‘च्यालेन्ज’ दिँदै तन्नेरी
‘रेक्स भिडियो’ले २६ जुलाई २०१८ मा एउटा भिडियो युट्युबमा अपलोड गर्यो। भिडियोमा एउटा युवती गुडिरहेको कारभित्र नाचिरहेकी हुन्छे। गुडिरहेकै कारबाट ऊ अचानक भुइँमा हामफाल्छे। ऊ लड्दिन, बरु कारको गतिसँगै नाच्दै हिँड्छे। कार विस्तारै दौडिरहेको हुन्छ। युवती नाचिरहेकी हुन्छे। कारभित्रबाट कसैले युवतीको भिडियो खिचिरहेको अनुमान लगाउन सकिन्छ। ब्याक ग्राउन्डमा ड्रेकको गीत ‘इन माई फिलिङ’ बजिरहेको हुन्छ। यो नृत्य भिडियोको भ्युअर लगभग डेढ करोड नाघिसकेको छ, पाँच सय ४५ वटा ‘कमेन्ट’ आएको छ।
युट्युबमा ‘किकी च्यालेन्च डान्स’ खोज्ने हो भने यस्ता भिडियोहरू हजारौंको संख्यामा आउँछन्। किकी च्यालेन्ज डान्स अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ड्रेकले एक महिनाअघि ‘इन माई फिलिङ’ गीत बजारमा ल्याएका थिए। त्यसपछि सामाजिक सञ्जालमा यो गीत भाइरल भइदियो। किकी च्यालेन्ज डान्स भन्दै यो गीतमा नाच्नेहरू दिनानुदिन बढ्न थाले।
यस खालको गीतको सुरुआत कसले गर्यो ? थाहा पाउन मुस्किल छ। अमेरिकी कमेडियन सिग्गीले पहिलोपटक ‘इन माई फिलिङ’मा किकी डान्स च्यालेन्ज गरेको बताइन्छ। उनले सडकको बीचमा रिबकको ट्र्याकसुट लगाएर एक्लै डान्स गरे। त्यो डान्सको भिडियो अरू कसैले खिचिदियो। सामाजिक सञ्जालमा सिग्गीको त्यो डान्स चर्चित बन्न पुग्यो। ड्रेकले त सिग्गीसँग बसेको फोटो ट्विट गर्दै उनलाई धन्यवाद नै दिए। त्यसपछि च्यालेन्ज दिनेहरू एकपछि अर्काे गर्दै थपिन थाले।
किकी च्यालेन्ज डान्स युवा पुस्तामाझ निकै लोकप्रिय छ। युट्युबमा यस्तो भिडियोका ‘भ्युअर’हरू दिनानुदिन बढिरहेका छन्। जोखिम मोलेर तन्नेरी पुस्ता नाचिरहेछन्। मनोरञ्जन दिइरहेका छन्।
गुडिरहेको कारबाट हामफालेर डान्स गर्नु मनोरञ्जन मात्र नभएर जोखिमपूर्ण पनि हुने भन्दै धेरैले आलोचनासमेत गर्ने गरेका छन्।
किकी डान्स गरेर युट्युबमा अपलोड गर्नेहरू विभिन्न देशका छन्। नेपालबाट समेत केही युवकयुवतीले च्यालेन्ज गरिसकेका छन्। २१ जुलाई २०१८ का दिन एक नेपाली युवतीको किकी च्यालेन्ज डान्स युट्युबमा अपलोड भएको छ। युवती कारबाट झर्छे र सडकमा डान्स गर्न थाल्छे। सडकमा अन्य मान्छेहरू पनि छन्, जो कारबाट झरेकी युवतीसँगै डान्स गर्छन्। भिडियोमा किकी च्यालेन्जमा भाग लिनुअघि गरिएको तयारी पनि देखाइएको छ, त्यहाँ। यो त एउटा उदाहरण मात्र हो, यस्ता उदाहरण थुप्रै छन्।
युट्युबमा किकी च्यालेन्ज डान्स विभिन्न थरीका छन्। कोही सुस्त गतिमा नाच्छन्। कोही छिटोछिटो नाच्दै अघि बढ्छन्। यहाँ अनेक हाउभाउमा सजिएका डान्सरहरूको क्षमता हेर्न पाइन्छ।
गुडिरहेको कारबाट हामफालेर डान्स गर्नु मनोरञ्जन मात्र नभएर जोखिमपूर्ण पनि हुने भन्दै धेरैले आलोचनासमेत गर्ने गरेका छन्। विभिन्न देशका पुलिसले किकी डान्सले दुर्घटना निम्त्याउने भन्दै सजग रहन आग्रहसमेत गरेका छन्। भारत, अमेरिका, स्पेन, मलेसिया, यूएई जस्ता देशले आफ्ना नागरिकलाई किकीमा भाग नलिन भनिरहेका छन्। ‘टाइम्स अफ इन्डिया’ले १० अगस्ट २०१८ का दिन उल्लेख गरेको छ, ‘भारतका विभिन्न ठाउँमा किकी डान्सले दुर्घटना निम्त्याएका समाचारहरू आइरहेका छन्। त्यसैले सम्बन्धित निकायहरूको आग्रह छ, च्यालेन्जमा भाग नलिनुस्।’ भारतमा त कारबाट हैन, रेलबाट झरेर डान्स गर्नेहरू भेटिए। केही युवा कारबाहीमा समेत परेको बीबीसीले बताएको छ।
गुडिरहेको कारबाट हामफालेर डान्स गर्नुपर्ने भएकाले यो खतरनाक छ। मध्य सडकमा डान्स गर्दै हिँड्नु उसै पनि चुनौतीपूर्ण हुन्छ। कारबाट ओर्लंदा ओर्लंदै लड्नेहरू युट्युबमा धेरै नै देखिन्छन्। केही समयअघि रसियन महिला तान्या जर्मनले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरिन्। भिडियोमा एक महिला कारमा बसिरहेकी छन्। कार विस्तारै दौडिरहेको छ। कारको ढोका खुला छ। वरिपरि जंगल देखिन्छ। एक महिला कारबाट ओर्लिन्छे र कारसँग नाच्दै अघि बढ्छे। अचानक कार रोकिन्छ र ऊ ढोकामा ठोकिन्छे। युवती लड्छे। युट्युबमा यो भिडियो लाखौंले हेरिसकेका छन्। भिडियोको क्याप्सनमा तान्याले भनेकी छन्, ‘अरूलाई देखाउने हुँदा, यहाँ हेर्नुस् के भयो।’ यो त एउटा दुर्घटना भयो। यस्ता दुर्घटना अनेक र जोखिमपूर्ण हुन सक्छन्। तर पनि, च्यालेन्ज गर्न तम्सिएकै छन्, तन्नेरीहरू।