बाैद्ध शिक्षामा वार्षिक तीनलाखसम्म कर

बाैद्ध शिक्षामा वार्षिक तीनलाखसम्म कर

काठमाडौं : दक्षिणकाली नगरपालिकामा रहेका गुम्बाहरूले अब वार्षिक दुई लाख रुपैयाँभन्दा बढी कर तिर्नुपर्ने भएको छ । नगरपालिकाले हालै तयार पारेको आर्थिक ऐन २०७५ अनुसार बौद्धहरूलाई बौद्ध शिक्षा दिने गुम्बाहरूमाथि दर्जनभन्दा बढी शीर्षकमा कर तोकेको छ । संविधानको भाग ३ को मौलिक हक तथा कर्तव्यअन्तर्गत धारा ३१ मा माध्यमिक तहसम्म नागरिकले निःशुल्क शिक्षा पाउने व्यवस्था छ ।

नगरपालिकाको आर्थिक ऐनले गुम्बालाई पाहुनाघरमा वर्गीकरण गर्दै वार्षिक ५० हजार र घर करबापत् वार्षिक २० हजार रुपैयाँ तोकेको छ । ऐनअनुसार अन्यलाई घर करबापत जम्मा ३ सय रुपैयाँ मात्र तोकेको छ । यसैगरी गुम्बा विद्यालय सिफारिसका लागि ३० हजार रुपैयाँ कर तोकिएको छ तर योग शिक्षा र चर्चलाई ३ हजार रुपैयाँ मात्र कर तोकिएको छ । नगरपालिकाको आर्थिक ऐनमा गुम्बालाई शिक्षा कर, घर कर, व्यवसाय करका साथै सिफारिस, प्रमाणित, दर्ता, नवीकरण सिफारिस, घरनक्सा पास दस्तुरलगायत १२ भन्दा बढी शीर्षकमा कर तोकिएको छ । घरनक्सामा चर्चले १५ रुपैयाँ मात्र राजस्व बुझाए पुग्छ तर गुम्बालाई प्रति वर्गफिट २० रुपैयाँका दरले राजस्व तोकिएको छ । नगरपालिकाले साउन १ देखि गुम्बामाथि विभिन्न शीर्षकमा चर्को कर तोकेको हो ।

नगरपालिकामा ६० बढी गुम्बा रहेकाले आम्दानीको स्रोत नै गुम्बालाई बनाएर बौद्ध शिक्षामाथि नै प्रहार गरेको नेपाल बौद्ध महासंघका उपाध्यक्ष आचार्य नुर्बु लामाले बताए । ‘हामीले नगरपालिकामा कर खारेजीको मागसहित ज्ञापनपत्र बुझाएका छौं । कर खारेज नभए अदालत जाने तयारीमा छौं’, उनले बताए । नगरपालिकाले गुम्बालाई घर, व्यवसाय, शिक्षालगायत सबैमा राखेर अस्वाभाविक कर तोक्नु र अन्य शिक्षालाई छुट दिनुले संविधानको मौलिक हक र धर्मनिरपेक्षताको खिल्ली उडाएको महासंघको आरोप छ ।

मेयर मोहन बस्नेतले नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम नगरसभाले आर्थिक ऐन २०७५ निर्माण गरी राजस्वको दररेट तय गरेको बताए । नगरसभाले गरेको निर्णय भन्दै उनले यसबारे कुनै प्रतिक्रिया दिएनन् । नगरपालिकाले संवैधानिक हक प्रयोग गर्दा अरूको अधिकार हनन् भएको नदेखेको बौद्धकर्मीको आरोप छ । राजस्व दररेट निर्धारणका नाममा बौद्ध शिक्षा माथि प्रहार गरेको भन्दै सबै शिक्षालाई समान राजस्व तोक्न माग गरिएको छ । नगरपालिकाले गुम्बाप्रति गलत दृष्टिकोण राखेको भन्दै बौद्ध शिक्षामाथि दर्जनौं शीर्षकमा कर तोकेर प्रहार गरेको आरोप महासंघको छ ।

‘हामीले नगरपालिकामा कर खारेजीको मागसहित ज्ञापनपत्र बुझाएका छौं । कर खारेज नभए अदालत जाने तयारीमा छौं ।’ आचार्य नुर्बु लामा, उपाध्यक्ष, नेपाल बौद्ध महासंघ

शिक्षा दिने अन्य विद्यालय र संस्थालाई नगरपालिकाले यसरी अनेकौं शीर्षकमा कर तोकेको छैन । नगरपालिकाले गुम्बासँग नवीकरण सिफारिस शुल्क ५ हजार असुल्दै आएको छ भने अन्य संस्थाको नवीकरणको हकमा ५ सय रुपैयाँ मात्र तोकेको छ । नयाँ गुम्बा दर्ता गर्न २५ हजार रुपैयाँ तोकेको छ भने अन्य संस्था दर्ता गर्न २ हजार मात्र तोकेको छ । नगरपालिकाले अन्य निजी विद्यालय दर्ता र स्तरोन्नति गर्न ५ देखि १० हजारसम्म तोकेको छ भने गुम्बालाई ३० हजार तोकेको छ । अन्य धर्मसँग सम्बन्धित मन्दिर निर्माण गर्दा कुनै कर नलाग्ने तर गुम्बामाथि मात्र कर असुल्नु कति जायज हो बौद्धमार्गीहरूले प्रश्न उठाएका छन् ।

यसअघि गुम्बा विकास समितिअन्तर्गत गुम्बा दर्ता भए पनि कुनै पनि राजस्व लिने व्यवस्था थिएन । सिफारिसका लागि सय रुपैयाँसम्म शुल्क लिए पनि यस वर्षदेखि स्थानीय तहले जथाभावी शुल्क तोकेको छ । गुम्बामा बौद्ध शिक्षा दिइने स्पष्ट हुँदाहुँदै चर्चलगायतलाई कर छुट दिनु तर गुम्बामा अनेकौं कर लगाउनु संविधानविपरीत भएको दाबी महासंघ र बौद्धमार्गीको छ । महासंघले निःशुल्क शिक्षा, धर्मनिरपेक्षता जस्ता संवैधानिक अधिकार नगरपालिकाले कुण्ठीत पार्न खोजेको र यसमा सुधार नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छन् ।

गुम्बाले नगरपालिकालाई तिर्नुपर्ने कर

शीर्षक    रकम

१.गेष्ट हाउस तोकेरः    ५०,०००

२.गुम्बा स्कुल सिफारिसः    ३०,०००

३.गुम्बा दर्ताः    २५,०००

४.गुम्बा घर करः    २०,०००

५.सिफारिस÷नवीकरणः    २५,०००

६.गुम्बा निर्माण नक्सा पासः    ५०,००० (करिब)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.