युवाका क्यानभास भित्ता
लक्ष्मण श्रेष्ठ (३३) चाहन्छन्, ‘आफूले कोरेका चित्रहरू बोलून्।’ क्यानभासमा सीमित चित्रकला सडकसम्म ल्याएपछि साँच्चै उनका चित्रहरू अचेल बोलिरहेका छन्। कहीँ सचेतनामूलक सन्देश बनेर, कहीँ सामाजिक बेथिति देखाएर र कहीँ सरकारलाई प्रश्न गरेर ती चित्रहरू बोलिरहेका छन्। लक्ष्मणले सडकपेटीका भित्ताहरूलाई नै क्यानभास बनाएका छन्। भित्तामा नै अनेक रङ पोखेका छन् र केही भन्न खोजेका छन्। त्यसैले उनको यो भित्तेशैली अरूभन्दा भिन्न छ।
अग्लो कद, चिम्सा आँखा र चुल्ठे कपाल भएका लक्ष्मण अनौपचारिक शैलीका छन्। हरकोहीलाई साथीसरह व्यवहार गर्छन्। उनी प्रायः भीमसेनगोला चोकमा भेटिन्छन्। कहिले चिया पसलमा चिया पिउँदै त कहिले त्यहीँ वरिपरि भित्तेचित्र कोर्दै।
सुर्खेतमा जन्मिएका कलाकार लक्ष्मण श्रेष्ठ सानैदेखि चित्र कोर्थे। चित्रकलामा उनको गहिरो लगाव थियो। भन्छन्, ‘तर, एसएलसीपछि मैले चित्र बनाउन ठ्याप्पै छोडेँ।’ किनकि उनको चित्रकला परिवारको प्राथमिकतामा थिएन। जीवन जिउन आखिर केही त गर्नै पर्यो।’ पैसा कमाउन उनले केही व्यवसाय गरे। एकाउन्टेन्ट पनि बने। परिवारको आदर्श छोरा बन्न उनले १२ वर्षसम्म चित्र नै बनाएनन्।
१२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन्। आफूभित्रको कलाकारिता ब्यूँताउन लक्ष्मणले फेरि चित्र बनाउने निर्णय गरे। काठमाडौंबाट नेपालगन्ज फर्किएर उनले ‘संसद् भर्सेस जनता’ शीर्षकमा पहिलो चित्र बनाए। भन्छन्, ‘त्यो चित्रमा अबिरहरू प्रयोग गरिएको थियो। मैले सडकमा बनाएको त्यो पहिलो चित्र थियो।’ संसद् र जनताको द्वन्द्वलाई उनले बक्सिङ रिङ भित्तेचित्रमा देखाएर सबैको वाहवाही कमाए।
नेपालगन्जको पुष्पलाल चोकमा ९ मार्च २०१२ मा बनाइएको त्यही चित्रले उनलाई कोठामा थन्किएका चित्रहरू सडकसम्म ल्याउन उक्सायो। त्यसो त नेपालमा स्ट्रिट आर्टको सुरुआत सन् २०११ मा ‘बुर्नो लेभी’ले गरेका हुन्। कहिलेकाहीँ बाध्यता यस्तो हुन्छ कि आफूले चाहेको काम गर्न सम्भव हुँदैन। लक्ष्मणको परिस्थिति पनि त्यस्तै थियो। चित्रकारिता सुरु गरौं कि नगरौं भन्ने निर्णय गर्न नै उनलाई १८ महिना लाग्यो।
परिवारको आदर्श छोरा बन्न लक्ष्मणले १२ वर्षसम्म चित्र नै बनाएनन्। १२ वर्षपछि खोला पनि फर्किन्छ भनेझैं आफूभित्रको कलाकारिता भित्ताको क्यानभासमा ब्यूँताएपछि उनलाई अरूले पनि साथ दिएका छन्।
‘चित्रकलामा मेरो आन्तरिक खुसी छ’, लक्ष्मण भन्छन्। तर, दसैंतिहारमा घर फर्कंदा कताकता उनको मन दुख्छ। आमाबुवाको अनुहारमा खुसी ल्याउनु छोराको कर्तव्य हो। लक्ष्मण आफ्ना अभिभावकलाई सम्झाउँदै भन्छन्, ‘तपाईंको छोराले एकदुई झोला सामान ल्याउँदैन। ल्याएपछि एक ट्रक नै ल्याउँछ।’ भनिन्छ, आँखामा मनको पीडा झल्कन्छ। बुवाआमालाई सम्झँदा उनको आँखा पनि त्यसैत्यसै रसाउँछन्।
सचेत भित्ताहरू
थुप्रै कलाकार मेहनत गरेर चित्र बनाउँछन्। तर, ती चित्रहरू एउटा कोठामा सीमित हुन्छन्। लक्ष्मण भन्छन्, ‘कलाकारको पेन्टिङ खाटमुनि थन्किरहेका छन्। त्यसलाई बाहिर ल्याउनुपर्छ।’
आफ्नो कलालाई आममानिससँग साक्षात् गराउन लक्ष्मणले सडकपेटीका भित्ताहरू चुने। यो निर्णय लिन सहज थिएन। दबाब आउन सक्ने थुप्रै ठाउँ थिए। तर, उनी भन्छन्, ‘म केही गलत गरिरहेको थिइनँ।’ राजधानीका सडकपेटीका भित्ताहरूमा राजनीतिक नारा लेख्न हुने, सामाजिक चेतनामूलक चित्र कोर्न किन नहुने ? यही प्रश्न अगाडि राखेर उनी काठमाडौं महानगरमा ‘स्ट्रिट आर्ट’ गर्न अगाडि बढे।
तर, पहिलेदेखि नै अब्स्ट्र्याक्ट पेन्टिङ गर्दै आएका लक्ष्मणलाई सडकका भित्ताहरूमा सबैले बुझ्ने अर्थपूर्ण पेन्टिङ बनाउनुपर्ने भयो। यसको सुरुआत उनले नेपालगन्जबाट गर्न चाहे। सन् २०१२ मा ‘भद्रगोल देशका व्यस्त नागरिक’ शीर्षकमा वाल पेन्टिङ गरेपछि उनको चित्रकलाले सामाजिक सचेतनाको रूप लियो।
त्यसपछि यही शीर्षकलाई सुधार्दै उनले ‘नागरिक मस्त ः देश अस्तव्यस्त’, ‘म मस्त देश अस्तव्यस्त’ जस्ता भित्ते पेन्टिङ बनाए। छोटो समयमै उनले बेथितिलाई व्यंग्य गर्दै बनाएका यी चित्रहरू निकै प्रशंसनीय बन्दै गए।
राजनीतिक नाराहरूले भरिएका भित्तामाथि लक्ष्मणले थरीथरीका चित्रहरू बनाउन थाले। ‘जलाइएकी म’, ‘नशामा होइन अब’, ‘दायित्व कसको ? ’, ‘विकास र विनाश’, ‘सचेतमा भ्रूणहत्या’, ‘संकटमा प्राकृतिक कुचीकार’ जस्ता शीर्षकका पेन्टिङले त समाजमा सचेतना फैलाउने काम गर्यो। लक्ष्मणले बनाएका ‘सरकार ? ’, ‘भ्रष्ट म’ जस्ता पेन्टिङले सबैलाई झक्झकाउने काम गरिरहेको छ।
भित्तामाथि चित्र कोर्दै गएपछि अवरोधहरू खासै नआएको उनी बताउँछन्। तर, नाकाबन्दीको समयमा खाना पकाउने ग्याँसको कालोबजारी हुँदा उनले मिडल फिंगर देखाउँदै ग्यास सिलिन्डरको चित्र कोरेका थिए। उक्त चित्र अश्लील भएको भन्दै काठमाडौं महानगरले आपत्ति जनाए पनि पछि केही गरेन। लक्ष्मणका थुपै्र पेन्टिङ अहिले पनि राजधानीका सचेत भित्ता बनेका छन्।
अबको यात्रा सँगसँगै
लक्ष्मण श्रेष्ठको एक्लो यात्रामा अहिले केही सहयात्री जोडिन आइपुगेका छन्। तिनमा शिवकुमार शर्मा (४९) पनि एक हुन्। पाँच वर्षअघि सडकमा चित्र कोर्दै गर्दा लक्ष्मणसँग उनको भेट भएको थियो। लक्ष्मण र शिवकुमारबीच उमेरको भिन्नता छ तर अचेल यी दुई मन मिल्ने साथी भएका छन्। शिव भन्छन्, ‘लक्ष्मणको आँखामा म जीवन देख्छु।’ लक्ष्मण र उनको टिमले कोरेका भित्ते चित्रहरूले सुतिरहेका हजारौंको आँखा खोल्ने काम गरेको उनी ठान्छन्। ती हरेक चित्रको लिखित रेकर्ड राख्ने काम अहिले शिवकुमारले गरिरहेका छन्।
यमबङ गाहाउड (२१), राजु घलन तामाङ (२४) र पुष्कर चाम्लिङ राई (२४) जस्ता युवा अनुहार पनि अहिले लक्ष्मणसँग जोडिएका छन्। यी तीनै जना ललितकला क्याम्पस पढ्दै छन्। र, लक्ष्मणसँगै ‘स्ट्रिट आर्ट’ पनि गर्छन्। लक्ष्मणसँगै जोडिन आएको अर्को नाम हो, विदेश चाम्लिङ राई (२१)। फोटोग्राफर विदेशलाई फोटो खिच्ने काममा खुसी मिल्छ। अहिले उनी लक्ष्मणको ग्रुपले बनाएका हरेक चित्रहरूको फोटो कलेक्सनमा लागेका छन्। यिनीहरूलाई भविष्यमा के बनिन्छ थाहा छैन तर लक्ष्मणसँगको साथमा कहीँ न कहीँ पुगिन्छ भन्ने पूरा विश्वास राखेका छन्। लक्ष्मणसँग यी युवाहरूको भावनात्मक लगाव छ। जोश, जाँगर, आशा, भरोसा, इच्छा, लगाव प्रतिविम्बित हुने यी युवाका आँखा हेर्दा लाग्छ— ती केही खोजिरहेछन्। साधारण देखिने हरेक आकृतिमा यी युवाका आँखाहरू गज्जबको सुन्दरता देख्छन्। र, त्यही सुन्दरतालाई रङको माध्यमबाट भित्तामा पोख्छन्।
कतिपय काम केही समयसम्म चर्चामा रहन्छन् र पछि सबैले भुल्छन्। लक्ष्मण चाहन्छन्, उनको समूहले गरेको काम जीवन्त रहोस्, आउने पुस्ताका लागि दस्तावेज बनोस्। उनी भन्छन्, ‘सडकका भित्ताहरूमा बनाइएका चित्रहरू जीवित राख्ने माध्यम पुस्तकभन्दा अरू के हुन सक्ला र ? ’
‘खोज’ अभियान
लक्ष्मणको समूहले सन् २०२२ सम्म एक सय एक पेन्टिङ बनाउने लक्ष्य लिएको छ। यसका लागि यो समूहले एक वर्षमा २० ओटा स्ट्रिट आर्ट गर्नेछ। अबको पाँच वर्षमा यो समूहले दिनरात मेहनत गरेर यो लक्ष्य पूरा गर्ने बताएको छ। ती पेन्टिङको नाम हुनेछ, ‘खोज’। खोजका प्रवक्ता भीमबहादुर थापा हुन्। सन् १९७८ मा थापाले भित्ता, ढुंगा, पोल, सार्वजनिक स्थानमा खोज शीर्षकमा चित्रहरू बनाएका थिए। खोज मार्गदर्शन, खोज जीवन र मेरो खोज अभियानमा उनले रङ र कविताका हरफहरूबाट नेपाली समाजलाई केही नयाँ सोच्न आग्रह गरेका छन्। लक्ष्मणको समूहले उनको यही खोज शीर्षक पैंचो लिएका हुन्। ‘खोजको अर्थ आफूभित्र खोज्नु अर्थात् अन्तरखोज हो’, लक्ष्मण भन्छन्, ‘हामी अझै खोजिरहेका छौं।’
भीमबहादुरको सोचलाई नै आधार बनाएर ‘खोजबाटै यात्रा सामाजिक रूपान्तरण’ नारा दिएर लक्ष्मणको समूहले अहिले काम गरिरहेको छ। लक्ष्मणको ‘खोज’ समूहले यो अभियानको सुरुआत कीर्तिपुरबाट गरिसकेको छ। ‘स्ट्रिट फर अल आर्ट फर अल’ नाम दिएर समूहबाट सातवटा स्ट्रिट पेन्टिङ बनेका छन्।
नेपालमा चित्रकलाको पौराणिक इतिहास छ। तर पनि अहिलेसम्म चित्रकलासम्बन्धी छुट्टै संग्रहालय बन्न सकेको छैन। ‘ललितकला क्याम्पस सुरुआत भएको ८० वर्ष भइसकेको छ’, लक्ष्मण भन्छन्, ‘तर अझै नयाँ सोचका साथ अघि बढाउन सकेको छैन।’
नेपालमा लिच्छविकालीन कलालाई उत्कृष्ट मानिन्छ। मैथिली परम्पराअनुसार भित्ताहरूमा कोरिने चित्रहरू अझै प्रचलनमा छन्। यी कलालाई सामाजिक रुपान्तरणमा ढाल्नु अहिलेको मुख्य आवश्यकता हो। लक्ष्मणको विचार छ, ‘कला क्षेत्र मर्नु हुँदैन। कला मर्नु भनेको सबै क्षेत्र मर्नु हो।’