एसियाली खेलकुदको उद्घाटनमा राष्ट्रिय झन्डा कमलले बोक्ने
जकार्ता : १८औं एसियाली खेलकुदको उद्घाटन समारोहमा हुने मार्च पास्ट्मा नेपालको राष्ट्रिय झन्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्। ४१ वर्षीय कमल दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदकधारी खेलाडी हुन्।
कमलले श्रीलंकाको कोलम्बोमा भएको साग खेलकुदमा नेपालका लागि स्वर्ण पदक जितेका थिए। हाल वैदेशिक प्रशिक्षणका क्रममा नेपाली भारोत्तोलन टोलीसँगै थाइल्यान्डको राजधानी बैंककमा रहेका कमल शनिबार बिहान जकार्ता आइपुग्ने छन्।
उद्घाटन समारोहमा नेपालका एक सय ८५ जना खेलाडीमध्ये ८० जना खेलाडीले मात्र मार्च मास्ट्मा सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा ११ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने भएकाले स्थानको समस्यालाई ध्यानमा राखी उद्घाटन समारोहमा प्रत्येक राष्ट्रबाट सीमित खेलाडीलाई मात्र मार्च मास्ट्मा सहभागी गराउन लागिएको बताइएको छ।