भक्तपुर प्रहरीमा मुद्दा वृद्धि

भक्तपुर प्रहरीमा मुद्दा वृद्धि

भक्तपुर : भक्तपुर प्रहरीमा मुद्दाको प्रतिशत निरन्तर बढ्दै आएको छ। आर्थिक वर्ष २०७३-७४ को तुलनामा २०७४-७५ मा २० प्रतिशतले मुद्दा बढेको हो।

आर्थिक वर्ष २०७२-७३ को तुलनामा २०७३-७४ मा भने १० प्रतिशत मात्रै मुद्दा बढेको थियो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आर्थिक वर्ष २०७२-७३ मा कूल चारसय ३८ को संख्यामा रहेको मुद्दा बढेर २०७३-७४ मा चारसय ८६ र २०७४-७५ मा पाँचसय ९९ पुगेको छ।

यस संख्यालाई सर्वसाधारणको भाषामा भक्तपुरमा अपराधको संख्या बढेको हो। तर प्रहरीले आफूकहाँ दर्ता हुन आएको घटनालाई अपराध नभनी मुद्दा भन्ने गर्दै आएको छ।

त्यसैले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ पनि भक्तपुरमा अपराध नभई अपराधका मुद्दा बढेको तर्क गर्छन्। उनका अनुसार दिनहुँ भइरहेका सम्पूर्ण आपराधिक घटना प्रहरीसम्म पुग्दैनन्। सबै आपराधिक घटना प्रहरीको जानकारीमा पनि नहुने उनको भनाइ थियो।

‘आपराधिक घटना त दिनहुँ भइरहेका हुन्छन्। यस्ता घटनाको लेखाजोखा नै छैन’, उनले भने, ‘भएका अपराध सबै प्रहरीको जानकारीमा हुँदैन। प्रहरीसम्म पनि पुग्दैनन् पनि। तैपनि हामीकहाँ मुद्दाको रुपमा घटना दर्ता हुने क्रम बढेको हो।’

प्रहरी उपरीक्षक श्रेष्ठले कुनै पनि घटना हुँदा प्रहरीकहाँ जानुपर्छ है भन्ने सचेतना सर्वसाधारण्मा बढेकाले पनि मुद्दाको चाप बढेको दावी गरे। ‘प्रहरीकहाँ मुद्दा बढ्नु भनेको सर्वसाधारण सचेत भएको प्रमाण पनि हो’, उनले भने, ‘सर्वसाधारणले विश्वास गरेर प्रहरीसम्म आइपुगेकैले मुद्दाका संख्या बढेका हुन्।’

भक्तपुर प्रहरीको तीनवर्षे तथ्यांकलाई आधार मान्दा यहाँ केही सार्वजनिक अपराध निरन्तर बढेको देखिन्छ। अघिल्लो वर्ष एकसय ८५ को संख्यामा रहेको सार्वजनिक अपराधसम्बन्धी मुद्दा गत वर्ष ह्वात्तै बढेर दुई सय पचास पुगेको छ। त्यस्तै चोरीका घटना पनि यहाँ वर्सेनि बढिरहेको छ। अघिल्लो वर्ष ३० वटा भएकोमा गत वर्ष ५७ वटा चोरीको मुद्दा परेको छ।

भक्तपुरका जबरजस्ती करणीको मुद्दा पनि बढिरहेको छ। अघिल्लो वर्ष ११ वटा रहेको जबरजस्ती करणको मुद्दा गत वर्ष २० पुगेको छ। बहुविवाहसम्बन्धी मुद्दा पनि बढ्दो अवस्थामा रहेको छ। अघिल्लो वर्ष सात वटा मुद्दा दर्ता भएकोमा गएको असारसम्ममा दस पुगेको छ।

लागूऔषधसम्बन्धी मुद्दा पनि भक्तपुरमा उल्लेख्य बढेको प्रहरीको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष १५ वटा मुद्दा परेकोमा गएको असारसम्म १९ वटा मुद्दा परे। त्यस्तै साउन एक महिनामा मात्रै लागूऔषधसम्बन्धी तीनवटा मुद्दा परिसकेको परिसरका प्रमुख प्रहरी उपरीक्षक श्रेष्ठ बताउँछन्।

लागूऔषध ओसारपसार तथा खरिदबिक्रीविरुद्ध प्रहरी तदारुक भएर लाग्दा उक्त परिणाम हात लागेको उनको भनाइ थियो।

बैंकिङ कसुर उल्लेखनीय
पछिल्लो समय भक्तपुर प्रहरीमा बैंकिङ तथा वित्तीय कसुरसम्बन्धी मुद्दा उल्लेख्य रुपमा बढेको छ। अघिल्लो वर्षसम्म यस मुद्दामा प्रहरीले त्यति चासो दिएको थिएन तर गएको वर्ष १७ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेल बताउँछन्।

खातामा पर्याप्त रकम नभएका चेक थमाएर ठग्नेविरुद्ध प्रहरीले बैंकिङ कसुर मुद्दा चलाउँदै आएको उनको भनाइ थियो।

उनका अनुसार भक्तपुरमा फुटकर ज्यान र भवितव्य ज्यानका मुद्दा पनि बढेका छन्। अघिल्लो वर्ष क्रमशः ३३ र ३७ रहेको फुटकर ज्यान र भवितव्य ज्या नगत वर्ष ३८ र ५० पुगेको छ।

भक्तपुर प्रहरीको तथ्यांक हेर्दा सवारी ज्यान, सवारी अंगभंग, सरकारी छाप दस्तखत कीर्ते, ठगी, जुवा, विष सेवनबाट मृत्यु, झुण्डी मृत्यु जस्ता मुद्दा भने घट्दो रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.