अभिनय नै जिन्दगी
मण्डला थिएटरमा अहिले इटालियन नाटककार डारियो फोले लेखेको ‘कान्ट पे ? वन्ट पे’ नाटक प्रदर्शन भइरहेको छ। फोलाई सन् १९९७ मा साहित्य तर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो। रंगकर्मी सरिता गिरीले यस नाटकमा सरिताकै भूमिका निर्वाह गरेकी छन्। विकास जोशीले यो नाटकलाई नेपालीमा अनुवाद गरी निर्देशन गरेका छन्।
‘कान्ट पे ? वन्ट पे’ नाटकमा अभिनय पस्किरहेकी सरिता गिरीले नेपाली रंगमञ्चमा करिब १८ वर्षको यात्रा पूरा गरिसकिन्। काठमाडौं मिलनचोकमा जन्मेकी गिरीले पहिलोपटक २०५७ सालमा थिएटरमा पाइला टेकेकी हुन्।
उनी एसएलसी परीक्षा सकेर घरमै बसेकी थिइन्। फुर्सदको समयमा के गरौं भनेर अलमलमै थिइन्। त्यही बेला नेपाली रंगमञ्चमा काम गरिरहेका उनकै अंकल वीरेन्द्र हमालले उनलाई अभिनय सिक्न बोलाए। उनले एम आर्ट थिएटरमा अभिनय सिकिन्।
तालिमपछि विभिन्न नाटकमा पात्रहरूको भूमिका निर्वाह गर्ने मौकासमेत पाइन्। पोखरामा चलिरहेको नाटक महोत्सवमा उनीहरूको टोली ‘पत्थरको कथा’ नामक नाटक लिएर पुग्यो। त्यसपछि काठमाडौं फर्केर नेपाल प्रज्ञा–प्रतिष्ठानमा बालकृष्ण समको नाटक ‘स्वास्नीमान्छे’मा अभिनय गरिन्। यो नाटकको अभिनयबाट उनले बेस्ट एक्टर्सको अवार्डसमेत पाइन्। यसले उनलाई रंगमञ्चमै केही गर्नुपर्छ भन्ने हौसला थप्यो।
सरिता एम आर्ट थिएटरमा अभिनय गरिरहेकी थिइन्। यसैबीच रंगकर्मी सुनील पोखरेलको नेतृत्वमा गुरुकुल नाटकघर खुल्यो। उनले पोखरेलसँग अभिनयका आयामहरू सिक्दै आफूलाई परिस्कृत गर्दै लगिन्। नाटकघरको होस्टलमा बसेर निकै कडा अनुशासनमा उनले अभिनय सिकिन्। गुरुकुलमा अभिनयका अलावा डान्स, मार्सल आर्ट तथा कलाका अनेक आयाम बुझ्ने मौका पाइन्, उनले। गुरुकुलमा उनीलगायत सौगात मल्ल, सुरेश चन्द, अरुण कार्की, सुवास थापा, लुनिभा तुलाधरलगायत १८ जनाले दुई वर्षको अभिनय कोर्स पूरा गरे। सरिताका सबै सहपाठी अहिले कला क्षेत्रमै छन्। उनीहरू सबैजना गुरुकुलको पहिलो ब्याचका हुन्।
समको नाटक ‘स्वास्नीमान्छे’मा बेस्ट एक्टर्सको अवार्ड हात पारेपछि सरितालाई रंगमञ्चमै केही गर्नुपर्छ भन्ने हौसला थपियो।
यो बीचमा उनले नेपाली, अंग्रेजीलगायत करिब दुई सय नाटकमा आफ्नो अभिनयकौशल देखाइसकेकी छन्। उनले अभिनय गरेको नाटकमा ‘आरुको फुलको सपना’, ‘ताराबाजी लैलै’, ‘न्यायप्रेमी’, ‘घनचक्कर’लगायत चर्चित छन्।
नाटक देखाउनकै लागि सरिता नर्वे, स्विडेन, डेनमार्क, मस्को, अस्टे«लिया, जापान लगायतका १२ देश पुगेकी छन्। भारतका प्रायः चर्चित सहरमा नाटकका विभिन्न गोष्ठी तथा प्रतियोगितामा आफ्नो उपस्थिति देखाइसकेकी छन्, उनले।
नाटक एउटा कला हो, जीवनको एउटा पाटो हो भन्ने गिरी नाटकले कुनै पनि लेखकले लेखेको कृतिलाई सास भरिदिने बताउँछिन्। हाल जेभियर कलेजका विद्यार्थीलाई अभिनय सिकाउँदै आएकी उनी गुरुकुल थिएटर बन्द भएपछि मण्डला थिएटरसँग जोडिएर अभिनयकर्ममा खटिइरहेकी छन्।
नाटक खेल्दै गर्दा कलाकारले के सोच्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘जब कुनै नाटकको तयारी गरिन्छ, त्यसपछि म आफू को हुँ भन्ने बिर्सन्छु। मन पात्रको चरित्र माइन्डमा आइरहन्छ। घरायसी काम गर्दा पनि पात्रको संवाद बोलिरहन्छु। मैले आफूले निर्वाह गरेको पात्रलाई पूरा न्याय गर्ने कोसिस गरिरहेको हुन्छु।’
कलाकारको दुइटा जीवन हुन्छ भन्ने गिरी नाटकको पात्रसँगको एउटा जीवन र कलाकारको वास्तविक जीवन गरी रंगकर्मीले दुइटा भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिन्छिन्। उनी मार्सल आर्टकी विद्यार्थीसमेत हुन्। यसमा उनले ब्ल्याक बेल्टसमेत प्राप्त गरेकी छन्। भन्छिन्, ‘मार्सल आर्टको सीपले जस्तोसुकै अवस्थामा पनि आफ्नो रक्षा गर्न सक्छु भन्ने विश्वास लाग्ने रहेछ।’
विभिन्न ठाउँमा जाँदा दर्शकले देखाउने माया, ताली, सद्भाव, हौसला र शुभेच्छाले गर्दा नै यही क्षेत्रमा टिक्न उत्प्रेरणा मिलेको जनाउने उनी भन्छिन्, ‘केही नजानी नबुझी यो क्षेत्रमा पाइला टेकेकी थिएँ। अहिले रामै्र गरेछु भन्ने लाग्छ।’ उनको बुझाइमा नाटक त सबैभन्दा बढी पढिने र हेरिने विधा रहेछ। टेक रिटेकको अवसर नपाई कलाकारले प्रत्यक्ष गरिने सुन्दर अभिनय नै नाटक रहेछ। जीवनजस्तै नाटक। नाटकजस्तै जीवन।
‘कुमारी’, ‘स्वास्नीमान्छे’, ‘बोक्सीको घर’, ‘मिस मार्वरिडा’ गरी उनले चारवटा एकल नाटक प्रदर्शन गरेकी छन्। सोलो नाटक कत्तिको प्रभावकारी छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘अन्य नाटकभन्दा सोलो पर्फमेन्स गर्न गाह्रो छ। एकडेढ घन्टासम्म दर्शकलाई होल्ड गरेर राख्नुप¥यो।’
पैसा कमाउनभन्दा पनि सामाजिक जिम्मेवारी पूरा गर्न नाटक गरेको बताउने गिरीको अनुभवमा कलाकारले साइड जब पनि गरेमा टिक्न सहज हुन्छ। पछिल्लो समयमा यो क्षेत्रमा पनि अवसर बढ्दै गएकोमा उनी आशावादी छिन्। भन्छिन्, ‘लगातार मेहनत गरिरहे अवश्य सफल भइन्छ।’
दर्शक, शुभेच्छुकहरूले राम्रो गरिस् भनेर प्रतिक्रिया दिएको बेला आफ्नो कामबाट अत्यन्तै खुसी लाग्ने उनी बताउँछिन्। परिवारबाट पनि निरन्तर साथ र हौसला पाइरहेकी उनी बाँकी जीवन अभिनयमै बिताउने योजना पनि सुनाउँछिन्। भन्छिन्, ‘अभिनयको रहर मेरो नशानशामा बगेको छ। अभिनय नै मेरो जिन्दगी।’