उत्तरमानवलाई स्वागत
संसारभर अहिले नयाँ चेतनाको उदय भइरहेको छ। यो चेतनाले सम्पूर्ण मानवलाई नयाँ ज्ञान र परिवेशको परिचय दिइरहेको छ। हिजो सत्य लागिरहेको कुरा आज कम सत्य र असत्य लागिरहेको छ। स्मृति, सपना, भाषा, मन, बुद्धि, चेतना, जीवन, मृत्यु, स्वर्ग र नर्कको नयाँ परिभाषा यसले दिएको छ। र, मानव अब सांस्कृतिक राजनीतिक र सामाजिक मात्र रहेन, यो प्रविधिसँग जोडियो। मिडियाले मानव मानवबीचको दूरी अन्त्य गरिदिएको छ।
अहिले पोस्ट ट्रुथ अर्थात् उत्तर सत्यजस्तो खतरनाक अवधारणा आएको छ। उत्तर आधुनिकवादीहरूले आविष्कार गरेको टेक्नोकल्चरले अब मात्र मानव जोडिने भएन, नयाँ विज्ञानले ल्याएको विधिले मानिसको जिन, मस्तिष्क र शरीरका कोषहरूमा प्रवेश पाएको छ। के मानिस जैविक मेसिन हो ? प्रश्न उठाएको छ। विशेष गरेर धार्मिक रूपमा कृषि युगको ध्यानस्थ ज्ञानलाई चौथो क्रान्तिले विस्थापित गर्दैछ। मान्छेको उत्पादन साधन र स्रोतहरू परिवर्तन भएको छ। ज्ञान र सूचनाको युगमा नयाँ विज्ञानले नेतृत्व गरिरहेको यस कालखण्डलाई पोस्ट ह्युमन अर्थात् उत्तर मानवको युग भन्न थालिएको छ, जसलाई सिद्धान्ततः उत्तर मानववाद भनिएको छ।
उत्तर मानववादको घोषणा सन् १९९५ मा रोवर्ट पिपिरिलले ‘दी पोस्ट ह्युमन कन्डिसन, कन्सियसनेस वियोन्ड दी ब्रेन’ पुस्तक लेखेर घोषणा गरेका थिए। यस उत्तर मानववाद उत्तर आधुनिकतावादबाटै केही हदसम्म बढे पनि यो विशुद्ध विज्ञानको क्षेत्रमा आएको क्रान्तिमा आधारित छ। न्युरल नेटवर्क, नानोटेक्नोलजी, जेनेटिक एल्गोरिदम, कृत्रिम बुद्धि र जीवन, रोबोटिक्स न्युरोसाइन्स, ब्रह्माण्ड शास्त्र र क्योस सिद्धान्तबाट अघि बढेको देखिन्छ। जुन एउटा विषयमा मात्र ज्ञान भएको विद्वान् पनि बुझ्न सक्दैन। ज्याक्स डेरिडादेखि स्नायु वैज्ञानिक डेनियल डेनेट, ब्रह्माण्डशास्त्री स्टिभिन वेहनवर्गदेखि क्योस सिद्धान्तका जेम्स ग्लिकसम्म यो दर्शन घुम्छ। यसले यथार्थको बारेमा प्राचीन कालदेखि चल्दै आएको अवधारणामा भन्छ कि यथार्थ बुझ्नै सकिँदैन। विज्ञानले पनि यथार्थ बुझ्ने परिवेश र विचारमा कुनै भिन्नता पाउँदैन।
अक्सफोर्ड विश्वविद्यालयका जीव वैज्ञानिक रिचर्ड डकिन्स भन्दछन् कि डीएनए भनेको जीवन बनाउने मेसिन हो। यस दर्शनले मुख्य रूपमा भन्छ कि मानव जीवनसँग परिचित हुन त सकिन्छ तर व्याख्या गर्न सकिँदैन। मानव जीवनलाई सांस्कृतिक, सामाजिक र सौन्दर्यात्मक रूपमा परिभाषित गर्दै आएका दार्शनिकहरूलाई यसले रनभुल्लमा पार्छ। यो विशेष गरेर अतिविकसित प्रविधि सभ्यतामा प्रवेश गरेका पश्चिमी राष्ट्रहरूको उत्पादन हो। जब यो कम विकसित नेपाल जस्तो तेस्रो विश्वमा प्रवेश गर्छ, यो एक पीडा र बौद्धिक यातनामा परिणत हुन्छ। ईश्वरले जीवन र जगत्लाई नियन्त्रण गरिरहेको छ भन्नेहरूका लागि यो पिपिरिलको उत्तर मानववाद ठूलो प्रहार साबित हुन्छ।
उत्तर मानववाद मानिसलाई उसको जिन, जैविक रसायन, मस्तिष्क संरचना र यान्त्रिकताको खेलवाड गरेर ईश्वरजस्तै बनाउने विधि हो। यसले मानव जीवनलाई नयाँ संरचनामा सोच्छ। उन्नाइसौं शताब्दीको दर्शनले तयार पारेको मानवसम्बन्धी अवधारणालाई यसले परिवर्तन गर्छ। यसले जीवनभित्रको अपूर्णता र अनेकतालाई स्वीकार्छ। यो चिन्तन बहुलवादी हुन्छ। यसले दर्शनको महाविवाद पदार्थ प्राथमिक कि चेतना प्राथमिक छ भन्ने विवादलाई मान्दैन। मानिसलाई जैविक एकाइको रूपमा मान्दछ र यसमा व्यापक परिवर्तन औषधि विज्ञानले ल्याइरहेको तथ्य अघि सार्छ। मान्छे र रोबर्टबीच भिन्नता देख्दैन। साहित्यिक रूपमा ज्याक डेरिडाको विनिर्माणवादलाई वैज्ञानिक रूपमा विनिर्माण गर्छ। किनभने यो अहिलेसम्म मानव हुनु भन्दाको स्थितिबाट अलिक पर पुग्न हो। मृतहरूलाई पुनः जीवनमा ल्याउन सकिन्छ, मस्तिष्क चेतनालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ र अन्तरिक्षको भ्रमणमा पठाउन सकिन्छ। शरीरका अंगप्रत्यंगहरू कृत्रिम रूपमा बनाउन सकिन्छ जस्ता कुराहरू उत्तर मानववादका विधिहरू हुन्।
उत्तर मानववाद मानिसलाई उसको जिन, जैविक रसायन, मस्तिष्क संरचना र यान्त्रिकताको खेलवाड गरेर ईश्वरजस्तै बनाउने विधि हो।
उत्तर मानववादले मानिसको स्वतन्त्र इच्छा जस्ता अवधारणालाई विस्थापित गर्नेछ। मानवतावादी युगले चेतनालाई मानिसको विशेष पुँजी मानेको थियो तर यसले पहिले विछिन्न अवस्थामा रहेका फेनोमेनाहरूलाई एकै ठाउँमा जेडिदिन्छ। मानवीय फेनोमेनाहरू मस्तिष्कले नै तयार गर्छ, बाहिर कुनै एजेन्सी छैन भनी स्नायु वैज्ञानिक जोन सर्ल बताउँछन्। मानव चेतना र उसको परिवेश छुट्टिँदैन। प्रकृति, जीवन र ब्रह्माण्डको सञ्चालन विराट् अव्यवस्था र अस्थिरतावाद हुन्छ भन्ने जेम्स ग्लेटकको दर्शनलाई मान्छ। यो क्योस थ्योरी मौसम विज्ञानदेखि क्वान्टम फिजिक्ससम्म लागू हुन्छ। शरीरको केन्द्र छैन। चेतनाको केन्द्र छैन। चेतना शरीरभरि फैलिएको छ, जस्ता लहडी लाग्ने विचारहरूलाई उत्तर मानववादले प्रमाणित गर्छ। यसले वस्तु पनि विचार हो भन्दै पारम्परिक दर्शनको अन्त्य गर्छ।
सत्रौं शताब्दीका फ्रान्सेली दार्शनिक रेने डेकार्टले मस्तिष्क र शरीर दुई भिन्दाभिन्दै अस्तित्व भएको भनी द्वैतवादी अवधारणा ल्याएका थिए। यसले त्यो वैज्ञानिक क्रान्ति ल्याउने दर्शनको विनिर्माण गर्दा शरीर र मस्तिष्क एउटै हो भन्छ। उत्तर मानववादको सुरुआत कहिले भयो भनी हेर्दा पहिले विश्वयुद्धताका क्वान्टम फिजिक्स र सापेक्षतावादको प्रयोग भएपछि यसको सुरुवात मानिन्छ। अहिले विज्ञानका विभिन्न शाखाको विकास गरेको अति सूक्ष्म ज्ञान र ‘डिसरप्टिप’ प्रविधिबाट यसको दार्शनिक आधारभूमि तयार भएको छ। कला र साहित्यको सन्दर्भमा यो वाद अस्थिर र निरन्तरता नभएको कला नै राम्रो कला हो भन्छ। जहाँ क्योस सिद्धान्त लागू हुन्छ। यो सिद्धान्त बारेन हाइजेनवर्गको अनिश्चयको सिद्धान्तसँग पनि मेल खान्छ। शरीरको सीमितता छैन। तर, यो शरीर धर्मभन्दा बाहिर छ भन्छ।
उत्तरमानववादले मान्दछ कि सबै प्रश्नको उत्तर छैन। सबै चीज प्रक्रियामा छ र भविष्य कहिल्यै आउँदैन। विचार शरीरभित्र घटित हुन्छ र तर कहाँ घटित हुन्छ भन्ने थाहा हँदैन भन्दै मस्तिष्कलाई यसको एक पक्ष मात्र मान्छ। उत्तर जैविकता पनि भनिएको यस अवधारणाले हाम्रो मानव द्वन्द्वको पूर्व अवस्थालाई क्रान्तिकारी ढंगले रुपान्तरित गरिदिएको छ। रोबोटले कविता लेख्छ, संगीत र चित्र बनाउँछ। यसर्थ सिर्जनाको परिभाषा बदलिन्छ। अहिलेसम्म विशुद्ध मानव शरीरले सञ्चालन हँदै आएको जीवन यो विज्ञान प्रविधिबाट मानव उत्तर अवस्थामा पुग्छ। त्यसैले, यसको प्रयोग अस्पताल, वैज्ञानिक प्रयोगशाला, अन्तरिक्ष, सूचना प्रविधि र औषधि विज्ञानमा सुरु भएको छ।
यो सानो पुस्तकलाई उत्तर मानववादको घोषणापत्र पनि मान्न सक्छौं। सभ्यताको यो नयाँ चरणको उत्तर मानवलाई सबैले स्वागत गरौं।
पुस्तक : दी पोस्ट ह्युमन कन्डिसन
लेखक : रोबर्ट पिपिरिल
प्रकाशक : इन्टलेक बुक