तेस्रो स्थानका लागि भुटानसँग खेल्दै नेपाल
थिम्पु : उपाधि होडबाट बाहिरिइसकेको नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१५ महिला च्याम्पियनसिपको तेस्रो स्थानका लागि आयोजक भुटानविरुद्ध शनिबार मैदानमा उत्रँदै छ। भुटानको राजधानी थिम्पुस्थित चाम्लिमिथाङ स्टेडियममा हुने खेल स्थानीय समयअनुसार साँझ ४ बजे हुनेछ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भारतसँग २-१ गोलले पराजित भएपछि उपाधिको सम्भावना गुमाएको नेपालले भुटानलाई पराजित गर्दै तेस्रो स्थान हात पार्ने योजना बनाएको छ। भुटान पनि दोस्रो सेमिफाइनल खेलमा बंगलादेशसँग ५-० गोलले पराजित भएपछि तेस्रो स्थानका लागि नेपालसँग प्रतिस्पर्धा गर्न लागेको हो।
दुवै टोलीले प्रतियोगितामा यसअघि खेलेको समान तीन खेलमध्ये एकएक खेलमा जित हात पारेका छन् भने सेमिफाइनलसहित दुईदुई खेलमा पराजय बेहोरेका छन्। समूह एको उपविजेता भुटान र समूह बीको उपविजेता नेपालले जारी प्रतियोगितामा विपक्षीसँग बेहोरेको र फर्काएको गोलको संख्या बराबरी छ।
नेपालले जारी प्रतियोगितामा पाँच गोल बेहोर्दा विपक्षीविरुद्ध पाँचै गोल गरेको छ। भुटानले पनि विपक्षी टोलीविरुद्ध ६ गोल गर्दै ६ गोल नै बेहोरेको छ। जारी प्रतियोगितामा तुलनात्मक रूपमा राम्रो देखिएको आयोजक भुटानलाई पछि पार्दै तेस्रो स्थान हात पार्नका लागि नेपाललाई केही मेहनत गर्न आवश्यक छ। किनभने भुटानले पनि तेस्रो स्थान हात पार्ने लक्ष्य बनाएको छ।
त्यसका लागि आफ्नो घरेलु मैदानमा खेलिरहेको भुटानले शतप्रतिशत मेहनत गर्नेछ। त्यसमाथि भुटानलाई गत वर्ष बंगलादेशमा भएको साफ यू-१५ महिला च्याम्पियनसिपको पहिलो संस्करणमा नेपालविरुद्ध हात पारेको नतिजाको प्रेरणा पनि छ।
नेपाल र भुटानले गत वर्ष १-१ गोलको बराबरी खेलेका थिए। गोलअन्तरमा नेपाललाई पछि पार्दै भुटानले चार टोली सम्मिलित प्रतियोगितामा तेस्रो स्थान हात पारेको थियो। नेपाल चौथो भएको थियो।
नेपाली टोलीकी मुख्य प्रशिक्षक गंगा गुरुङ भुटानविरुद्ध जितकै लागि खेल्ने बताइन्। ‘हाम्रो उद्देश्य उपाधि नै थियो। यद्यपि सोचेको जस्तो भएन। हामी अझै पनि सम्भव भएसम्म माथिल्लो स्थानका लागि खेल्छौं। त्यो भनेको शनिबार आयोजक भुटानलाई पराजित गर्दै तेस्रो स्थानका हात पार्नका लागि खेल्ने हो’, प्रशिक्षक गंगाले भनिन्, ‘हामीले भुटानविरुद्धको खेलका लागि केही महŒवपूर्ण योजनाहरू पनि बनाएका छौं। सायद खेलाडीले त्यसलाई राम्रोसँग प्रयोग गर्ने छन् र जित हाम्रो हुनेछ भन्ने विश्वास लिएको छु।’
नेपाली टोलीकी कप्तान प्रीति राई पनि प्रशिक्षकको भनाइमा सही थप्छिन्। ‘सेमिफाइनलमा हामीले सोचेको जस्तो खेल्न सकेनौं। त्यसैले फाइनलमा पुग्न सकेनौं’, प्रीति भन्छिन्, ‘यद्यपि अब हाम्रो उद्दश्य तेस्रो स्थान हो। हामी त्यसकै लागि खेल्ने छौं।’