतिनिधि एउटै लयमा छन्। कोही कसैप्रति उत्तरदायी हुनुनपर्ने अचम्मको दम्भ सवार छ। ब्यालेटमार्फत पाएकोे म्यान्डेट मानौं लाठे रोपाइँका लागि जनताले दिएको लाइसेन्स हो। न जिम्मेवारीबोध छ, न अध्ययन र जिज्ञासा नै।

समृद्धिको नारामा लोभानी, पापानीको बीउ रोप्ने कामको प्रतिस्पर्धा चलिरहेको छ। जनप्रतिनिधि हिँडेका छन्, गन्तव्यको पत्तो छैन। भाषणले उपलब्धिका तारा झार्ने बेतुकको प्रयासमा समय खर्च भएको छ। लियो टल्सटय भन्छन्, ‘संसार बदल्नेबारे सोच्छन्, तर आपूmलाई बदल्ने विषयमा कसैको चासो छैन।’ हामी डोकोले लाज ढाक्नुपर्ने अवस्थामा पुग्नुको पछाडिको कारण पनि यही हो। यो अवस्था देखेर पानी स्वयं तिर्खाएको छ। लाजआफैंसँग सर्माएको भान हुन्छ। समाज जोड्ने कडी हुनुपर्ने राजनीति भताभुंग पार्न अग्रसर छ। एउटा समूहको स्वार्थमा राजनीतिका तमाम आदर्श खरानी भएका छन्। मानवता दिनप्रतिदिन मरिरहेको छ। अराजकता छाडातन्त्रको दबदबा छ। कसैलाई रातारात देवत्वकरण र क्षणभरमै राक्षसीकरण गर्ने प्रतिस्पर्धा छ। मरेर हैन, बाँचेर मर्नेहरूको कथाले समाज विक्षिप्त बन्दै गएको छ। अफगानिस्तानमा समेत कल्पना गर्न नसकिने अमानवीय घटना हाम्रो समाजमा स्वाभाविक बन्दै गएका छन्।

कलह, हत्या, हिंसा, अविश्वास, विखण्डन र विनाशको दुस्चक्रले देशलाई कहालीलाग्दो सुरुङमा प्रवेश गराउँदैछ। योग्य नभएर किनेको र चिनेको अवसरका निर्विकल्प बाटा भएका छन्। स्वतन्त्रताका नाममा छाडातन्त्र मौलाएको छ। राष्ट्रको ढुकुटी रित्याउने प्रतिस्पर्धा छ। देश त्यो गौमाता भएकी छन्, जसको लाम्टा चुस्न हानाथाप छ तर घाँस हाल्न कोही अघि सर्दैन। गल्ती सच्याउनेभन्दा त्यसलाई प्रतिशोधका रूपमा ग्रहण गर्ने शैली नजिर बन्दै गएको छ। अघिल्लो सरकारले गरेका अनुचित कर्म सच्याउनुको साटो गुणन गरेर विस्तार गर्नमा सरकारका मुखियाको ध्यान गएको देखिन्छ। लुई चौधौंको जस्तो ‘म नै राज्य हुँ’ भन्ने भ्रमबाट राज्य सञ्चालक ग्रस्त देखिन्छन्। कुनै व्यक्तिमाथि राज्यकोषको लगानी किन ? उत्तर छैन। तर उपचारका नाममा करोडौं खर्चिएका खबरले सामाजिक सञ्जाल भरिएका छन्। गरिबी अन्त्य गर्ने नारा लिएका नेताको कर्मले गरिबी नभएर गरिबकै अन्त्य गरेका छन्। जनता नेताका लागि स्थायी क्रेडिट कार्डजस्तै बनेको छ।

यातायातको सिन्डिकेट तोडियो भनेर भाषण गर्ने सरकारलाई जनताको अन्तरआत्माको आवाज सुन्ने फुर्सद छैन।

सहमतिका नाममा दलीय, वर्गीय स्वार्थ प्राथमिकतामा पारेर राजनीतिक दल चलेका छन्। जुन देशमा नेता, व्यापारी हुन्छन्, त्यहाँ जनताको अवस्था भिखारीबाट माथि उठ्न सक्दैन। हाम्रो भोगाइको वर्तमान धरातल यही हो। शिक्षा, स्वास्थ्य, यातायातजस्ता जनताका आधारभूत विषय नेताका कमाइ खाने साधन भएका छन्। जनतालाई कसरी निरोगी बनाउनेभन्दा अस्पतालको संख्या बढाउने एजेन्डा राजनीतिक केन्द्रविन्दुमा छ। चुनावमा वाचा गरेको घोषणापत्रले नभएर आफ्ना ढोके, हुक्के, बैठके, बगैंचे, कुन्डले र मुन्द्रेसँग बसेर गरिएका निर्णय सरकारी प्राथमिकताका विषय बन्ने गरेका छन्। यी सबै दृश्य हेर्दा लाग्छ– सत्तासीन र प्रतिपक्षीमा देश बनाउन नभएर देश बिगार्न राष्ट्रिय सहमति छ। मासुको बिलो लगाए जसरी पदको बाँडचुड छ। प्रतिस्पर्धा एकादेशको कथा बनेको छ। निगाहा र परिवारवादको भद्दा दृश्यलाई समावेशीको जामा पहिर्‍याएर जताततै कुतर्कका खेती लगाइएको छ। पात्र फेरिए पनि प्रवृत्ति उही छ। सिर्जनाका इँटा थपिनु साटो भएका इँटा खोसाखोस बढ्दो छ। इतिहास मासिनु भनेको जराविनाको वटवृक्षको कल्पना गर्नुजस्तै हो। संघीय गणतन्त्रलाई जराविनाको लहरे पीपलजस्तै बनाइँदैछ।

शास्त्रले राजनीतिलाई नीतिहरूको राजा मानेको छ। राजनीति त्याग र इमानमा फस्टाउँछ। रामराज्य त्यस्तो आदर्शमा बाँचेको थियो, अपराध गर्नेआफैं जेल जान्थ्यो। टाउकोको एउटा रौं फुलेपछि बाउले छोरालाई सत्ता हस्तान्तरण गथ्र्यो। यी सत्य पढ्न र सुन्न रमाइलो भए पनि व्यवहार ठीक उल्टो छ। नेपालमा लामो समयदेखि दलका कार्यकर्तामा राजनीतिक संस्कारको अभाव छ। संक्रमणकालको नाममा दशकौंदेखि बेथिति, अपराध माफी, मिनाहाका माध्यम भएका छन्। राजनीति सेवा नभएर अपराध उत्पादन गर्ने कारखाना भएको छ। राजनीतिमा लागेर सेवा गर्नुभन्दा पदको जोहो र शाखा सन्तानको भविष्य सुधार्न राजनीतिकर्मीको ध्यान केन्द्रित छ। राजनीति जबर्जस्त व्यापार र दलालीको साधन बनाइएको छ।

नयाँ संरचना अभ्यासमा रहेको नेपालमा सरकारको अनुभूति नै छैन। दिनदहाडै छोरी बलात्कृत हुन्छिन्। अपहरण फस्टाउँदो छ, शान्तिसुरक्षा छैन। महँगी चुलिएको छ। भ्रष्टाचार नभएको ठाउँ छैन। यातायातको सिन्डिकेट तोडियो भनेर भाषण गर्ने सरकारलाई जनताको अन्तरआत्माको आवाज सुन्ने फुर्सद छैन। सिन्डिकेट नभएको क्षेत्र छैन। भ्रष्टाचारको तल्लो तहसम्म व्याप्त छ। प्रशासनिक क्षेत्रमा छिटोछरितो काम हुँदैन। सिस्टममा देश नचल्दा, काम गर्ने जोस र जाँगर हराएको छ। साइबेरियन बकुल्लाले ठाउँ छोडे झैं हुलका हुल नेपाली युवा आत्मसम्मान गुमाएर विदेशमा तुच्छ स्तरको काम रोज्न बाध्य छन्। त्यो रोकिने छाँट छैन।

सर्सर्ति हेर्दा अलिकति सहरीकरण, अलिकति शिक्षा, अलिकति चेतनाको कारण मुलुकले प्रगतिको बाटो लिएको देखिए पनि सरकारको अस्थिरता र अदूरदर्शी एवं स्वार्थप्रेरित खिचातानीका कारण जनतामाझ विश्वास पलाउनै सकेन। राजनीतिक दलले आफूभित्रबाट मुलुकको ‘भाग्य’ निर्माण गर्ने क्रममा मान्छे एक ठाउँबाट अर्को ठाउँमा सर्नु, एक देशबाट अर्को देशमा काम गर्न जानुलाई अनुचित भन्न सकिँदैन। तर निराशाका कारण पलायन हुनुचाहिँ अवश्य गम्भीर चिन्ताको विषय हो। झन्डै चालीस लाख नेपाली अहिले मुलुकबाहिर छन्। समाजको चारित्रिक ढाँचा नराम्रोसित बिथोलिएको छ। थातथलोप्रतिको वितृष्णाले माटोको आत्मामा ठूलो चोट लगाउँछ। यसको क्षतिपूर्ति सम्भव छैन।

प्रख्यात चिन्तक पाउलो फ्रेरेको एउटा भनाइ छ, ‘सपनाविना परिवर्तन सम्भव छैन। अनि आशा र विश्वासविना सपनाको अर्थ हुँदैन।’ सपना साकार गर्न लाग्नुपर्छ समृद्धिको अभियानमा घरघरबाट लाग्नुपर्छ, बस्तीबस्तीबाट लाग्नुपर्छ, यो देशको मुहार हेर्नलाई सबै जनप्रतिनिधिदेखि जनतासम्म परि श्रममा लाग्नुपर्छ। परि श्रम गरेर लाग्ने व्यक्तिले अवसर पाउनुपर्छ। भनिन्छ– नेचर, कल्चर र सिग्नेचर सजिलै बदलिँदैन।

हिंस्रक, पापी र असत्यवादी मानिस बुद्धको अनुहार लिएर जन्मिए पनि शान्तिकामी हुन सक्दैन। बुद्ध, एरिस्टोटल प्लेटो कसैको बाद थिएन, समूह थिएन, झन्डा थिएन। तर विचारका लागि सधैंसधैं बाँचेका छन्। फिडेल क्यास्ट्रोका नाममा विमानस्थल, विश्वविद्यालय, कारखाना, अस्पताल खुलेका छैनन्, तर उनको नाम नसुन्ने कोही छैन। मानिसका १८ परीक्षा हुन्छन्। सबैमा सर्वोत्कृष्ट दरिएको व्यक्ति अर्थ परीक्षामा चिप्लिन सक्छ। हो, देशमा दुईतिहाइ बहुमतको सरकार छ तर बेथिति संक्रमणकालको भन्दा कम छैन। आशा गरौं– शासन अंकगणितले होइन, विधिले गर्छ भन्ने चेतना पलाओस् सबैमा।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.