तराई सेन्टिमेन्टल भएको छ : प्रधानमन्त्री
जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले तराई भावनामा बगेको टिप्पणी गरेका छन्। प्रदेश २ को प्रदेशसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकताको प्रसंग उठाउँदै 'तराई सेन्टिमेन्टल भएको' बताएका हुन्।
'तराई सेन्टिमेन्टल भएको छ', प्रधानमन्त्रीले भने, 'हरेक नेपाली, नेपाली नागरिक हुन्। मैले यसअघि पनि विभिन्न ठाउँमा सार्वजनिक ठाउँमा बोलेको थिएँ। सबैले नागरिकता प्रमाणिपत्र पाउँछ।'
जन्मसिद्ध बाबुआमाका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने कानुन संसदबाट पारित हुने क्रममा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले संविधानका आधारमा कसैमाथि पनि विभेद नहुने बताए। 'हामीले कानुन मन्त्रीपरिषद्बाट संसदमा पठाइसकेका छौँ। मैले गृह मन्त्रालयलाई भनेको छु- अब जन्मसिद्धका सन्तानले नागरिकता पाउने कुरा नरोक्नू।'प्रधानमन्त्रीले बाबु वा आमामध्ये एकसँग नागरिकता छ भने सन्तानले नागरिकता पाउने बताए। त्यसका लागि संविधान बाधक रहेछ भने संशोधन गरिने बताए। 'संविधान बनाएको हो, धर्मशास्त्र होइन', प्रधानमन्त्रीले भने, 'संविधान समाजलाई बाटो देखाउने गतिशील दस्तावेज हो। यसले आजमात्र होइन, भोलिपनि बाटो देखाउनुपर्छ, आवश्यकताका आधारमा संशोधन हुन्छ।'
संविधानमा समस्या भएमा संविधान नै फाल्ने नभइ त्यसमा सुधार गर्नुपर्ने बताए। 'टर्चमा ब्याट्री सकियो भने टर्च फ्याक्ने होइन ब्याट्री फेर्ने हो', उनले भने।