सशस्त्र प्रहरीकै हवल्दार गाडी चोर ! तीनजना पक्राउ
परासी : गाडी चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एक वरिष्ठ हवल्दारसहित तीनजनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । साताअघि पश्चिम नवलपरासीको सुनवल बजारबाट बा.१५ च. २१०४ नं. स्कारपियो गाडी चोरी प्रकरणमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर पश्चिम नवलपरासी नं. २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरी, रुपन्देही सैनामैना नगरपालिका–३ का दिलिप बोहोरा र बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराल छन् ।
पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडा घर भएका हवल्दार चौधरीले चोरी भएको गाडी घरमा लुकाएर राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
गाडी चोरी भएपछि बुटवल, भैरहवा, नवलपरासीलगायतका ग्यारेजहरुमा प्रहरी आफैं पुरानो गाडी किन्नु छ भन्दै ग्राहक बनेर पुगेको थियो । प्रहरीले इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी जवान गुमानसिंह कुमाललाई ग्राहकको रुपमा पठाएको थियो ।
खोज्ने क्रममा सैनामैनाका दिलिप बोहाराले आफूसँग गाडी भएको बताएका थिए । बोहोराले १५ लाख मागेपनि सात लाखमा गाडी खरिद गर्ने कुरा मिलेको थियो । बिक्री भएको गाडी उपलव्ध गराउन बोहोरा र जानकीले प्रहरी जवान कुमाललाई लिएर चौधरीको घरमा पुगेका थिए ।
प्रहरी जवान कुमाललाई देख्ने बित्तिकै गाडी नजिक रहेका सशस्त्र प्रहरीका हवल्दार चौधरी भाग्न खोजेका थिए । त्यही समय कुमालले चौधरीलाई नियन्त्रणमा लिएका थिए भने अन्यलाई पिछागर्दै गएको प्रहरीको टोलीले पक्राउ गरेको उपरीक्षक भट्टले बताए ।
एक हप्तासम्म गाडी बिक्री नभएपछि चोरीका मूख्य नाइके चौधरीले गाडीको नम्बर निकालेर भारतीय नक्कली बिल बुकसमेत बनाएर राखेका थिए । बिआर २२एन०९८८ नम्बरको नक्कली स्कोरपियोको भारतीय बिल बुक बनाएका उनीहरुले एक दुई दिनमा भारत लगेर बिक्री गर्ने तयारी गरेको समेत अनुसन्धानमा खुलेको छ । चोरीमा संलग्न तीनैलाई चोरी मुद्दामा कारबाही अघि बढाइएको उपरीक्षक भट्टले जानकारी दिए ।