चार वर्षदेखि आबुधाबी जेलमा
म्याङ्लुङ : काठमाडौंको एक मेनपावर कम्पनीमार्फत दुबई पुगेका जोगी भनेजस्तै काम र दाम पाएपछि सुरुमा दंग थिए। कम्पनीको सबैभन्दा इमानदार कामदारका रुपमा परिचय बनाएका उनले १० महिनामै ऋण चुक्ता गरे। अलिक बढी कमाएर घरखेत किन्ने उनको सपना भने पूरा हुन सकेन।
दुबई पुगेको १४ महिनापछि उनी जेल परे। व्यक्ति हत्या आरोपमा उनी जेल बसेको चार वर्ष भयो। अल गर्फ डेभलेपमेन्ट कम्पनीमा कार्यरत उनी फिलिपिनी नागरिकको हत्या गरेको आरोपमा जेल परेका हुन्। ड्युटी जाने क्रममा उनीसँगै रहेका फिलिपिनी नागरिक गाडीबाट खसेको र कम्पनीका सुपरभाइजरको निर्देशनमा अस्पताल लैजाँदै गर्दा घाइतेको मृत्यु भएको उनलाई उद्धृत गर्दै परिवारले जनाएको छ। गाडीबाट झरेका घाइते व्यक्तिको ज्यान बचाउन खोज्दा–खोज्दै अस्पतालमा मृत्यु भएको र आफू निर्दोष रहेको बयान त्यहाँको अदालतमा पटक–पटक दिए पनि सुनुवाइ नभएको जनाइएको छ।
आबुधाबीस्थित सेन्टर जेलमा थुनिएका उनलाई दुबई अदालतले ‘ब्लडमनी’का रूपमा ५७ लाख रुपैयाँ माग गरेको उनकी पत्नी डम्बाकुमारीले बताइन्। केही महिनाभित्र रकम जम्मा नगरे उनले आफूलाई फासीसम्मको सजाय हुन सक्ने पत्नीलाई टेलिफोनमा बताएका छन्। धन कमाउन गएका पतिले आफू मारिने खबर सुनाएपछि डम्बाकुमारीको दिन–रात रोएर बित्न थालेको छ।
दुई छोराछोरी, पत्नी र आमा गरी ६ जना रहेको परिवारलाई ब्लडमनी जम्मा नगरे आफ्नो घरको मुख्य सदस्य गुमाउनुपर्ने चिन्ताले सताएको छ। गाउँघरमा बनिबुतो गरेर गुजारा चलाउँदै आएको जोगी परिवारलाई यत्रो रकम कसरी जुटाउने भन्ने चिन्ता छ। ‘दसा पनि हामी गरिबलाई नै लाग्दो रहेछ, भगवान्को इच्छा मार्ने नै भए बरु मलाई मारे हुन्थ्यो’, खड्गबहादुरकी ८० वर्षीया आमा भक्कानिन्।
५० वर्षीय जोगीलाई फासीबाट जोगाउन आर्थिक सहयोगका लागि सबैसँग याचना गरिएको आफन्त कुमार गिरीले बताए। खड्गबहादुर बचाउ अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ। ‘अहिले आफन्तसँग मात्र पैसा उठाउने काम भइरहेको छ’, उनले भने, ‘अब टोली नै बनाएर स्वदेश तथा विदेशसम्म सहयोग संकलन गर्ने तयारीमा छौं।’
पीडित परिवारले खड्गबहादुरलाई बचाउनका लागि आर्थिक सहयोग गरिदिन स्थानीय तहलाई पनि गुहारेको छ। ‘अब जिल्ला प्रशासन कार्यालयमा अनुरोध लिएर जाने विचारमा छौं’, खड्गबहादुरकी पत्नीले भनिन्।०००