नेपालको प्रदर्शन सुधार्ने लक्ष्य
काठमाडौं : पूर्वनिर्धारित कार्यक्रमअनुसार मंगलबार नेपाल एथलेटिक्स संघको चुनावी साधारणसभाको मिति तय भएको थियो । चारवर्षे कार्यकालपछिको नियमित चुनावी साधारणसभाका लागि संघले सबै प्रक्रियासमेत पूरा गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले इन्डोनेसियामा यही अगस्ट १८ तारिखबाट सुरु हुने १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का कारण संघलाई साधारणसभाको मिति सार्न निर्देशन गरेपछि संघले मंगलबार एसियाड खेलाडीको बिदाइ गरेको हो ।
संघका अध्यक्ष राजीवविक्रम शाहले संघमा आबद्ध ३९ जिल्लामध्ये ३७ जिल्लाको निर्वाचन सकिएको र साधारणसभाका लागि सबै पक्ष तयार रहेको अवस्थामा राखेपकै सुझावका आधारमा निर्वाचन सारिएको बताए । ‘अहिले सबै खेलाडी र देशको ध्यान एसियाडतर्फ मोडिएको छ । चुनावी प्रक्रियाका लागि संघको सबै तयारी पूरा भएको छ । राखेपसँग फेरी छलफल गरेर विश्व एथलेटिक्स महासंघका प्रतिनिधिको रोहबरमा भदौ २२ गते संघको निर्वाचन गर्नेछौं,’ शाहले भने ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला २०७२ को भूकम्पपछि लथालिंग बनेकाले अहिले सबैभन्दा बढी प्रभाव एथलेटिक्स खेलाडीमा परेको छ । रंगशालामा रहेको ट्र्याकसमेत भूकम्पपछि काम नलाग्ने भएकाले संघले एसियाडमा सहभागी खेलाडीलाई भारतको कोलकातामा एक महिना वैदेशिक प्रशिक्षण र तयारी गराएको छ । संघले खेलाडीलाई कोलकातास्थित सुवासचन्द्र बोस एथलेटिक्स एकेडेमीको सहयोगमा तयारी गराएको हो ।
एसियाडमा नेपालका चार पुरुष र दुई महिला गरी ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ यामसाजन सुनारले एक सय मिटर, गोपीचन्द्र पार्की र कृष्णबहादुर बस्नेतले म्याराथन तथा सोमबहादुर कुमालले चार सय र आठ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सरस्वती भट्टराईले आठ सय र पन्ध्र सय मिटर दौड र विश्वरूपा बुढाले पाँच हजार र १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।
बिदाइ कार्यक्रमा टोलीका सबै खेलाडीले ठूलो प्रतियोगितामा पदकको आस गर्नु स्वाभाविक भएको बताए । ‘हाम्रो लक्ष्य राम्रो खेल्दै देशलाई चिनाउनु हो । एसियाडमा व्यक्तिगत प्रदर्शन सुधार गर्न सके त्यसले आगामी वर्ष नेपालमै आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग)लाई सहयोग पुग्नेछ,’ खेलाडीले भने । नेपाली टोलीको प्रशिक्षकमा अमिरी यादव र व्यवस्थापकमा शान्ति सिंह रहेका छन् । बिदाइ कार्यक्रममा संघले खेलाडीलाई प्रोत्साहनस्वरूप जनही १० हजार रुपैयाँ र खेल पोसाक प्रदान गरेको छ । खेलाडीलाई संघका अध्यक्ष शाहलगायतले बिदाइ गरे । एथलेटिक्स टोली एक सातापछि मात्र इन्डोनेसिया जानेछ ।