जीवन एक सारंगी

जीवन एक सारंगी

‘मानिसलाई सधैं उसको परिवेशले बनाएको हुन्छ। सधैं एउटै परिवेशबाट बाँचिआएको मानिसलाई अर्को परिवेशमा जान समय लाग्छ अनि गाह्रो पनि हुन्छ। सधैं मागेर गुजारा चलाएको हाम्रो इतिहासलाई हामीले परिवर्तन गर्न जरुरी छ।’

दिलीप गन्धर्व यस्तै परिवर्तनको लागि डटेर लागिपरेका युवा अभियन्ता हुन्। उनी बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा नमुना बस्ती बनाउन लागिपरेका छन्। यस बस्तीसँग, बस्तीमा बसेका मानिसहरूसँग उनको संघर्षका अध्याय जोडिएका छन्।

कुनै समय जीविकोपार्जनका लागि पहाडबाट झरेर दिलीप गन्धर्वका बुबाआमाहरू यस ठाउँमा आइपुगेको थिए। तर विभिन्न समयमा संघर्ष गर्दागर्दै बल्लतल्ल सुकुमबासीबाट घर र बस्ती बसाउने हदसम्मको अवस्थामा उनीहरू आइपुगेका हुन्।

आफ्ना बुबाले सारंगी बजाएर जीविका धानिरहेका बेला उनी विद्यालय पढ्न भर्ना भए। गरिबीबीच पनि उनले कक्षा चारसम्म त जसोतसो धानेका थिए, तर कक्षा पाँचमा उनलाई नयाँ स्कुलड्रेस लगाउनुपर्ने भयो। उनको परिवारसँग स्कुलको नयाँ लुगा किन्ने हैसियत भएन।

गरिबीसँग हेलाँहोचो जोडिएको छ। स्कुलमा शिक्षकले सधैंजसो ड्रेसलाई लिएर उनको अपमान गर्ने गर्थे। अब थप अपमान हुने डरले दिलीप स्कुल जानै छाडे। बरु उनले आफ्ना बुबा र काकाहरूसँगै सारंगी बजाउने काममा मद्दत गर्न थाले।

उनले ठाने, एक–दुई दिन सारंगी बजाएर कमाउने अनि स्कुल ड्रेस किनेर स्कुल जाने ! तर नयाँ स्कुलडे«स लगाएर फेरि स्कुल जाने उनको सपना कहिल्यै पूरा हुन पाएन।

एक दिन उनी काकाहरूबाट छुट्टिएर गाउँदै माग्दै थिए। त्यही बेला एउटा घरका मानिसले उनलाई लखेट्दै घोक्र्याएर निकाले। उनले त्यसपछि सारंगी बजाउन नहुने रहेछ भन्ने ठाने। उनी सानै उमेरमा कामका लागि भारत पसे। भारत प्रवाससँगै उनको पढ्ने सपना तुहियो।

भारतमा काम गर्ने क्रममा उनी सचेत र सक्रिय भए। त्यहाँ उनी आफूजस्ता मजदुरका हकहितका लागि संगठित गर्नतिर लागे। मजदुर आन्दोलनको नेतृत्व पनि गरे।

नेपाल फर्किएर आएपछि दिलीप गन्धर्वले आफ्नै समुदायको हकहितका लागि संघर्ष थाले। त्यसउप्रान्त उनी आफ्नो समुदायको पहिचानका लागि लडिरहेका छन्। यसै क्रममा उनी गन्धर्व समुदायको संघर्षका अगुवा भएका छन् र आउने पुस्ताका लागि मार्गनिर्देशक पनि।

दिलीपले सानै उमेरदेखि असमानता, जातीय छुवाछूत, गरिबी अनि विभेदको चरम रूप देखेका र भोगे। यिनै परिघटनाले नै उनलाई सामाजिक न्यायको बाटोतर्फ डोर्‍याए।

उनी २०६० सालदेखि दलित मुक्तिका लागि सांस्कृतिक अभियानमा लागेका हुन्। २०६२ सालमा दलित मुक्ति मोर्चामा संलग्न भएयता उनी राजनीतिक–सामाजिक स्तरबाट दलित हकअधिकारको पक्षमा लागिपरेका छन्।

दिलीप अहिले गन्धर्व समुदायको विकास; कला–संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा पहिचानका लागि गन्धर्व सांस्कृतिक अध्ययन केन्द्र निर्माणमा लागिपरेका छन्।

जीविकोपार्जनका निम्ति दिलीपले भारत जाने–आउने क्रम पनि जारी राखे। जहाँ गए पनि उनमा नेतृत्व क्षमता उजागर हुँदै आएको छ। भारतमा उनको नेतृत्वमा भएको मजदुर आन्दोलनले यही कुरा प्रस्ट पार्दछ। उनी काम गर्ने कम्पनीमा उचित ज्याला र सेवासुविधा नहुँदा मजदुर मारमा परेका थिए। उनले तिनै मजदुरहरूलाई संगठित पार्नेदेखि आन्दोलनका कार्यक्रमसम्म तय गरे। आन्दोलनको क्रममा कम्पनी नै ठप्प भएपछि मजदुरहरू उचित ज्याला र सुविधा पाउन सफल भए।

२०६८ सालमा उनी सधैंका लागि नेपाल फर्के। त्यसपछि भने उनले आफ्नो बस्तीमा ध्यान केन्द्रित गरे। त्यहाँका सुकुमबासी गन्धर्वहरूको जीवनस्तरमा परिवर्तन ल्याउने कोसिस गरे। उनीहरूको भूमि अधिकारका संघर्षमा लागे।

२०५१ सालमा गठित सुकुमबासी आयोगले यहाँका सुकुमबासीलाई दुईदेखि पाँच रोपनी जग्गा उपलब्ध गराएको थियो। राजमार्ग छेउको जग्गा गैरदलितले पाए भने भित्री कुनाको जग्गा दलितलाई दिइयो। यसरी उपलब्ध गराइएको जग्गाको प्रमाणपत्र पाउन र भोगचलन गर्न भने सहज बनाइएन। यसै क्रममा स्थानीय थारू समुदायसँग पनि द्वन्द्व भयो।

भूमिमा अधिकारका लागि जिल्ला प्रशासन घेराउ गर्नुपर्‍यो, सारंगी बजाउँदै प्रशासन अघि प्रदर्शन गर्नुपर्‍यो। वाद्यवादनसहित गरिएका सांकेतिक विरोधका कार्यक्रममा दिलीप आफैंले पनि नेतृत्व गरे। यसरी निरन्तरको संघर्षपछि भूमिमा कानुनी स्वामित्व पाइयो। जग्गाको प्रमाणपत्र भए पनि बस्तीको अवस्था नाजुक थियो। गरिबीका कारण अधिकांश गन्धर्वसँग घर बनाउने हैसियत थिएन। त्यसैले पनि उनीहरू शिक्षा र स्वास्थको पहुँचबाट टाढै थिए।

भूमिमा वैधानिक स्वामित्वसँगै बासको व्यवस्था गर्नु अति जरुरी थियो। त्यसैले सरकारले ल्याएको जनता आवास कार्यक्रमअन्तर्गत दिलीपले बस्तीमा ४७ घर बनाउन संयोजन गरे। तर पटकपटक बाढी पसेर बस्ती सधंि डुबानमा पर्ने समस्या देखियो। त्यसै कारण तटबन्ध बनाउने कार्यका लागि पहल गर्नमा उनी लागिपरे।

यसैबीच सहकर्मी समाजको सहयोगबाट बढैयातालको गन्धर्व बस्तीलाई नमुना बस्ती विकास गर्न सामुदायिक भवन बनाइयो। बस्तीका बालबालिकाको शिक्षा र स्वास्थ्यमा सुधारका लागि पहल गरियो। अन्य पूर्वाधार विकासका लागि विभिन्न निकायसँग समन्वय र छलफलका कार्यक्रम गरियो। यसमा उनको भूमिका नेतृत्वदायी थियो।

उनले गन्धर्वहरूका हराउँदै गएका पहिचान र सांस्कृतिक धरोहरका रूपमा रहेको सारंगी बाजाको प्रवद्र्धनको योजना बनाए। यसै क्रममा सुदूरपश्चिमका गन्धर्व समुदायलाई संगठित गरी २०६८ सालमा नेपाल गन्धर्व जागरण समाजको स्थापना भयो। बर्दियामा भने २०७१ सालदेखि नेपाल गन्धर्व समाज सञ्चालित छ।

दिलीप अहिले गन्धर्व समुदायको विकास; कला–संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा पहिचानका लागि गन्धर्व सांस्कृतिक अध्ययन केन्द्र निर्माणमा लागिपरेका छन्। अन्य समुदायले सारंगी बजाएमा वाहवाही पाउने, तर परम्परागतदेखि सारंगी बजाउँदै आएका गन्धर्वलाई चाहिँ हेयको दृष्टिले हेर्ने चलनको अन्त्य गर्न चाहन्छन् उनी। यसका लागि गन्धर्वको गायन र संस्कृतिको बजारीकरण हुनुपर्ने कुरामा उनी जोड दिन्छन्। उनी गन्धर्व जातिको समग्र उत्थान र विकासका लागि सबै गन्धर्वलाई पनि संगठित हुन प्रेरित गर्दैछन्। यस अर्थमा उनी गन्धर्व समाजका निम्ति आसलाग्दा किरण भएका छन्। उनका पाइला सामाजिक न्यायका आन्दोलनतिर लक्षित छन्।

सानैदेखि देखे–भोगेको विभेदले दिलीपलाई सामाजिक न्यायको आन्दोलनमा लाग्न र नेतृत्व गर्न सिकायो। संघर्षशील पारिवारिक वातावरणबाट उदाएका दिलीप गन्धर्व आफ्नो समुदायको पहिचान, सम्मान र समानताको अभियानमा क्रियाशील छन्। अनेक चुनौतीका बाबजुद निरन्तर संघर्षको अगुवाइले सामाजिक न्यायप्रति उनको दृढ विश्वासलाई जनाउँछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.