मुटु हल्लाएको पहिलो एकदिवसीय
अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको मान्यता पाएसँगै नेपाली क्रिकेट टोली हालै नेदरल्यान्डस्सँग दुई एक दिवसीय खेलको शृंखलामा सामेल भयो । नेपालले शृंखलामा १–१ को बराबरी खेल्यो । पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा एक रनको रोमाञ्चक जित हात पार्यो ।
दोस्रो खेलको अन्तिम ओभरको प्रदर्शनले नेपाली क्रिकेट पारखीको मुटु हल्लायो । नेपाललाई हराउन नेदरल्यान्डस्लाई अन्तिम बलमा दुई रन आवश्यक थियो । नेपाललाई पनि शृंखला बराबर गर्न अन्तिम बलमा नो रन आवश्यक थियो । अन्ततः नेपाली क्रिकेट खेलाडीले यो लक्ष्य पूरा गर्दै क्रिकेटभित्र नसोचेको नतिजा निस्कने यथार्थलाई साबित गरेर देखाइदिए ।
अझ रोचक पक्ष त नेपाली क्रिकेटमा यसपटक पहिलो एकदिवसीय खेल, एक जित, एक हार, एक रन, एक टिम र एक राष्ट्र अर्थात् एकको संयोग अनौठो देखिएको छ । यस संयोगले नेपाली क्रिकेटलाई सधैं अविस्मरणीय बनाएको छ । नेदरल्यान्डस्सँगको यस खेल नेपालका लागि सबै पहिलो अर्थात् वान थियो । अन्तिम बलमा एकै रनको जित अर्को अनौठो संयोग बन्यो।
पछिल्लो एक दशकमा नेपाली क्रिकेटले हात पारेको यिनै अनौठा र नसोचेको सफलता उदेकलाग्दो छ । तीन वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्रतिबन्धमा परेको नेपाली क्रिकेटलाई माथि लैजान खेलाडीको ठूलो योगदान छ ।
खेलाडीकै मेहनतले अन्तर्राष्ट्रिय स्पर्धामा पाएको सफलताले मैदानबाहिर भइरहेका क्रिकेटको फोहोरी खेललाई छोपिरहेको छ । आईसीसीको प्रतिबन्धमा परेर पनि नेपाली क्रिकेट अहिले विश्वको उत्कृष्ट टोलीमा गनिएको छ । नेपाली क्रिकेटलाई माथि लैजान कप्तान पारस खड्काको टिमले ठूलो कसरत गरेको छ ।
पारस पनि यस उपलब्धिलाई खेलाडीको मेहनतको प्रतिफल ठान्छन् । ‘आठ वर्षअघि हामीले आईसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेका थियौं । छोटो समयमै चार वर्षका लागि एक दिवसीयको मान्यता पाएका छौं । हामी सधैं यही स्थानमा आउन चाहन्थ्यौं । क्रिकेटमा विवाद र चुनौती थपिँदै गए । तर, अप्ठ्याराबीच हामीले देशका लागि खेलिरह्यौं । अहिले हामी विश्वका उत्कृष्ट १६ राष्ट्रमध्ये एक भएका छौं । विवादमा नघेरिएको भए नेपाली क्रिकेट धेरै माथि हुन सक्थ्योे । अगाडि बढ्न हामीले अझै मेहनत गर्नुपर्छ’, पारस भन्छन् ।
एक दिवसीय मात्र होइन, नेपाली क्रिकेटले टीट्वेन्टी विश्वकप सम्मको यात्रा तय गरिसकेको छ । सन् २०१४ मा बंगलादेशमा भएको टीट्वेन्टी विश्वकप खेलेको नेपाली क्रिकेटको घरेलु संरचना भने दिनप्रतिदिन दयनीय बन्दै गएको छ ।
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा तीन वर्षअघि तत्कालीन एमालेको सिफारिसमा केशवकुमार विष्ट सदस्यसचिव बनेर आए । विष्ट आउनेबित्तिकै नेपाल क्रिकेट संघ (क्यान) उनको तारोमा पर्यो । खेलकुदमा मौलाएको चरम राजनीतिलाई उनले झनै प्रोत्साहन दिए ।
चतुरबहादुर चन्द अध्यक्ष रहेको निर्वाचित क्यान कार्यसमितिमा आफ्नो पार्टी समर्थक ब्यक्ति नपाएपछि बिष्टले निर्वाचित समितिलाई विघटनगरी आफ्नो पार्टी समर्थक रमेश सिलवालको संयोजकत्वमा क्यानमा नयाँ तदर्थ समिति गठन गरे ।
त्यसपछि विवादको चरम उत्कर्षमा पुगेको नेपाली क्रिकेटलाई आईसीसीले निलम्बन गर्दै आएको छ । तत्काल निलम्बन फुकाउन पहल गर्छु भनेका सदस्यसचिव विष्टको कार्यकालले चार वर्ष छुँदासमेत उनले केही गर्न सकेका छैनन् ।
आईसीसीको निलम्बनपछि घरेलु स्तरका क्रिकेट प्रतियोगिताहरू ठप्प भएका छन् । नयाँ खेलाडी आउने बाटो रोकिएको छ । राजनीतिक हस्तक्षेपको कारण देखाई क्यानलाई निलम्बन गरेको आईसीसीले नेपालको अन्तर्राष्ट्रिय सहभागितालाई भने रोकेको छैन ।
घरभित्रको कलहले जकडिएको नेपाली क्रिकेट खेलाडीको ध्यान फेरि एसिया कपतर्फ मोडिएको छ । नेदरल्यान्डस्सँग ऐतिहासिक एकदिवसीय शृंखला खेलेर स्वदेश फर्किएपछि नेपाली टोलीका प्रशिक्षक जगत टमटा र कप्तान पारसले अबको लक्ष्य एसिया कप भएको एक स्वरमा बताएका छन् ।
एसिया कप आगामी सेप्टेम्बरको १५ देखि २८ सम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा हुँदैछ । त्यसअघि नेपालले अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने एसिया कपका लागि छनोट प्रतियोगिता खेल्नेछ । त्यसमा जितेमा मात्र नेपालले एसिया कप खेल्न पाउनेछ ।
छनोट प्रतियोगितामा नेपालसँगै हङकङ, यूएई, ओमान, सिंगापुर र मलेसिया खेल्नेछन् । प्रतियोगिताको विजेता टोली एसिया कपको समूहगत चरणमा भारत र पाकिस्तान रहेको समूह ‘ए’मा पर्नेछ । समूह ‘बी’मा भने श्रीलंका, बंगलादेश र अफगानिस्तान परेका छन् ।
भारत र पाकिस्तानको सिनियर टोलीसँग पहिलोपटक खेल्न पाउने अवसरको रूपमा रहेको एसिया कपको छनोटका लागि नेपाली टोलीले तत्काल तयारी सुरु गर्ने प्रशिक्षक टमटाले बताए । ‘एसिया कपसम्म पुग्न त्यति सजिलो छैन तर यो भारत र पाकिस्तानसँग क्रिकेट खेल्न पाउने अहिलेसम्मको राम्रो अवसर हो’, टमटा भन्छन् ।
नेपाली टोलीले यही छनोट प्रतियोगिता जित्दै एसिया कपको समूहगत चरणमा भारत र पाकिस्तानसँग खेल्ने योजना बनाएको छ । एसियाली स्तरमा हुने प्रतियोगितामध्ये एसिया कपमा मात्र भारत र पाकिस्तानले आफ्नो सिनियर टोली खेलाउने गर्छ ।
कप्तान पारस पनि एसिया कप भारत र पाकिस्तानसँग खेल्ने नेपाली क्रिकेटको वर्षांैदेखिको सपना पूरा गर्ने महŒवपूर्ण अवसर भएको बताउँछन् । ‘छनोट खेलमा सहभागी हुने सबै टोलीको स्तर उस्तै छ । छनोट हुन हामीलाई पनि ठूलै चुनौती छ । आशा छ, हामी छनोट चरण पार गर्नेछौं’, पारस भन्छन् ।
नेपाली टोलीमा अहिले अनुभवी र युवा खेलाडीको राम्रो संयोजन रहेकाले सफलता मिलिरहेको छ । हरेक अन्तर्राष्ट्रिय स्पर्धामा सफलताको सिँढी चढिरहेको नेपाली क्रिकेट टोली एसिया कपको छनोटमा पनि अनौठो नतिजा निकाल्ने तयारीमा छ ।