महाकाली लोकमार्ग सडक अबरुद्व
दार्चुला : शुक्रबार रातिको अबिरल बर्षाका कारण महाकाली राजमार्गको गोकुलेश्वर दार्चुला सडकखन्डको ठाउँठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ तेर्छेलेक, महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु, चुने, बेत, उडै लगायत झन्डै आधा दर्जन ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको हो । तेर्छेलेकमा मेसिन लगाएर पहिरो पन्छाइएसंगै सडक सुचारु भएको सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले जानकारी दिए ।
राजमार्गको बिभिन्न स्थानमा सडकमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको छ । पहिराको कारण शनिबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका छन् ।
दार्चुलाबाट महेन्द्रनगर, धनगढी र काठमाडौं जाने बसहरु सडक अवरुद्ध भएपछि सञ्चालन हुन सकेका छैनन् । शनिबार बिहान सदरमुकामबाट बाहिरिएका सवारी साधनहरु खलंगा फर्कीएको प्रहरीले जनाएको छ ।
ठाउँठाउँमा सडक अवरुद्ध भएर छोटो दुरीका सवारी साधनहरुसमेत सञ्चालन हुन नसक्दा यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।
स्काभेटर मेसिन लगाएर सडक खुलाउँने प्रयास भइरहेको प्रहरीले जनाएको छ । गत सोमबार मालिकार्जुन ३ तेर्छेलेकमा पहिरो गएर तीनदिनसम्म सडक अबरुद्ध भएको थियो । यसैबीच राजमार्ग अन्तरगत बिभिन्न खोलाहरुमा पानीको सतह बढेर हिडडुल गर्न समेत समस्या भएको यात्रु भागरथी सामन्त्ले बताए ।