‘डेन्जर जोन’मा साम्राज्ञी
डेब्यु फिल्म ‘ड्रिम्स’को पहिलो सुटिङमै साम्राज्ञीराज्यलक्ष्मी शाहले ‘क्लाइमेक्स’ सिन गर्नु परेको थियो । यही कुराले उनी अलमलमा परेकी थिइन् । किनकि, फिल्म मेकिङको प्रक्रियाबारे उनी त्यति जानकार थिइनन् त्यो बेला । तर, उनको फिल्मी ‘करिअर ग्राफ’ भने कुनै अलमलमा परेन ।
दुईवटा म्युजिक भिडियोमा मोडलिङलगत्तै नेपाली फिल्म इन्डस्ट्रीमा इन्ट्री मारेकी साम्राज्ञी पहिलो फिल्मबाटै चर्चाको क्लाइमेक्समा पुगिन् । फिल्मी नगरीले उनलाई पर्याप्त चर्चा र सम्मान दियो । डेब्यु फिल्मबाटै एकै वर्षमा ‘बेस्ट न्यु एक्ट्रेस’ विधामा उनले पाँच पुरस्कार हात पारिन् ।
एकदुईवटा फिल्म गर्दैमा कोही पनि चर्चामा नआइरहेको नेपाली फिल्म इन्डस्ट्रीमा साम्राज्ञीको प्रवेश पृथक् बन्यो । यो कसरी भयो ? यसबारे साम्राज्ञी स्वयंको मूल्यांकनचाहिँ के हो त ? ‘डेब्यु फिल्मका लागि छनोट हुन पर्दामा ‘टेस्ट’ गर्नुपर्छ भनिएको थियो, मैलै भाग लिएँ’, थोरै विगततिर फर्केर उनले सुनाइन्, ‘प्रतिस्पर्धी २३ मध्येबाट छानिएँ । फिल्ममा चाहिँ मैले आफूले गर्नुपर्ने मेहनत गरेकी हुँ । दर्शकले पहिलो फिल्ममै रुचाइदिनुभयो, उहाँहरूलाई मेरो आवाज नयाँ लागेर पनि होला । मेरो आवाजकै कारणले गर्दा हो कि ? ’
फिल्म इन्डस्ट्री साम्राज्ञीलाई अहिले चल्तीकी अभिनेत्री ठान्छ । त्यहीअनुसार उनले आफ्नो भाउ पनि बढाएकी छन् । दोस्रो फिल्म ‘ए मेरो हजुर–२’मा उनले पाँच लाख रुपैयाँ पारि श्रमिक लिएकी थिइन् । कतिपयले यसलाई महँगो भएको टिप्पणी पनि गरेका थिए । पछिल्लो फिल्म ‘कायरा’मा उनले पारि श्रमिकलाई बढाएर १० लाख पु¥याएको चर्चा चलेको थियो । तर, साम्राज्ञी भने ‘दुःख गरेअनुसार’ पारि श्रमिक लिएको भन्दै यसलाई सामान्य मान्छिन् । ‘यसलाई म महँगो भन्दिनँ’, उनको भनाइ छ, ‘दुःख गरेअनुसार नै मैले पारि श्रमिक बढाउँदै गइरहेकी छु । एउटा फिल्मका लागि हामीले आफ्नो पढाइ, व्यक्तिगत जिन्दगी छोडेर काम गरिराख्नुपर्छ । त्यसैले यत्तिको पारि श्रमिक हामी ‘डिजर्भ’गर्छौं ।’
ओरालो यात्रा
‘क्लाइमेक्स’पछि ओरालो झर्नु फिल्मी फर्मुला हो । साम्राज्ञीका पछिल्ला फिल्म लगातार असफल भएपछि उनको अभिनय यात्रामा कतै यही फर्मुला त लागू भएको होइन भन्ने टिप्पणी पनि सतहमा आएका छन् । ‘ड्रिम्स’मा पाएको सफलता त्यसको एक वर्षपछि आएको फिल्म ‘ए मेरो हजुर–२’मा पनि दोहो¥याउन उनी सफल भएकी थिइन् ।
अघिल्लो वर्षको अन्तिममा आएको चौथो फिल्म ‘तिमीसँग’ले भने अघिल्ला फिल्मबाट पाएको उनको सफलता जोगाउन सकेन । आफूले ‘बेस्ट’ दिएको भन्दै फिल्म राम्रो हुने उनको दाबी थियो तर दशर्कले रुचाएनन् । छविराज ओझा र शिल्पा पोखरेलले निर्माण गरेको फिल्म ‘मंगलम्’ उनको तेस्रो फिल्म थियो । ‘मंगलम्’मा उनी विशेष भूमिकामा देखिएकी भए पनि त्यो फिल्म ‘विशेष’ बन्न सकेन । पाँचौं फिल्म ‘कायरा’प्रति उनको बढी नै भरोसा थियो । चक्लेटी हिरो आर्यन सिग्देलसँगको फिल्म भएकाले पनि ‘कायरा’ हिट हुने उनको अपेक्षा थियो । तर, फिल्म बजारमा गएपछि उनले सोचेजस्तो भएन ।
लगालग फिल्म ‘फ्लप’ हुन थालेपछि फिल्म क्षेत्रका पण्डितहरूको टिप्पणी छ, ‘साम्राज्ञीको फिल्मी करिअर ‘डेन्जर जोन’मा प¥यो ।’ हरेक फिल्म एउटै, उस्तै भएको, कथा र पात्रमा विविधता नभएको र दर्शकले एउटै लवज झेल्नु परेकाले उनको फिल्म सफल हुन नसकेको फिल्म समीक्षक बताउँछन् । साम्राज्ञी भने आफू फरक फिल्ममा काम गर्न तयार भएको तर त्यस्तो स्क्रिप्ट नै नआएको गुनासो गर्छिन् । भन्छिन्, ‘मैले फरक रोल निर्वाह गर्न चाहे पनि त्यस्तो स्क्रिप्ट नै आउँदैन । म राम्रो स्क्रिप्ट कुरिरहेकी छु । त्यस्तो आयो भने निःसन्देह काम गर्छु ।’
एक वर्षमा कतिवटासम्म फिल्म खेल्ने ? यस सम्बन्धमा पनि उनको एकरूपता र सजगता देखिँदैन । पहिलो फिल्म ‘ड्रिम्स’पछि दोस्रो फिल्म ‘ए मेरो हजुर–२’ उनले एक वर्षको ग्यापपछि मात्रै खेलेकी थिइन् । त्यसपछि भने उनको त्यो ग्याप भत्कियो । उनले एकै वर्ष चारवटा फिल्म खेलिन् । ‘मंगलम्’, ‘तिमीसँग’, ‘कायरा’ र ‘इन्टु मिन्टु लन्डनमा’ एकै वर्ष खेलेका फिल्म हुन् । तीमध्ये तीनवटा फिल्मले खासै सफलता प्राप्त गर्न सकेनन् । ‘इन्टु मिन्टु लन्डनमा’ प्रदर्शन हुन बाँकी छ । यस फिल्ममा भने उनको केही आशा छ । ‘फिल्ममा मैले बेस्ट काम गरेकी छु’, उनले भनिन्, ‘आशा छ, यो मेरो लागि रोमान्टिक र मेमोरेबल फिल्म बन्नेछ ।’
अहम् धेरै
फिल्मकर्मीहरू भन्छन्, ‘साम्राज्ञीमा अहम् धेरै छ ।’ तर, साम्राज्ञी भन्छिन्, ‘मेरो फेस हेर्दा सबैलाई त्यस्तो लाग्दो रहेछ तर एकदुईपटक मसँग संगत गरेपछि उनीहरूलाई लाग्नेछ— हामी गलत रहेछौं ।’
अरू बेला चुपचाप बस्ने तर फिल्म रिलिज हुने बेला मात्रै मिडियामा छाउने भनेर उनको आलोचना हुने गर्छ । आफूमाथिको यो आलोचना उनी पनि स्वीकार्छिन् । ‘हो, त्यो म गर्छु’, उनी भन्छिन्, ‘फिल्म साइन गरेपछि त्यसलाई समय दिनुपर्छ । प्रमोसनका लागि उहाँहरूले बोलाएको ठाउँ र समयमा म पुग्नुपर्छ । जुनै बेला मिडियामा आउनु राम्रो लाग्दैन । मेरो पनि त आफ्नो निजी जिन्दगी हुन्छ, मैले फिल्मबाहेकको समयलाई पढाइका लागि छुट्ट्याउनुपर्छ ।’
बेलाबेला साम्राज्ञीको प्रेमसम्बन्धबारे चर्चा भइरहन्छ । पछिल्लो समय उनको नाम व्यवसायी मयंक खड्कासँग जोडिएको थियो । खड्कासँग पनि उनको ‘ब्रेकप’ भएको हल्ला अहिले चलिरहेको छ । तर, उनी यसबारे खासै टिप्पणी गर्न चाहँदिनन् । ‘यसबारे म केही भन्न चाहन्नँ, जरुरी पनि छैन’, उनको प्रतिक्रिया छ, ‘अहिले म पढाइ र करिअरमा मात्रै केन्द्रित हुन चाहन्छु । निजी जिन्दगीलाई व्यावसायिक जिन्दगीमा मिसाउनु हुँदैन । यहाँ यस्ता चर्चा भइरहन्छन्, यसले मलाई केही फरक पर्दैन ।’
तमाम कमजोरीमाझ पनि साम्राज्ञी नेपाली फिल्म क्षेत्रकी आशा हुन् । उनको ‘फेस भ्यालु’लाई फिल्म निर्माताहरू अझै निकै महŒव दिन्छन् । साम्राज्ञीलाई अन्तिममा सोधियो, ‘आउँदो पाँच वर्षमा तपार्इं आफ्नो कस्तो ‘स्ट्याटस’को अपेक्षा गर्नुहुन्छ ? भन्छिन्, ‘म अझै राम्रो चरित्र निर्वाह गर्न चाहन्छु । दर्शकमाझ साम्राज्ञीले राम्रो काम गरिरहेकी छे भन्ने विश्वास दिलाउन चाहन्छु ।’