भीएस नयपालको उपहार

भीएस नयपालको उपहार

  • अमिताव कुमार

सन् १९५३ अक्टोबर १० का दिन भी.एस. नयपालले परिवारका लागि एउटा टेलिग्राम पठाए। उनको घर ट्रिनिड्याडमा थियो। सबै परिवार उतै बस्थे। उनी त्यतिबेला अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत थिए। छात्रवृत्ति पाएपछि उनी अक्सफोर्डमा भर्ना हुन आएका थिए। अध्ययन गर्दागर्दै उनले बीबीसीको ‘क्यारिबियन भ्वाइस प्रोग्राम’का लागि लेख्न थालिसकेका थिए। सन् २००१ को साहित्यतर्फ नोबेल पुरस्कार विजेता नयपालको ८५ वर्षको उमेरमा गत शनिबार लन्डनस्थित आफ्नै घरमा निधन भयो।

अक्टोबर, १९५३। नयपाल भर्खर २१ वर्षका थिए। त्यही समयमा उनले आफ्ना बुवाको मृत्यु भएको समाचार सुने। उनी घर गएनन्। धेरै समयसम्म गएनन्। बरु उनले आफ्नो बुवालाई मुख्य पात्र बनाएर एउटा उपन्यास लेखे, ‘अ हाउस फर मिस्टर विश्वास’। पुस्तक लेखेर बुवाप्रति सम्मान देखाए नेयपालले। ‘अ हाउस फर मिस्टर विश्वास’लाई उनको उत्कृष्ट कृति मानिँदै आएको छ। उपन्यासको विश्वासजस्तै नयपालका पिता पनि गरिब थिए।

लामो समयसम्म नयपाल बेरोजगार रहे। आम्दानीका लागि कुनै पेसा उनीसामु थिएन। समय बित्दै गयो, उनी पत्रकार भए। एउटा सफल पत्रकार।

जवान नयपालले लेखक बन्ने सपना देखे। सपना पूरा होला भन्ने विश्वास चाहिँ उनलाई थिएन। बेलाबेला लेख्थे, कागजको पान्नामा थपिँदै गएका शब्दमा महत्वाकांक्षा र सुर्ता हुन्थ्यो। पछिपछि उनको लेखन हामीजस्ता युवा लेखकका लागि उपहार नै बन्न गयो। भारतजस्तो देशका लागि उनको लेखन महत्वपूर्ण ‘गिफ्ट’ बन्यो।

त्यसदिन बेलुकी म र मेरी श्रीमती रेस्टुरेन्टमा थियौं। मेरो एक लेखक साथीको म्यासेज आयो, ‘भी.एस. नयपालको मृत्यु भयो।’ मैले केही सोच्नै सकिनँ। थोरै शब्दमा लेखिएको सन्देशले मलाई विचलित बनायो। म चुप लागेको देखेर श्रीमती सोधिरहन्थी, ‘के भयो तपाईंलाई ? ’ म अरू नै गफ गर्न चाहन्थेँ तर गफ गर्दागर्दै रोकिन्थेँ। केही बोल्नै सकिरहेको थिइनँ। त्यसपछि आफू दुःखी भएको कुरा मैले उनीसामु स्विकारेँ। कोही मान्छे गुमाएकोले मलाई पीडा भइरहेको थियो। श्रीमतीले उतिबेलै भनेकी थिई, ‘उनी कट्टर, असहिष्णु थिए।’

स्थान, समयलाई मिहिन दृष्टिकोणसहित टिपोट गर्ने अनि त्यसलाई केलाउने क्षमता भएका नयपाल बेलायत बसेर बाँकी विश्वतिर फर्किन्थे।

मेरो श्रीमतीको विचारले धेरै मान्छेको प्रतिक्रियालाई प्रतिनिधित्व गर्छ। नयपालप्रति सम्मान गर्ने धेरै पाठक पनि मेरी श्रीमतीको झैं विचार राख्छन्। उनी कट्टर नै हुन् भन्नका लागि धेरै आधारसमेत छन्। उनको बोली–व्यवहारले त्यसलाई पुष्टि गर्छ। एउटा अन्तर्वार्तामा उनले महिला लेखकप्रति खिसी गरेका थिए। उनी इस्लाम धर्मप्रति अति असहिष्णु देखिएका थिए। इस्लाम धर्म मध्ययुगीन र हिंसात्मक भएको बताएका थिए। उनी हिन्दु परिवारबाट आएकाले उनले यस्तो विचार राखेका हुन् भन्ने लाग्छ मलाई। मैले श्रीमतीलाई भनिदिएको थिएँ, ‘मानौं कसैको पिता एकदमै कट्टर दृष्टिकोण राख्छन्। तर, जब उनी मर्छन्, मृत मानिसप्रति पनि तिमी संवेदना राख्दैनौ ? ’

युवाकालमा म भारतीय सहरमा बसेर नयपाललाई पढ्थेँ। उनको लेखन मेरो वरिपरिका विषयले भरिएका हुन्थे। उनको लेखन बुझ्न गाह्रो पर्दैनथ्यो। ‘इन्डिया : अ मिलियन म्युटिनिज नाउ’ नामक पुस्तकमा भारतकै यात्रा माथि लेखेका छन् उनले। १९९० मा प्रकाशित यस पुस्तकमा आफ्नै पुख्र्यौली घर भारतमाथि वर्णन गरेका छन्।

जब म पश्चिमा समाजमा आइपुगेँ र यहीँ बस्न थालेँ, उनका पुस्तक पढेर आनन्दित हुन थालेँ। उनका पुस्तकबाट मनोरञ्जन लिन थालेँ। सन् १९८७ मा ‘इनिग्मा अफ अराइभल’ नामक पुस्तक लेखे उनले। यो आत्मवृत्तान्त अनौठो किसिमको छ। यो पूर्णत फिक्सन (उपन्यास) पनि होइन र नन्फिक्सन पनि होइन। यहाँ आप्रवासी लेखकको भयंकर खोज देखेँ। मिहिन दृष्टिकोण, हरेक ठाउँ र समयलाई टिपोट गर्ने र केलाउने क्षमता भएका नयपाल बेलायत बसेर बाँकी विश्वलाई केलाउँथे।

म नयपाललाई राम्रोसँग चिन्दैनथेँ। उनी मेरा नजिकका मित्र पनि होइनन्। कहिलेकाहीँ साहित्यिक कार्यक्रममा भेट्ने मौकासम्म पाएको हुँ। एकपटक आफ्नो काश्मीर यात्राका बारेमा मैले ‘न्यु स्टेट्सम्यान’ मा लेखेँ। त्यो लेखन मैले नयपाललाई उपलब्ध गराएको थिएँ। मलाई अहिले पनि सम्झना छ, म ‘लिवार्ड होटेल’ पुगेको थिएँ। त्यही होटेलमा बसेर ६० को दशकमा नयपालले भारतका सम्बन्धमा पुस्तक लेखेका थिए। अहिले त्यो होटल मिलिटरी बंकरमा परिणत भएको छ। त्यहाँ बसेका अन्तिम दिनमा मैले लेखक नयपालबाट फ्याक्स पाएँ। उनको चिठीको सुरुवात यस्तो थियो– ‘वास्तवमा लिवार्ड एउटा ‘डगहाउस’ थियो। तपाईंले वर्णन गरेजस्तै बंकरमा परिणत हुन ठीकै हो।’ नयपालले मलाई काश्मीरको भग्नावशेषको इतिहासमाथि निरन्तर जानकारी दिन भनेका थिए। उनी करुणाहीन छन्। पूर्वाग्रही छन्। उनले पठाएका फ्याक्सहरू अहिले मसँग छैनन्। सबै हराए। त्यतिबेला हामीबीच भएका कुराकानी सम्झिन प्रयास गरिरहेको छु अहिले।

नयपाल सामान्य भाषामा विश्वसनीय ढंगले लेख्छन्। उनको लेखनले पाठकको मस्तिष्कमा परिवशको बिम्व निर्माण गरिदिन्छ। लेखकको रूपमा यो उनको महत्वपूर्ण क्षमता हो।

सीएनएनबाट किरण दहालको अनुवाद


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.