गतिछाडा गीत : अश्लील शब्द, भद्दा प्रस्तुति

गतिछाडा गीत :  अश्लील शब्द, भद्दा प्रस्तुति

'हाम्रो संस्कृतिलाई, सिर्जनालाई मौलिक र राम्रो बनाऔँ, मनोरञ्जन पनि गरौँ। तर, छाडा, असाध्यै आफैँलाई लाज लाग्ने अवस्था, संस्कृति नै बदनाम हुने अवस्थालाई चैँ रोक्नैपर्छ। संसारमा जसले पनि रोकेको छ।'

२०७४ चैतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको 'खुला लोक दोहोरी गीत प्रतियोगिता'को उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले भनेका शब्द हुन् यी।

भाषणका क्रममा उनले भनेका थिए, 'त्यसमा हामी सिस्टम, सेन्सर के बनाउन सक्छौँ, छलफल गर्न सक्छौँ। मेरो कार्यकालमा गीतसंगीत, दोहोरी माथि आउनुपर्छ र यो सेक्टरमा लागेको मान्छेले सबैभन्दा गर्व गर्ने अवस्था बन्नुपर्छ।'

त्यही कार्यक्रममा प्रतिष्ठानका पूर्वअध्यक्ष दुर्गा रायमाझीले भनेका थिए, 'आज मेला-महोत्सव धेरै ठाउँमा भएका छन्। कलाकारहरू तँछाडमछाड गरेर जान्छन्। फलाना कलाकारले गति छाडे अनि केही ठाउँमा सुनिन्छ, कलाकारले त नांगै नाचे रे।'

गीतसंगीतलाई नजिकबाट बुझेका मन्त्री अधिकारी र लोक दोहोरी प्रतिष्ठानकै पूर्वअध्यक्ष रायमाझीले सार्वजनिक कार्यक्रममा भनेका यी कुराले पक्कै अर्थ राख्छन्। जिम्मेवार तहमा रहेका उनीहरूको भनाइले नेपाली गीतसंगीतको क्षेत्रमा समस्या बढिरहेका छन् भन्ने पनि प्रस्ट हुन्छ। 

कुनै समय लोकगायक कुमार बस्नेतले गाएका 'छोरीभन्दा आमा तरुनी', 'उनकै छोरी तरुनी हाम्लाई केको दोष' जस्ता गीतबारे पनि विवाद हुन्थ्यो। एक दशकअघि कोमल वलीले 'पोइला जान पाम्' बोलको तीज गीत गाउँदा धेरैले छाडा गीत भन्दै विरोध गरेका थिए। गायिका वली 'पोइल' मौलिक शब्द भएको भनेर स्पष्टीकरण दिँदादिँदा हैरान भएकी थिइन्। 

अहिले बजारमा लोक, दोहोरी र तीज गीत बनेर सार्वजनिक भएकामध्ये धेरै गीतले 'गतिछाडा'को आरोप खेपिरहेका छन्। पछिल्लो पुस्ताका ज्योति मगर, सरस्वती लामा, सोनिका रोकाय भिडियोमा भद्दा रूपले प्रस्तुत भएर र समाजले 'छाडा' मान्ने शब्दहरू बोलेर बढी चर्चामा छन्।

लोकदोहोरीका नाममा दोहोरो अर्थ लाग्ने गीत गाएर प्रकाश कटुवाल, श्रीदेवी देवकोटा, रविन अधिकारी, राजकुमार बस्नेतलगायत गायक-गायिका विवाद र चर्चामा आउने गरेका छन्। पछिल्लो समय 'सांस्कृतिक महोत्सव'का नाममा ठाउँ-ठाउँमा हुने मेलामा लोकगीतलाई 'जोकगीत' र दोहोरीलाई 'फोहोरी' बनाएको भनेर चर्को आलोचना पनि हुने गरेको छ।

प्रस्तोता समाज नेपालका अध्यक्ष तथा लोकगायक तुलसी पराजुली भन्छन्, 'अहिले युट्युबको ट्रेन्डले गर्दा लोकगीत मात्र होइन, अरू गीत पनि उस्तै भएका छन्। सर्वाधिक भ्युअर्स भएका गीतहरू परिवारमा सँगै बसेर हेर्न, सुन्न पनि नसकिने अवस्था छ।'

गीतसंगीतलाई विकृत बनाएको आरोप खेप्ने गरेका कलाकार भने यसलाई छाडापन नभएर समयको माग भएको दाबी गर्छन्। दोहोरी गाउने राम्रो क्षमता भएकी ज्योति मगर कुनै बेला 'उही मुलाको सिन्की' लगायत दोहोरी गाएर चर्चामा थिइन्।

तर, पछिल्लो समय उनी भिडियो र स्टेजमा अर्धनग्न अवस्थामा देखापर्न थालिन्। दोहोरी गाउँदा समाजले छाडा मान्ने शब्दहरू बोलेर विवादमा पर्ने गरेकी छिन्। उनी अहिलेको पुस्ताको माग भन्दै विरोध गर्नेलाई उल्टै गाली गर्छिन्। 'मेरा गीत छाडा होइनन्, मैले एउटा कुरा भन्दा अर्कै अर्थ लगाउनेहरूको दिमाग छाडा हो,' उनको तर्क छ, 'संस्कृति पनि समयअनुसार परिवर्तन हुन्छ।'  

एक वर्षयता 'छाडा गायिका'को आरोप खेप्दै आएकी सरस्वती लामा आफूले गुन्यूचोली लगाएर गाउँदा कसैले वास्ता नगरेको तर छोटा लुगा लगाउँदा र सत्य कुरा बोल्दा केहीलाई नपचे पनि धेरै दर्शक-स्रोता कमाएको दाबी गर्छिन्। 

उनी यसलाई समयको माग भन्छिन्। ज्योति र सरस्वती जस्तै संस्कृतिलाई छाडा बनाएको आरोप खेप्नेहरूको प्रायः एउटै तर्क रहने गरेको छ, 'यो परिवर्तित समयको माग हो।' राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष तथा चर्चित दोहोरी गायक बद्री पंगेनी भने समयको माग भनेर जे मन लाग्यो, त्यही गर्न नहुने बताउँछन्। उनी भन्छन्, 'कलाकारले हाम्रो समाज र संस्कृतिको पनि ख्याल गर्नुपर्छ।' 

दोहारी कि फोहोरी ?

गायिका आस्था राउतले केही समयअघि फेसबुकमा एउटा स्ट्याटस लेखिन्, 'कति स्वरका धनी चेलीहरू घरमै बस्नुपरेको छ। अश्लील कुरा गर्ने र नांगो नाच्नेहरू चैँ महोत्सवमा बिकेका छन्।' 
आस्थाले कसैको नाम त उल्लेख गरेकी थिइनन् तर उनको स्ट्याटसले ज्योति मगरलाई बिझाएछ। उनले त्यसको प्रतिवादमा लामो स्ट्याटस लेखिन्। उनले लेखेकी थिइन्, 'अश्लील बिक्यो भन्नेहरू कुवाको भ्यागुता हुन्। त्यहाँबाट निस्किएर हेर्नुस् !'

सांस्कृतिक महोत्सवका नाममा देशभर हुने गरेका मेलामा प्रमुख आकर्षणका रूपमा 'छाडा' भनिएका कलाकार नै हुने गरेका छन्। दर्शक धेरै आउने र धेरै टिकट बिक्ने लोभमा आयोजक उनीहरूलाई महँगो पारिश्रमिक तिर्न तयार छन्। तर, त्यहाँको लाइभ दोहोरीमा कस्ता गीत गाइन्छन्, युट्युबमा हेर्नु पर्याप्त हुन्छ। 

ज्योति मगर र राजकुमार बस्नेतले चितवनको खैरेनीमा आयोजित पाँचौँ खिचरा महोत्सवमा गाएको प्रत्यक्ष दोहोरीका केही शब्द यस्ता थिएः

राजकुमारः यो ज्योतिको तिघ्रा नै कत्रो
हाम्रो गाउँको पिपलको थाम जत्रो

ज्योति : म पनि त भर्खरकी तरुनी
तिघ्रा मात्र होइन ठूलै छ अरू नि...

रत्ननगर जेसिजले आयोजना गरेको 'पूर्वी चितवन महोत्सव'मा ज्योति र रविन लामिछानेले गाएको दोहोरी 'लाजमर्दो' थियोः 

ज्योतिः पुलिस दाइले यो ज्यानलाई गलाउँछन्
मेसिनगन रटट चलाउँछन्।

रविनः पुलिस दाइको सबै गन खा रैछ
त्यसैले त यो इनर्जी आ रैछ

पशुपति शर्मा 'राम्रा गीत गाउने' र पढे-लेखेका, संस्कृति बुझ्ने गायकका रूपमा परिचित छन्। तर, नवलपरासी, कावासोतीमा आयोजित महोत्सवमा उनले सम्झना भण्डारीसँग गाएको दोहारीको हालत पनि उस्तै छ। 

पशुपतिः ठिटोसँग गए पो मीठो भात खान्थ्यौ
             कुप्री पर्‍या बुढासँग के जान्थ्यौ ?

सम्झनाः ठिटोले रुवाउन पार्नी
            बूढोले हो ठिटीको धीत मार्नी।

पशुपति र भूमिका गिरीको दाङमा आयोजित नारायणपुर महोत्सवको दोहोरी पनि उस्तै छ। महोत्सवका नाममा हुने दोहोरीलाई चर्चित गायकहरूले नै दोहोरो अर्थ लाग्ने बनाएका छन्। यस्तो कुरा पशुपति आफैँलाई पनि महसुस हुन्छ। उनले हरेकजसो यस्ता कार्यक्रममा भन्ने गरेका छन्, 'दोहोरी गाउँदा महोत्सवमा थोरैलाई हँसाइएको हुन्छ तर युट्युबमा हालिदिन्छन्। हजारौँको गाली खाइन्छ।'

गाली खाइन्छ भन्ने जान्दाजान्दै पनि कलाकारहरू त्यही हर्कत दोहोर्‍याइरहेका हुन्छन्। चलेकै कलाकार पनि किन यस्तो गर्छन् त ? प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी बचाउ गर्छन्, 'कहिलेकाहीँ सचेत हुँदाहुँदै पनि सँगै गाउनेले प्रश्न गरेपछि त्यस्तै जवाफ दिनुपर्ने अवस्था आउँछ, नत्र हारिन्छ।'
महोत्सवहरूमा अचेल कस्ता दोहोरी गाइन्छन् भन्ने केही नमुना मात्र हुन् यी त। स्टेजमा मात्र होइन, दोहोरी गीतहरू अचेल स्टुडियोदेखि नै दोहोरो अर्थ लाग्ने गरी तयार पारिन्छ। विनोद ढकाल र कमला बजगार्इंको गीतका शब्द यस्ता छन्ः

घरीघरी चिलाउने छाम्दा गिलो-गिलो
हेरिदेऊ न यो लुतो हो कि पिलो।

श्रीदेवी देवकोटा र प्रकाश कटुवालका धेरै गीत यस्ता दोहोरो अर्थ लाग्ने किसिमका छन्। 'वान पिस लाको देखेँ भने बीचबाटैमा खोल्दिन्छु' जस्ता गीतका कारण उनीहरूको चर्काे आलोचना भएको थियो। 

ज्योति र तिलक ओलीको गीत 'क्वाप्पै मुखमा हाल्छु केरा काटेर'का गीत र भिडियो उस्तै भद्दा छन्। ज्योति र रोशन सिंहले गाएको 'ओई ज्योति देऊ न एकचोटि' होस् या ज्योतिकै अभिनय रहेको प्रकाश कटुवाल र श्रीदेवी देवकोटाको गीत 'पोल्यो मलाई बैँसको रापैले, निभाउन नि नमिल्ने आफैँले' धेरैको गाली खाने गीतमा पर्छन्।

प्रकाश र श्रीदेवीकै अर्को गीत 'ढाडे बिरालो'का शब्द र त्यसमा ज्योतिको उत्तेजक नाच पनि एक पटक विवादको शिखरमै पुग्यो। तर, जति विवाद भए पनि ज्योति आफूलाई केही मतलब नभएको अन्तर्वार्ता दिन्छिन्। 'म कसैको रेस्पेक्ट र सहानुभूति पाउन काम गर्दिनँ,' उनले एउटा अन्तर्वार्तामा भनेकी छिन्, 'आफूलाई रमाइलो लाग्ने काम गर्छु।' उनले अर्को एउटा अन्तर्वार्तामा भनेकी छिन् 'पछाडि जेसुकै भनून्, मलाई मतलब छैन। मेरो अगाडि रमाइलो गर्छन्। त्यही ठूलो लाग्छ।'

भद्दा भिडियो 

सुरुमा ठीकठीकै गाउँदै गरेकी सरस्वती लामाले एक वर्षअघि एउटा युट्युब च्यानलमा 'नेपाली संगीत क्षेत्रमा चल्न कि पुँजी चाहिन्छ कि...' भन्ने अन्तर्वार्ता दिइन्। अन्तर्वार्तामा छाडा बोलेको भन्दै धेरैले गाली गरे तर त्यही अन्तर्वार्ताले आफूलाई रक गायिका भन्ने उनी हिट भइन्। अहिले उनलाई स्टेज कार्यक्रममा देश–विदेशबाट निम्त्याइन्छ। महोत्सवहरूमा उनै व्यस्त छिन्। उनी सीधै भन्छिन्, 'महोत्सवहरूमा मेरो गीत सुन्न होइन, सरस्वतीले के बोल्छे र कुन अंग देखाउँछे भनेर हेर्न आउँछन्।'

बाँके, कोहलपुरमा आयोजित औद्योगिक व्यापार पर्यटन मेलामा दर्शकलाई दोहोरो अर्थ लाग्ने शब्दहरू बोल्दै उनले बाहिरी कपडा खोलेर गाइन्। दर्शकको बीचमा गएर गाउँदा अत्यधिक भीड भएपछि उनलाई प्रहरीले घेरा हालेर स्टेजमा पुर्‍याउनुपर्‍यो। स्टेजमा उनको प्रस्तुति मात्र होइन, बोली पनि उस्तै भद्दा हुन्छ। स्टेजमा 'म भर्जिन छु कि छैन भन्ने चेक गर्ने को छ ?' भन्दा उनले खूब गाली खाइन्। तर, उनी आफूलाई गाली गरेको मज्जा लाग्ने बताउँछिन्। 'मलाई त गाली भगवान्को आशीर्वादजस्तो लाग्छ।'  आफूलाई दर्शकले गाली गरेकै विषयमा उनले 'हात्ती भैँसी' बोलको गीत सार्वजनिक गरेकी छिन्। 

तिलक केसीसँग ज्योति मगरले गाएको गीत 'डल्लो परिग्याँ' को भिडियो पनि भद्दा छ। युट्युब च्यानलमा जे पायो, त्यही बोलेर चर्चामा आएकी सोनिका रोकाय 'छाडा' बोलीकै कारण हिट छिन्। उनी अहिले विभिन्न गीतमा मोडलिङ गरिरहेकी छिन्। उनले 'चाहने तिमीलाई' बोलको र्याप गीतमा टू पिस ड्रेसमा अभिनय गरेकी छिन्। 

पछिल्लो समय युट्युबमा भ्यू बढ्ने लोभका कारण दोहोरी र डान्सबारमा काम गर्ने युवतीहरूलाई ल्याएर जबर्जस्ती 'छाडा' बोल्न लगाउने प्रवृत्ति पनि बढ्दो छ। त्यसरी चर्चामा आउनेहरू म्युजिक भिडियोमा देखिने गरेका छन्। लोकगायक तुलसी पराजुली यसलाई युट्युब ट्रेन्डले ल्याएको विकृति मान्छन्। भन्छन्, 'बाहिरतिर नियन्त्रण हुन्छ तर नेपालमा जे गरे पनि भएको छ। यसलाई निरुत्साहित गर्न सरकारी स्तरबाट पनि कदम चाल्नुपर्छ।'

'तीज गीतका नाममा रत्यौली'

लामो समयदेखि तीज गीत गाउँदै आएकी हरिदेवी कोइराला अचेल सञ्चारमाध्यमतिर गुनासो गर्छिन्, 'तीज गीतका नाममा रत्यौली गीत गाएर तीजको मौलिकपन मेटाउने प्रयास भइरहेको छ।'
तीजका नाममा बजारमा आउने गरेका धेरै गीत हेर्ने हो भने उनको भनाइ प्रमाणित हुन्छ। ज्योतिको 'दर खाँदा नि रक्सी खाइन्छ' होस् या खुमन अधिकारी र रमिला न्यौपानेको 'पंखा चलाइदेउ' अथवा ज्योतिकै 'ढाडे बिरालो', यी गीतले तीज गीतका मर्म बोकेका छैनन्।

 तीज गीतका नाममा तीजकै हुर्मत लिने गीतहरू आउन थालेपछि गायक-गायिका र लोक दोहोरी प्रतिष्ठानकै बदनाम हुन थाल्यो। धेरै गुनासो आएपछि गत वर्ष प्रतिष्ठानले काठमाडौँका रेकर्डिङ स्टुडियोका प्रतिनिधिलाई राखेर छलफल गर्‍यो र अबदेखि त्यस्ता गीत रेकर्ड नगराउन सहमति गरायो। अध्यक्ष पंगेनी भन्छन्, 'धेरैलाई सम्झाएपछि यसपालि तीज गीतका नाममा त्यस्ता गीत रेकर्ड भएको देखिएको छैन।'

पंगेनीले भनेझैँ यसपटक ज्योति मगरको एउटा फरक किसिमको भिडियो हालै सार्वजनिक भएको छ। यसमा उनको गीत र अभिनय अघिल्ला वर्षको जस्तो छैन। बरु भूमिका गिरीसँग गाएको 'विकृति' नामको गीतबाट आफूले नारा लगाएर पार्टीका गीत नगाएको उल्लेख गरेकी छिन्। गीतका केही शब्द यस्ता छन् :

भूमिकाः दोहोरी गीत फोहोरी भो भन्छन् तिमी आएर
           ओई गीत बिगार्‍यौ छोटा-छोटा लुगा लाएर।

ज्योतिः ओई तैँले गाउँदा राम्रो हुने मैले गाउँदा नराम्रो
           कठैबरा कति सानो सोचाइ छ हाम्रो।

ज्योतिले गीतबाटै गाली गरेर आफ्नो भिडियो हाल्ने अनि त्यसैबाट पैसा कमाउने युट्युबवालाहरूलाई पनि व्यंग्य गरेकी छिन्ः  

ज्योति यस्ती उस्ती भनी युट्युबमा हालेर
बसेका छन् यसैले पेट पालेर।

गीतमा लामो सवालजवाफपछि ज्योतिले हार खाएर संस्कृति जोगाउने पक्षमा लाग्ने प्रतिबद्धता जनाएकी छिन्ः   

बैनी तैँले भन्छेस् भने मैले पनि त्यही गर्छु
ओई संस्कृतिलाई जोगाउन अब केही गर्छु।

गीतमा संस्कृति जोगाउने कुरा गर्न थालेकी ज्योति भविष्यमा कस्ता गीत ल्याउँछिन्, त्यो चाहिँ हेर्न बाँकी छ।

र्‍याप पनि उस्तै 
र्‍याप पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय छ। यसमा नयाँ पुस्ताका धेरै युवा झुम्मिने गरेका छन्। तर, र्याप गीतका शब्दले भद्दापन र छाडापनका सीमा नाघेका छन्। 

अहिलेका चर्चित र्‍यापर आशिष राना (लाउरे) को गीत 'नेफपको बाटो' सुन्नेहरूलाई थाहा होला, यसमा प्रयोग भएका कतिपय शब्द सार्वजनिक ठाउँमा बोल्न सकिँदैन। 

पछिल्लो समय 'भिटेन' भनेर चिनिइने समिर घिसिङका हिपहप गीतहरू युवामाफ लोकप्रिय छन्। तर, उनका ।र्‍याप गीतका शब्द र भिडियो नेपाली समाजले 'छाडा' भन्ने किसिमका छन्। उनको पछिल्लो समय हिट भएको गीत 'सिमसिमे पानी' त्यस्तै एउटा उदाहरण हो। यो गीत अश्लील भएको भनेर युट्युबले पनि हटाएको थियो तर पछि फेरि युट्युबमा राखिएको छ।

अझ र्‍याप ब्याटल हेर्ने हो भने त्यो नेपाली समाजले 'छाडा'मानेका शब्दहरूको संकलनजस्तो लाग्छ। युट्युबमै नेपाली युवायुवतीका र्‍याप ब्याटलहरू गायक तुलसी पराजुलीले भनेझैँ परिवारसँग बसेर हेर्न अप्ठ्यारो लाग्ने किसिमका छन्। तर, र्‍यापरहरू र्‍यापको शैली संसारमै यस्तै भएको तर्क गर्छन्।

आइटमका रमिता
विवादमा पर्ने गीतमध्ये फिल्मका आइटम गीत पनि पर्छन्। दोहोरो अर्थ लाग्ने शब्द र उत्तेजक नृत्यका कारण आइटम गीतलाई फिल्ममा मसलाका रूपमा प्रयोग गरिन्छ। तर, ती गीतमाथि 'छाडा'को आरोप पनि लाग्ने गरेका छन्।

आइटम गीतको अधिक प्रयोग गर्ने बलिउडमा समेत आइटमले संस्कृति बिगारेको भनेर बेला–बेला विवाद उत्पन्न हुने गरेको छ। बलिउड अभिनेत्री कंगना रनोटले आइटम गीतमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाइरहेकी छिन्। उनले आइटम नम्बरका नाममा महिलालाई नंग्याउने गरिएको भन्दै विरोध गरिरहेकी छिन्।

तर, नेपालमा चलेका अभिनेत्रीहरू आइटम नाच्न तँछाडमछाड गरिरहेका छन्। फिल्म 'वार'मा नीता ढुंगानाले 'सबैको होस उठाउन' गीतमा आइटम डान्स गरेकी छिन्। 'लालटिन' फिल्मको आइटम गीत 'चमेली' मा प्रियंका कार्कीले ठुम्का लगाएकी छिन्। फिल्म 'मायाज बार'मा करिश्मा मानन्धर र निशा अधिकारीले 'वारि शिकारी, पारि शिकारी' गीतमा त्यस्तै आइटम डान्स गरेका थिए। अहिले फिल्म 'मिस्टर भर्जिन' मा छुल्ठिम गुरुङले आइटम डान्स गरेकी छिन्। 

फिल्ममा मात्र होइन, कतिपय गायकगायिकाले चर्चाका लागि सिंगल आइटम गीत गाउने गरेका छन्। चक्र बम र अराज केशवको आइटम गीत 'नाच मेरी झुमा'मा करिश्मा ढकालले नृत्य गरेकी छिन्।

छाडा गीतलाई प्रतिबन्ध
'जिन्दगानी दर्पणछायाँ' फिल्मको आइटम गीत 'यति यति पानी' अश्लील भएको भनेर नेपाल टेलिभिजनले प्रसारणमा रोक लगाएको थियो। 'आऊ न यता चुम, मसँगै झुम' जस्ता शब्द भएको गीतमा सुषमा कार्कीको उत्तेजक नृत्य थियो।

पछिल्लो समय तराईका जिल्लामा भोजपुरी गीतहरू अश्लील भएको भन्दै प्रतिबन्ध लगाउने अभियानै चलेको छ। रौतहटमा अश्लील शब्द भएका र दोहोरो अर्थ लाग्ने गीतहरू सार्वजनिक स्थल र एफएम रेडियोमा बजाउन जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ। सर्लाही, धनुषालगायत जिल्लामा पनि यस्ता गीत बजाउन प्रतिबन्ध लगाइएको छ। 

त्यसो त चिनियाँ सांस्कृतिक मन्त्रालयले केही वर्षअघि चीनमा हिंस्रक तथा अश्लील भावका गीतको व्यापार तथा प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको थियो। 'छाडा भनिने गीतमाथि अन्य देशमा समेत प्रतिबन्ध र नियन्त्रणका काम भएका बेला नेपालमा भने अहिलेसम्म सरकारी तवरबाट यस्तो प्रयास भएको पाइँदैन,' लोकगायक पराजुली भन्छन्।  

संगीत सेन्सर बोर्डको माग
नेपाली गीतसंगीतमा विभिन्न विकृति भित्रिँदा पनि सुधार र नियन्त्रणको प्रयास नभएपछि कलाकारहरूबाट सेन्सर बोर्डको माग हुन थालेको छ। लोकगायक पराजुली नेपाली गीतसंगीत क्षेत्रको सुधार र विकासका लागि तत्काल संगीत सेन्सर बोर्डको आवश्यकता रहेको बताउँछन्। दोहोरी प्रतिष्ठानले त सरकारसँग संगीत विकास बोर्ड गठन गरेर गीतको सेन्सर गरिनुपर्ने माग गर्दै ज्ञापनपत्र नै बुझाएको छ। त्यसो त संस्कृति मन्त्री अधिकारीले पनि बेला-बेला संगीत क्षेत्रमा सेन्सर आवश्यक भएको बताउँदै आएका छन्। पंगेनी भन्छन्, 'हाम्रा लोक संगीत र संस्कृति बचाउने हो भने सेन्सर बोर्ड आवश्यक छ।'

'गतिछाडा होइन, समयको माग हो'
 सरस्वती लामा, गायिका

मैले गाएका गीत र मेरो स्टेज प्रस्तुतिका विषयमा विभिन्न विवाद भएकै हुन्। यो क्रम अहिले पनि जारी छ। कसैले गतिछाडा गीत भने, कतिले विकृति भने। मैले अहिलेसम्म भएजति सबै गाली खाएकी छु। अब मलाई गाली गर्न नयाँ शब्द खोज्नुपर्छ। 

मेरो शैलीको जति विरोध भए पनि मेरै कार्यक्रम हेर्न दर्शकको भीड हुन्छ। म कार्यक्रममा जाँदा आयोजकहरू नाफामा हुन्छन्, त्यसैले मलाई बोलाउँछन्। यो समयको माग पनि हो। यसलाई गतिछाडा भन्न मिल्दैन।

मैले १२ वर्षअघिदेखि नै संगीत सिकेँ तर गायनमा कतै अवसर पाइनँ। दुई वर्षअघि 'उत्तरपूर्व' नामको एल्बम निकालेँ। गुन्यूचोली लगाएर गाएँ, लुंगी, कुर्ता लगाएर नि गाएँ, तर कसैले गीत सुनेनन्। न गाली पाएँ, न ताली। 

दोस्रो एल्बम 'उर्वशी' निकालेँ। अहिलेको जेनरेसनले के खोज्छ भन्ने बुझेँ, ड्रेसअप र प्रस्तुतिमा परिवर्तन ल्याएँ। यो क्षेत्रमा कला, क्षमताले मात्र हुँदैन भनेर यथार्य कुरा बोलेँ। त्यसपछि मलाई देश-विदेशबाट कार्यक्रमको निम्ता आउन थाल्यो। अहिले व्यस्त छु। गाली धेरै आउँछ तर तिनै गाली गर्नेहरूले मलाई धेरै हेर्छन्। 

मलाई स्टेजमा उत्तेजक हाउभाउ देखाएको र संगीतको नाममा अश्लीलता प्रदर्शन गरेको भनेका छन्। तर, यो यथास्थितिवादी सोच हो। मेरो हजुरबुबाको पालामा छोरी मान्छेले पाइन्ट लगाउनु पनि भल्गर मानिन्थ्यो, त्यसपछि हाफपाइन्ट लगाउनुलाई भल्गर मानिन थाल्यो। समय परिवर्तन भइरहन्छ। 

मलाई नेपाली गीतसंगीत बिगारेको आरोप लगाउने पनि छन् तर मैले लोकगीत गाएको छैन। लोक गाएको भए त्यही अनुसारका शब्ददेखि त्यही अनुसारको ड्रेसअप गर्थें तर मेरा गीत रक प्याटर्नका हुन्, यसको ड्रेसअप देखेर किन विरोध गर्नु ? यो मेरो मर्जीको कुरा हो। मैले कसैलाई नराम्रो भनेकी छैन। कसैको काममा हस्तक्षेप गरेकी छैन। मैले कसरी गाउँछु, के लगाउँछु, त्यो मेरो अधिकार हो। 

मलाई थाहा छ, कार्यक्रममा मेरो गीत सुन्न होइन, 'सरस्वतीले के बोल्छे, के देखाउँछे' भनेर हेर्न आउने दर्शक बढी हुन्छन्। जसरी खानेकुरामा कोही मासु खाने हुन्छन्, कोही फलफूल मात्र खाने र कोही भेज खाने हुन्छन्। त्यसरी नै मनोरञ्जन पनि आफ्नो रुचिअनुसार लिन पाउनुपर्छ। 

'समयले नांगै नाच्नू भन्छ त ?'
तुलसी पराजुली, लोकगायक 

अहिले लोकगीतमा विकृति र विसंगति राम्रै गरी भित्रिएको छ। हामी आफूलाई लोकगीतमा लागेको कलाकर्मी भनेर हिँड्न पनि लाजमर्दो स्थिति छ। प्रेम, यौन भन्ने कुरा जहाँसुकै छ। तर, त्यसको पनि एउटा सीमा हुन्छ। पश्चिमा संस्कृतिमा पनि यस्तो उदांगोपन छैन। पहिलाका गीतमा पनि रतिराग हुन्थ्यो तर प्रस्तुति फरक हुन्थ्यो। अहिले त ठाडै भयो। पचाइनसक्ने गरी सीधै भन्न थाले। अझ स्टेजका प्रस्तुति र गीतका शब्द हेर्ने हो भने अवस्था डरमर्दो छ। 

एकातिर यस्ता गीतको विरोध पनि भइरहेको छ, अर्कातिर त्यही हेर्न र सुन्न मान्छेहरू झुम्मिरहेका छन्। छिःछिः दूरदूर गर्नेहरू नै लुकीलुकी हेर्छन्। यस्ता गीत गाउने र प्रस्तुति दिनेले समयको माग हो भनेर सजिलै जवाफ दिन्छन् तर समयले नांगै हिँड्नू, नांगै नाच्नू भन्दैन। दर्शकले हेरिदिन्छन्, समयको माग हो भन्नेबित्तिकै सडकमा नांगै नाच्ने त ? कलाकार भएपछि जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ। 

हिजो कुर्ता-सुरुवाल लाउनै गाह्रो हुन्थ्यो। आज पाइन्ट, क्वार्टरपाइन्ट, हाफपाइन्ट लगाएकै छन् तर समयले माग्यो भन्दैमा नांगो हुनु त भएन नि। गीतसंगीतका नाममा विकृति-विसंगति अत्यधिक भयो। पहिलो कुरा त कलाकार सचेत हुनुपर्छ। समाजले पनि यस्ता गीत अस्वीकार गर्नुपर्छ।
 
मेलामहोत्सवका आयोजकले पनि त्यस्तै प्रकारका कलाकारलाई प्राथमिकता दिने गरेका छन्। उनीहरू दर्शकले यस्तै खोज्छन्, फाइदा हुन्छ भनेर त्यस्तैलाई बोलाउँछन्। रक्सी बेच्दा, चुरोट बेच्दा बढी फाइदा हुन्छ। तर,  संगीत भनेको व्यापार मात्र होइन।

यस्ता विकृति रोक्नका निम्ति चाँडोभन्दा चाँडो संगीत सेन्सर बोर्ड गठन गरिनु आवश्यक छ। गीतको पनि सेन्सर गरिनुपर्छ, किनभने यो ठूलो जनसंख्यामा जाने कुरा हो। कोठामा बसेर, बाथरुममा बसेर कसैले जेसुकै गरोस्, त्यो उसको निजी कुरा हो तर सार्वजनिक गरिन्छ भने त्यस्ता चिजमा सेन्सर गरिनैपर्छ। 

'आमाबाउका अगाडि नांगै नाचून् न'
बद्री पंगेनी, लोकगायक 

पहिलेका वर्ष तीज गीतका कारण कलाकार र लोक दोहोरी प्रतिष्ठानको पनि व्यापक आलोचना भयो। त्यसपछि हामीले विभिन्न स्टुडियोका प्रतिनिधिलाई बोलाएर यस्ता गीत रेकर्ड नगर्न आग्रह गर्‍यौँ। उनीहरूले सहमति जनाए। 

गीतसंगीतमा यस्ता विविध समस्या छन्। त्यसैले पनि हामीले संगीत विकास बोर्ड गठन गर्नुपर्छ र त्यसबाट सेन्सर गरिनुपर्छ भनेर सरकारलाई ज्ञापनपत्र बुझाएका छौँ। एउटा सीमा त निर्धारण गर्नैपर्छ। 

छाडा गीत गाउने र समाजलाई नपच्ने नाच देखाउनेले समयअनुसार परिवर्तनको कुरा गरे पनि कुन हदसम्म परिवर्तन गर्ने भन्ने बुझ्नुपर्छ। हामीले हाम्रो समाज र संस्कृतिको ख्याल गर्नुपर्छ। कसैले समाज परिवर्तन भइसक्यो जे गरे नि हुन्छ भन्छ भने उसलाई आफ्ना आमा, बुबा, दाजुभाइका अगाडि राखेर त्यस्ता गीत गाएको र नाचेको हेर्न चाहन्छु। तिनले आमाबाउका अगाडि नांगै नाचेर देखाऊन् न। दुईचार जनाले मन पराए भन्दैमा कलाकारले पूरै समाजलाई बिर्सनु हुँदैन। 

सम्पूर्ण साप्ताहिकबाट 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.