मुख्यमन्त्री सहभागी कार्यक्रममै बालकको यस्तो बिजोग !
जनकपुर: बालविवाह र दाइजो प्रथा अन्त्य गर्न भन्दै जनकपुरमा बिहीबार र शुक्रबार दुई दिने सम्मेलन भयो । बालबालिका र किशोर किशोरीलाई बालविवाह र दाइजो प्रथाबारे जानकारी दिन भएको सम्मेलनमै बालमजदुर लगाइएपछि जनप्रतिनिधिले आक्रोश पोखेका छन् ।
कार्यक्रमस्थलको हलमा बालबालिकाको अधिकारका विषयमा युनिसेफ, डीएफआइडी र युएनफपीएका प्रतिनिधिले छलफल गर्दै गर्दा भान्सामा जुठा भाँडा संकलन गर्ने र सफा गर्न अरु बालबालिका खटिरहेका थिए ।
यो दृश्य देखेका जनप्रतिनिधिले सम्मेलनमै आपत्ति जनाए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेको कार्यक्रम सामाजिक विकास मन्त्रालय प्रदेश २ ले आयोजना गरेको हो ।
सम्मेलनको हलमा उनीहरुकै अधिकारको कुरा हुँदा निरकुमार नाम बताउने अन्दाजी आठ वर्षीय बालक भने जुठा भाँडा संकलन गरिरहेका थिए ।