रियल म्याड्रिडलाई हराउँदै एट्लेटिकोले जित्यो सुपर कपको उपाधि
तलिन : यूईएफए सुपर कप फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । इस्टोनियाको तलिनमा बुधबार राति भएको खेलमा एट्लेटिको चर्चित द्वन्द्वी एवं साविक विजेता रियल म्याड्रिडलाई ४-२ गोलले हरायो । टोलीका प्रभावशाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गएपछि अहिल रियललाई रोनाल्डोको अभाव खड्किएको छ । एउटै सहरका दुई टोलीबीचको प्रतिस्पर्धात्मक भिडन्तमा निर्धारित ९० मिनेटमा दुवै टोली २-२ गोलको बराबरीमा रोकिएका थिए । त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा एट्लेटिकोले दुई गोल थप्दै उपाधिमा कब्जा जमायो ।
एट्लेटिको मड्रिडलाई उपाधि जिताउन डिएगो कोस्टाले दुई तथा साउल निग्वेज र कोकीले एक एक गोल गरे । रियल म्याड्रिडका लागि करिम बेन्जेमा र सर्जियो रामोसले एक एक गोल गरे पनि टोलीलाई उपाधि दिलाउन सकेनन् । खेल सुरु भएको पहिलो मिनेटमै एट्लेटिकोका कोस्टाले उत्कृष्ट गोल गरेका थिए । एट्लेटिकोको गोलपछि आक्रामक देखिएको रियलले २७औं मिनेटमा बराबरी गोल फर्कायो । बेन्जेमाले गोल गर्दै खेललाई १-१ को अवस्थामा पु¥याए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले ६३औं मिनेटमा पेनाल्टीमार्फत २-१ को अग्रता बनायो । उक्त पेनाल्टीको रामेसले सदुपयोग गरे ।
रियलको अग्रतापछि जोसिएको एट्लेटिकोले ७९औं मिनेटमा बराबरी गोल फर्कायो । कोस्टाले व्यक्तिगत दुई गोल गर्दै खेललाई बराबरीमा ल्याए । निर्धारित समयमा २-२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा एट्लेटिको हावी देखिएको थियो । ९९औं मिनेटमा निग्वेज र १०४औं मिनेटमा कोकीले गोल गर्दै एट्लेटिकोलाई सहज जित दिलाएका थिए ।
एट्लेटिकोले योसहित यूईएफए सुपर कप उपाधि जितेको तेस्रोपटक हो । यसअघि एट्लेटिकोले सन् २०१० र २०१२ मा उपाधि जितेको थियो । रियलले भने चारपटक यस उपाधि जितेको छ । रियल सन् २००२, २०१४, २०१६ र २०१७ मा च्याम्पियन बनेको थियो ।