आधा बिछोड
नौ कक्षाको पहिलो दिन १२ वटा मात्र थिए, कोठामा टाउकाहरू। विद्यालयमा शैक्षिक सत्रको सुरुमा एक महिनासम्म विद्यार्थी नआउनु कुनै ‘ब्रेकिङ न्युज’ थिएन। कोठामा नयाँ किताबको वासना हरर चारैतिर फैलिएको थियो। हामी पैसा नहुनेहरू ‘सेकेन्ड ह्यान्ड’ किताबमै चित्त बुझाउँथ्यौ। देख्नै नसकिने चित्त बुझाउन हामीलाई गाह्रो थियो तर गरिबीले बानी जो पारेको थियो।
धेरैलाई विद्यालय संसारकै बोरिङ प्लेस लाग्छ। हामी अर्थात् कोब्रा ग्याङका आजीवन सदस्यहरूलाई भने कहिल्यै पनि विद्यालयलाई बोरिङ प्लेस मान्ने अधिकार थिएन। पढाइलेखाइमा जिरो भए पनि हाम्रो ग्याङका जिम्मेवार सदस्यहरू कहिल्यै पनि विद्यालय छाड्दैनथे।
सरहरू भन्थे, ‘कुलामा जतिसुकै पानी बगे पनि खानलाई त कहिलेकाहीँ आउने धाराको पानी नै चाहिन्छ।’ किताबका कुरा कम बुझे पनि हाम्रो समूहका सदस्यहरू यस्ता कुरा धेरै बुझ्थे। ‘खेतीपातीमा त काम लाग्छ नि सर’, हाम्रो समूहको निकै मेहनती सदस्य विनोदले भनिनसक्दै सरले रेडिमेट जवाफ दिन्थे, ‘यस्तो विष भरिएको पानीले त खेतको बाली पनि मर्छ।’ केटाहरू सरको दिमाग चाट्न छाड्दैनथे, ‘बालीमा भएको कीरा मार्न त काम लाग्ला नि।’ यसरी काननेरका रौं भुत्ते भए तर सरसँग सवालजवाफ गर्न भने हामीले कहिल्यै छाडेनौं।
‘विष्णेलाई प्रहरीले खोरमा जगाएछ त।’
सिँगानको लर्को मुखैभित्र पुग्ने गरी स्वार्रर पार्दै बांगेले एकै सासमा फलाक्यो।
बांगे उर्फ विवेक। लडाइँझगडा र मारपिटको बिट हेर्ने संवाददाता थियो हाम्रो ग्याङको। कसले कसलाई पड्कायो, के भयो ? निकै खोजमूलक तवरले रिपोर्टिङ गथ्र्यो। कहिलेकाहीँ गलत रिपोर्टिङका कारण साप्ताहिक उठबस बन्द हुने गरी कारबाही पनि बेहोथ्र्यो तर पनि गलत रिपोर्टिङ गर्न कहिल्यै छाडेन।
‘हैन किन पकडेचन् त’, केटाहरूले गाइँगुइँ गर्न थाले।
बांगेले विवेचनात्मक जवाफ दियो, सालेले त्यो पारि गाउँको सन्तेको बंगारा बांगो बनाइदिएछ त। मञ्जुलाई हेरेको हेर्यै गर्दो रहेछ। ‘मेरी छम्मालाई किन हेरिस् भनेर दिएछ मज्जाले’, बांगेले आफ्नो बिटको रिपोर्टिङ जोड्यो, चार घन्टापछि होश आएको अरे, त्यसका बाले पुलिसलाई भनेर थुन्न लगाएको’, समाचार सकियो।
काले डन उर्फ कोब्रा ग्याङको लिडर। स्कुल फोबिया रोगले ग्रस्त कालेले मञ्जुलाई देखेको दिनदेखि एक दिन पनि स्कुल छाडेन। पखाला लाग्दा पनि बरु बारबार पाइखाना गइरह्यो तर कालेले स्कुल छाडेन। संसारलाई जित्छु भन्ने कालेले सुइँखुट्टी मञ्जुसँग हार खाएको थियो।
‘आम्मा कसम मञ्जुलाई पाएँ भने सारा गुन्डागर्दी छाडेर जोगी भएर भएर बस्छु’, मुखभरि थुक पारेर निल्थ्यो।
‘मञ्जुलाई देख्दा नै मनमा अर्कै अर्कै हुन्छ यार, राति सुत्न पनि बिर्सन्छु, खान पनि, मस्तै सताउँछ यार मञ्जुको यादले।’
स्कुल भरिको डन मसँग रुन्थ्यो।
‘नरो बड्डा, तेरो निधारमा मञ्जु नै लेखेको छ, नपत्याए हात हेराउन जाम् न।’
पहिलोपटक मेरो जुक्ति सुनेर काले मुस्कुरायो। अँगालो हाल्यो, गालामा चुम्बन गर्यो।
‘आम्मा कसम क्या जुक्ति निकालिस् यार’, उसको मन लामो खडेरीपछि पानी भेटेको मकैजस्तो खुसीले हलक्क बढ्यो।
गाउँको सबैभन्दा पुछारमा थियो, नन्द ज्योतिषको हात हेर्ने ठाउँ।
‘नन्द ज्योतिष तुलसीपुरभरि चर्चित थिए, जति बेला पनि उनको घरमा मानिसको भीड लाग्थ्यो। बैंकिङ प्रणालीको विकास नभएको त्यो समयमा मानिसहरू उनले पैसा कमाएको देखेर गाउँभरि हल्ला फैलाउँथे, ‘नन्द ज्योतिषको घरमा त पैसाको भकारी छ।’
हामीलाई त्योसँग केही पनि वास्ता थिएन, बस् काले डनको हात हेराउनु थियो, उसको निधारमा लेखेको मञ्जुको नाम हेराउनुथ्यो।
‘बाबुको त बिहे भएको केटीसँग पो बाजा बजाउने योग छ त।’
काले डनको नशा फुल्लियो। मलाई डरले आच्छुआच्छु पार्यो। काले अधिक कालो भएकाले रिसको आगो भने देखिएन। ज्योतिषका लागि आज अन्तिम दिन रहेछ जस्तो पनि लाग्यो। तर, कसैलाई वास्ता नगरी काले त्यहाँबाट फनक्क कता गायब भो कता, थाहै पाइएन। कालेको जीवनको पहिलो दिन थियो त्यो, उसको मन दुखेर पनि कसैलाई क्षति नगरेको।
ज्योतिष काण्डको सात दिनपछि कालेले एकाएक ट्युसन पढ्ने प्रस्ताव राख्यो। कालेमा आएको पढाइप्रतिको प्रेम देखेर ग्रुपका सबै तीनछक्क थिए। हामीलाई पातुखोला उल्टो बग्न लागेजस्तो भएको थियो। प्रेमले मान्छेलाई केबाट के बनाउँदो रहेछ। किताब भन्नेबित्तिकै पखाला लाग्ने कालेले ट्युसन पढ्ने कुरा सबैका लागि आकाश खस्नुजत्तिकै अप्रत्याशित थियो।
कालेले पढाइ सुरु गरेसँगै हाम्रो ग्याङका सबैले सुरु गरे। ट्युसन जान थालेपछि हाम्रो ग्याङको परिचय पनि बदलिँदै थियो। गुण्डागर्दी नै प्रमुख उद्देश्य रहेको हाम्रो ग्याङ पूरै विधान नै परिवर्तन गर्ने गरी बदलिएको थियो। ‘गुन्डाहरू वाल्मीकि भएका छन् अरे’, हाम्रा बारेमा गाउँघरमा गाइँगुइँ हल्ला जो चलेको थियो।
ट्युसन कक्षामा गएपछि थाहा भयो। कालेले त मञ्जुका कारणले पो ट्युसन ज्वाइन गरेको रहेछ। आठ बजे उठ्ने ऊ बिहानै चार बजे उठेर मञ्जुको घरको बाटोमा जान थाल्यो। मञ्जु सँगसँगै ट्युसन पढ्ने ठाउँसम्म आउने, अँध्यारोको समयमा कसैले देख्न पनि देख्दैनन्। सधैं सँगै हिँडेपछि कसो मन नपग्लिएला र ? अर्कातिर रातको मौका पारेमा चुम्मासुम्मा पनि हुने। मनमनै उद्वेलित हुँदै कालेले मायाको खिचडी पकाइरहेको थियो।
हावाले बहँदैन भनेर सुख पाउँछ र ? हो, यस्तै भयौ तिमी पनि मेरो लागि। तिम्रो अनुहार मनबाट हटाऊँ भन्दा पनि रिसाइकलविनमा गएर बस्छ। अब त्यहाँबाट हटाउन मनले कहाँ दिन्छ र ?
जन्मँदै कालो अनुहार लिएका विचरो कालेको भाग्य पनि कालो रहेछ।
मञ्जुका लागि ट्युसन सुरु गरेको कालेका लागि त्यो आइडिया पनि फापेन। मञ्जुलाई सधैं छाड्नका लागि उसको दाइ सुवास आउँथ्यो। कालेको प्रेमको दाल जति सिट्ठी लगाउँदा पनि गलेन। गल्दै गलेन।
कलियुगका वाल्मीकिहरू फेरि गुन्डा भए। गाउँघर र स्कुलमा दैनिक मान्छे कुटिन थाले। काले घाइते बाघजस्तो भयो, ‘मञ्जु मेरी हो सिर्फ मेरी।’ फिल्ममा गुन्डाले संवाद बोलेझैं काले कपाल दायाँबाँया हल्लाएर बर्बराइरहन्थ्यो।
पतित आइडिया मास्टर धनेले दिल्लगी फिलिमको कथा सुनायो। ‘त्यो फिलिममा त हिरोले गुन्डासँग मार खाएपछि हिरोनीसँग भस्मै लभ पर्छ यार, तंैले पनि त्यसै गर’, कालेले पिटाइ खाने सपनाको कुरा थियो। स्कुलमा मिथक बनेको थियो, ‘कालेले हेरेको बेलामा कसैले उसलाई क्वारक्वार्ती हेर्यो भने त्यसका दुईवटा दाँतले बिदा माग्थे’, यस्तो गौरवशाली इतिहास बोकेको मान्छेले पिटाइ खानेकुरा आफैंमा विवादपूर्ण थियो। सवाल प्रेमको थियो। काले तयार भयो, ‘मञ्जुसँग लभ पर्छ भने ठीकै छ’, कालेले पिटाइ खानका लागि दस्तखत गर्यो।
राति लडाइँका सबै कथित योजना पूरा भए। कालेलाई पहिलोपटक मैले नै हान्नुपर्ने भयो। मनमनै आनन्द आयो। बिनाकारण धेरैपटक मैले पिटाइ जो खानु परेको थियो। बिहान मञ्जु गेटबाट भित्रिनेबित्तिकै केटाहरूले जिस्क्याए। मञ्जु लाजले रातो भई। हिरो स्टाइलमा काले आयो, ‘ओए किन जिस्क्याएको विचरीलाई ? ’ रिहर्सलअनुसार संवादलगत्तै मैले कालेलाई लात्ताले हानेँ। केटाहरूले पनि भकुरे, काले पिटाइको प्रवाह नगरी मञ्जुतिर हेरिरह्यो। मञ्जु कपाल हल्लाउँदै बाल नदिएर गई। ‘ओए मु..., छाड्, गई मञ्जु’, केटाहरूले विचरोको चोचो बंग्याइदिए। मञ्जुको सहानुभूतिका लागि सर्ट च्यातिएको प्रवाह नगरेर काले कक्षाकोठामा गयो। कक्षामा सर आइसक्नुभएको रहेछ। धेरैपटक कालेले मञ्जुलाई एकटकले हेरिरह्यो तर मञ्जुले हेर्दै हेरिन।
कक्षामा जिम क्लब गएको जस्तो लट्ठी बोकेर अचानक हेडसर आउनुभयो। ‘कालेलाई किन हानेको ? मञ्जुलाई किन जिस्क्याएको ? ’ जस्ता अनेक प्रश्न सरले एकै सासमा गर्नुभयो। काले दुःखाइको पीडा भुलेर खुसीले मुस्कुराइरहेको थियो। शंकरेलाई सरले केरकार गर्नुभयो। ऊ केही बोलेन। आङमा लट्ठीको चट्याङ बर्सिएपछि को चुप लागोस्, विचरो शंकरले बोल्दैन भन्दाभन्दै पनि बोल्नै पर्यो। ‘यो सबै कालेको योजना हो सर’, नबोल्नुपर्ने कुरा शंकरेले बोल्यो। उसले कमा र पूर्णविराम मात्रै छाडेर घटनाको वेलिविस्तार लगायो।
कालेको पीडामा फेरि पीडा थपियो। मञ्जुले यसपटक भने कालेलाई हेरी तर खाऊँलाझैं आँखाले। रिसै सही, कम्तीमा हेर्न त हेरी। अनेकौं पीडाका बीचमा पनि कालेको मनमा हल्का खुसी दौडियो।
शंकरले गोप्यता भंग गरेपछि ग्याङ पनि दुई भागमा बाँडियो। मैले संस्थापन पक्षलाई छाडिनँ। काले बानीले जति खराब भए पनि मनको अत्यन्त सफा मान्छे थियो। शंकरेले नयाँ ग्याङ बनायो। आफूसँगै हाम्रो ग्याङका अन्य होनहारलाई पनि उसले लग्यो।
घटना यसरी बदलिएको थियो। काले र मञ्जु आकाश र धरती भएका थिए। तर, पनि काले मञ्जुको सिउँदो रातो बनाएको सपना देख्न छाड्दैनथ्यो। अनेक उपाय गर्दा पनि आफैं फसेपछि कालेले उपाय सोच्न र अरूले भनेको सुन्न पनि छाडेको थियो। केही दिन अन्योलमै बिते।
घटनाको सात दिनपछि कालेको अनुहारमा आएको हल्का फ्रेसनेस देखेर सुझाव दिएँ, ‘चिठी लेखेर सबै कुरा लेख्ने कि ? यस्तै त हो भाग्य भन्ने कुराको भर कहाँ हुन्छ र ? ’ करिब सात मिनेट जति गहिरो सोचमा परेपछि कालेले मेरो प्रस्ताव टाउको हल्लाएर अनुमोदन गर्यो, ‘हुन्छ यार तर लेख्ने पो कसले ? ’ अन्ततः कालेले मञ्जुलाई चिठीमार्फत नै मन खोल्ने कुरा भयो। र, त्यो मैले लेख्ने निर्णय भयो।
मनकी साथी मञ्जु
तिम्रो नजरमा म सधैं नराम्रो मात्रै भएको छु। मलाई थाहा छ, तिमीले घृणा गर्ने मान्छेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा छ। तर, म के गरौं, जति गर्दा पनि तिमीलाई भुल्न सक्तिनँ। तिमीबाट टाढा हुन सक्तिनँ। सोचेको थिएँ, तिमीलाई पाउन सकिँदैन भने किन बेकारमा अनेक बहाना गर्नु तर मञ्जु हावाले बहँदैन भनेर सुख पाउँछ र ? हो, यस्तै भयौ, तिमी पनि मेरो लागि। तिम्रो अनुहार मनबाट हटाऊँभन्दा पनि रिसाइकलविनमा गएर बस्छ। अब त्यहाँबाट हटाउन मनले कहाँ दिन्छ र ?
मञ्जु, तिमीले सोचेभन्दा म बेग्लै र फरक हुनेछु। तिमी मेरी भयौ भने म तिम्रा लागि काँचो माटोजस्तो हुनेछु। तिमीलाई जस्तो मन लाग्छ मलाई त्यस्तै बनाउनु, म स्वीकार गर्नेछु। संसारमा माया नाप्ने कुनै यन्त्र बनेको भए तिमीले थाहा पाउँथ्यौ मेरो माया कति र कस्तो छ भनेर। अवश्य पनि तिम्रो मनले मेरो मन बुझ्नेछ भन्ने आशाका साथमा बिदा हुन्छु।
तिम्रो मायाले मात्रै बाँच्न सक्ने
उही काले
कालेको मनको भावना आफैंले लेखेपछि चिठी बोकेर एकाबिहानै विद्यालय गएँ। चिठी दिन मञ्जु आउँछे कि भनेर कुरिरहेँ। आउँदै आइन। स्कुलका सबै विद्यार्थी आए, मञ्जु आउँदै आइन। क्या बोर भो। कक्षामा गएको काले अनुहार थप कालो बनाएर बसेको थियो। हाम्रो बेन्च फरक थियो। म जानेबित्तिकै उसले कागजको चिर्कटो दियो, ‘मञ्जुलाई शंकरले भगायो रे बड्डा।’ मैले चिर्कटोमा थपिदिएँ,
‘बाबु तपाईंको बिहे अर्काकी स्वास्नीसँग हुन्छ’, ज्योतिष।
काले गिजा देखाएर हाँस्यो। मलाई अँगारमा हिउँको टुक्रो खसेजस्तो लाग्यो।