फुटबलले देखाएको रारा सपना
जीवनमै पहिलो पटक फुटबल खेल्न मैदानमा उत्रिएको थिएँ, यही साउन १२ गते। त्यसैले, सो दिन मेरा लागि विशेष बन्यो। त्यसो त विद्यालय अध्ययनका क्रममा अतिरिक्त क्रियाकलापका सम्पूर्ण सुविधा त्यतिबेलै पाएका थियौं। गुरुहरूले छात्र छात्रामा कहिले विभेद गर्नु भएन। त्यसमा पनि प्रिन्सिपल रवि आचार्यले त बास्केटबल, भलिबल, टेबुलटेनिसलगायतका खेल मात्रै नभई फुटबल प्रशिक्षणका लागि पनि विद्यालय नजिकैको चौरमा बेलाबेलामा हामीलाई लैजानुहुन्थ्यो।
अभ्यास हामीले धेरै दिन गर्यौं। बास्केटबल, भलिबल र टेबुलटेनिसमा म अब्बल खेलाडीमै गनिन्थे। त्यसैको परिणाम, काठमाडौं विश्वविद्यालयमा आईएस्सी अध्ययनताका भएको खेल सप्ताहमा यी तिनै खेलमा पहिलो, दोस्रा भएर पदक र प्रमाणपत्र मात्रै जितिन्, विश्वविद्यालयमा आफूलाई नचिन्ने धेरै साथी र अग्रजमाझ पनि लोकप्रिय भइयो।
किन हो, फुटबल खेल्नमा भने मेरो रुचि बसेन। फुटबल हेर्ने रहर भने दिनप्रतिदिन बढ्दै गयो। घरमा बुवाले २०४७ सालमा पहिलो पटक टेलिभिजन ल्याउनुभएको पनि विश्वकप हेर्नलाई नै थियो। सन् १९९० को इटालीमा भएको त्यो विश्वकप परिवारका ठूलाको लहलहैमा हामी सानाले पनि हेरेका मलाई अझै याद छ। त्यसपछिका प्रत्येक चार वर्षमा आउने विश्वकप फुटवल टेलिभिजनमा हेर्दा परिवारका सबै सँगै बस्दा पनि मेला लागेजस्तै लाग्थ्यो।
साउन १२ ले ती दिनलाई पुनः एक पटक मानसपटलमा ताजा बनायो। पत्रकार महिलाको सहयोगका लागि कोष स्थापना गर्न नेपाल पत्रकार महासंघको महिला समितिले आयोजना गरेको फुटबल प्रतियोगितामा जम्मा चारवटा समूह सहभागी थिए। जसमध्ये पत्रिका र रेडियो अनि अनलाइन र टेलिभिजनकर्मीको एकापसमा प्रतिस्पर्धा गराइएको थियो। करिब एक साता अगाडिदेखि हामीलाई अभ्यास पनि गराइएको थियो। बिहान साढे ६ देखि नै अभ्यास सुरु हुने भएकाले कतिपयले घरायसी र व्यावहारिक समस्याले भ्याएनन्।
पहिलो दिनको अभ्यासमा कोचले हामीलाई धेरै व्यायाम गराए, मैदानमा दौडाए पनि। यसका साथै बल हान्ने विभिन्न तरिका पनि त्यसै दिन सिकियो। पहिलो दिनकै खेलले ज्यान गलेर भतक्कै भइसकेको थियो। भोलिपल्ट बिहानै उठ्दा आज पानी परे पनि हुने, अभ्यासमा जान नपरेनि हुने जस्तो लाग्थ्यो। तर मैदानमा गएपछि सबै साथीलाई देख्दा सिकेर राम्रो खेल्नुपर्छ भन्ने जोस जागिहाल्थ्यो।
अन्तिम प्रतिस्पर्धाका दिन बिहानैदेखि मन निकै उत्साहित थियो। एकातर्फ करिब दुई महिनादेखि विदेशमा रहनुभएका बाबुआमा घर आउने अर्कोतर्फ एउटा राम्रो उद्देश्यका लागि आफू मैदानमा उत्रिने। खेलाडीको जर्सी लगाएर सातदोबाटोस्थित एन्फाको मैदानमा पुगेपछि आज हामीले जित्नैपर्छ भन्ने भावना जाग्यो। प्रिन्ट मिडियाको तर्फबाट कप्तान चमिना भट्टराईको नेतृत्वमा साथीहरू खेल्न तम्तयार थिए। हाम्रो समूहको उपकप्तान मलाई तोकिएकाले आफूले राम्रो खेल्नुका साथै साथीहरूलाई उत्प्रेरित गर्नुपर्ने जिम्मेवारी ममा थियो।
एन्फाको नेसनल रेफ्री माया लामालाई हाम्रो समूहले कोचको रूपमा पाएकाले पनि त्यस दिन हामीले राम्रो खेल खेल्न सक्यौं। हामीले खेल्नुपूर्व, खेलको मध्यान्तरमा मात्रै नभई हामी मैदानमै रहँदा पनि मैदानबाहिरबाट चिच्याउँदै उहाँले खेल सिकाइरहनुभएको थियो।
प्रिन्ट र रेडियोको पहिलो खेलमा कुनै पनि पक्षबाट गोल नभएपछि पेनाल्टी गोलले विजेताको निर्णय गरेको थियो। पेनाल्टी हान्नेमध्ये साथीहरूले मलाई नै सबैभन्दा अगाडि लगाए। सुरुमै पालो परेकाले नर्भस भएर हो या पेनाल्टी हान्ने तरिकाको राम्रो ज्ञान नभएर मेरो पेनाल्टीलाई रेडियोकी गोलकिपर रीता तिमल्सिना दिदीले सजिलै रोकिदिनुभयो। आफ्नो पेनाल्टी ‘मिस’ हुँदाको अपसोचले मलाई खेल अवधिभर नै पिरोल्यो। तर अन्ततः खेल जितेपछिको खुसीले ती सबै अपसोचलाई फिका बनाइदियो। पुरस्कार समारोह सकिएपछि ट्रफी उचालेर तस्बिर खिचाउँदा साथीहरूको खुसीको चिच्चाहटले मैदानमा उत्रिएका हामी जो कोहीलाई आफू व्यावसायिक खेलाडीझैं अनुभूत भइरहेको थियो।
सधैं अरूका समाचार लेख्ने हामी पत्रकारको त्यसदिन विभिन्न अनलाइन, पत्रपत्रिका, टेलिभिजन र रेडियोले समाचार प्रसारण गरेका थिए। जसमध्ये धेरैले प्रशंसा गरे भने कतिपयले भने पत्रकार महिलालाई खेलको साधारण नियमसमेत नआउने र मैदानमा रेफ्रीले भनेको पनि नमान्ने भन्दै आलोचनासमेत गरे।
खेलको प्रारम्भिक अभ्यासदेखि अन्तिम प्रतिस्पर्धाको दिनसम्म हाम्रा समूहकी खेलाडी एवं नेपाल पत्रकार महासंघकी सचिव लक्ष्मी पुनले हामीलाई ‘जित्यौ भने रारा लैजान्छु’ भन्दै नेपालको स्वर्ग राराको सपना देखाउनुभएको थियो। त्यही सपना सँगालेर साथीहरू मैदानमा उत्रिएकाले जितेर ट्रफी उचाल्दासमेत सबैजना ‘रारा रारा’ भन्दै चिच्याइरहेका थिए। फुटबल सपना पूरा भए पनि सुन्दर ताल रारा हेर्ने सपना कहिले पूरा हुने हो, समयले नै बताउँला।