पिसाङलाई उपाधि
बेसीसहर : हिमाल पारिको जिल्ला मनाङमा तीर हान्ने प्रतियोगिताको उपाधि पिसाङ युवा क्लबले जितेको छ । मनाङवासीको संस्कृतिसँग जोडिएको तीर हान्ने पर्वलाई जगेर्ना गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
ङिस्याङ गाउँपालिका-१ मा रहेको पिसाङ युवा क्लबको आयोजनामा प्रतियोगिता गरिएको हो । आफ्नो संस्कार र संस्कृतिसँग जोडिएका पर्वलाई जगेर्ना गर्न प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
दुई दिनसम्म भएको प्रतियोगितामा आयोजक पिसाङ युवा क्लबको समूहले नै उपाधि हात पा¥यो । प्रतिसमूह तीन खेलाडी रहेको प्रतियोगिताका विजेताले एक सय दुई अंक जोडेका थिए । उपाधिसँगै विजेता समूहले नगद २० हजार प्राप्त ग¥यो ।
प्रतियोगितामा माथिल्लो मनाङको समूह दोस्रो र माथिल्लो मनाङकै अर्को समूह तेस्रो भएको छ । उपविजेताले नगद १५ हजार तथा तेस्रो हुने समूहले नगद पाँच हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा आयोजक पिसाङ युवा क्लबका धावा टासी लामा उत्कृष्ट खेलाडी घोषित भए । सोही क्लबका लाक्पा गुरुङ सर्वाधिक स्कोरकर्ता बने । उनीहरूले जनही पाँच हजार पुरस्कार हात पारे ।
प्रतियोगिताका विजेतालाई गाउँपालिका अध्यक्ष कान्छा घले, वडाध्यक्ष भुजु गुरुङ र समाजसेवी याङडुङ गुरुङले पुरस्कार प्रदान गरेका थिए । मनाङमा मनाइने चाड पर्वमध्ये तीर हान्ने पर्व एक मुख्य पर्व हो । विशेषगरी यो पर्व चैतमा मनाउने चलन भए पनि यसलाई बचाउन र यस खेलमा युवाहरूलाई आकर्षित गर्न अन्य समयमा पनि प्रतियोगिता आयोजना गर्ने गरिन्छ ।