कालचक्र

कालचक्र

एक घण्टा पाँच मिनेटदेखि म यो कोठामा एक्लै छु । कसैको प्रभाव प्रयोग गरेर मलाई रोकिएको छ । घण्टा र पाँच मिनेट भनेको थोरै समय होइन । यतिबेला सम्ममा त संसारमा थुप्रै मान्छेले आत्महत्या गरिसक्छन् र ती सबैको सनाखत भइसक्छ ।

आत्महत्या गर्ने नै हो भने के बेर लाग्छ र ? एउटा मसिनो डोरीलाई सुर्कने पार्न कति नै समय लाग्छ ? यही साल भनेर यकिन नभए पनि पोहोर या परार साल एउटा हट्टाकट्टा लाहुरे दिउँसो ११ बजे गोकर्णमा देखिएको थियो ।

११ः३० बजे पशुपतिको जंगलको बीचमा कसैले उसलाई झुन्डिइरहेको भेट्टायो । त्यसपछि पशुपतिको जंगलमा झुन्डिएर मरेको सूचना सरकारलाई दिन अलिकति पनि समय लागेन । मानिसको जीवन सकिन केही बेर पनि लागेन । १२ः३० सम्म उसको परिचय पनि खुलिसकेको थियो । तर आत्महत्या, त्यो उसले किन ग¥यो ? यो कसैले थाहा पाउन सकेको थिएन ।

उचाइमा चार तला उक्लिएको घरकोे दोस्रो तलामा छु म । मलाई घर साँघुरो लाग्दैन र घरका कोठाहरू फराकिलो पनि लाग्दैन । यसमा न कुनै सजावट छ ! न शृंगार ! यस्तो लाग्छ, योभन्दा त पशुपतिनाथको मन्दिर छेउकी चिया पसल्नी मोहिनीको चिया पसलको कोठा धेरै राम्रो छ ।

कानन कौशल, मधुवाला, आशा पारेख, साधना र वैजयन्ती माला । ‘खोइ किन हो । यसमा नेपाली हिरोनीको तस्बिरचाहिँ छैन’, भन्छे मोहिनी । ऊ यिनै तस्बिरको आड र भरोसामा बाँचेकी छ । अभिनेत्रीहरूको तस्बिरको लहरमा उसको पोइको पनि तस्बिर छ । कुनै समय फिल्म इन्डस्ट्रिजको हेड ड्राइभर थियो, उसको पोइ । अहिले छैन । केही समय अघिसम्म ऊ मोहिनीको लोग्ने थियो, आज छैन ।

म अहिले जुन कोठामा छु, यो तीन खण्डमा बाँडिएको छ । यसको पहिलो खण्डमा एउटा सानो खालको टेबुल छ । रेमिंगटन कम्पनीले बनाएको एउटा थोत्रो टाइपराइटर छ । कार्बन पेपरका केही प्रतिहरू भुइँमा छरिएका छन् ।

कोठाको दोस्रो खण्डमा जुन टेबल राखिएको छ, त्यो मझौला खालको छ, त्यसमा एउटा मान्छे बडो दत्तचित्त भएर पढेजस्तै गरी कागजमाथि घोप्टिएको छ । एक घण्टा पाँच, दस, पन्ध्र मिनेट भइसक्यो, उसले टाउको उठाएको छैन । ऊ निदाइसकेको हुनुपर्छ । त्यसको मलाई खासै चासो छैन ।

यो अन्तिम अथवा तेस्रो खण्डमा एउटा ठूलो टेबुल छ । अहिले यो टेबुलमा बस्ने मान्छे आइपुगेको छैन । मलाई उसैसँग भेट्नु छ । यसरी घरको प्रत्येक तलामा खण्ड छुट्टिए पनि, कोठालाई बाँड्ने कुनै बार अथवा कठबार छैन । यो एकछत्त छ ! एकदमै एकछत्त ! यो जुन तेस्रो टेबुल छ, यसको अगाडि लहरै मेच राखिएका छन् । सबैभन्दा अन्तिम लहरमा बेन्च राखिएको छ ।

तेस्रो टेबुलमा एउटा ह्विलिङ चियर छ । यसको दायाँ भागको एउटा दराजमा पुस्तक छन । बायाँ भागमा कालो टेलिफोन राखिएको छ । टेबुल रित्तो छ । एउटा पिनको बट्टा पनि छैन । त्यो नभएकाले पनि मेरो यहाँको बसाइ अझ कष्टदायी भएको हो ।

बीचको टेबुलमा कागजमाथि घोप्टेर बसेको मान्छेसँग कुरा गर्ने मेरो चाहना छैन । यस्तो अवस्थामा दाँत कोट्याउनु समय बिताउने अर्को विकल्प हुन सक्छ । तर, टेबलमा पिन छैन । खल्तीमा सिन्का छैन । मोहिनीको कोठा यस्तो छैन । जुन दिन उसको पोइ हेड ड्राइभर मरेको थियो, त्यस दिन पनि मोहिनीको कोठामा टन्नै ग्राहक थिए । उसको जेठो छोरो, जसले उसलाई आमा भनेर कहिल्यै बोलाएन, उसले आएर सुटुक्क भनेको थियो, ‘दिदी, बा अस्पतालमा छन् अरे ।

रक्सी खाँदा खाँदै अस्पतालमा लगेको रे ।’ मोहिनीले त्यति बेला विषादरहित बोलेकी थिई, ‘मर्न दे’, र, आफ्नो काममा लागेकी थिई । वास्तवमा त्यसै साँझ हेड ड्राइभर मरेको थियो ।

हेड ड्राइभर मरेको दुई चार दिनपछि घरमा एउटा देख्दै घिनलाग्दो आकृति भएको मानिस मोहिनीको पोइ बनेर आयो, दोस्रो पोइ । त्यसपछि मोहिनीका पोइहरू खै कति जना आए, कति गए, त्यो कसैलाई थाहा छैन । मोहिनी भन्छे, ‘पोइ मेरो शरीरका लागि चाहिएको होइन, यो ठाउँको सुरक्षाका लागि चाहिएको हो । लोग्नेमान्छे भएको घरमा हम्मेसी पुलिस पसिहाल्दैन । पसे पनि ऊसँगको सम्बन्ध सुमधुर हुन्छ । कसैले होहल्ला र लुटपिट गर्ने आँट गर्दैन ।’

मोहिनीको त्यो अपरिवर्तनीय कोठामा उसका आफ्नै तस्बिरहरू टाँगिएका छन् । त्यसपछि फिल्म स्टार, सती सावित्री, सत्य साई, जय सन्तोषी माँ, सिरडी साइबाबा र अरू अखबारका थुप्रै कटिङ टाँसिएका छन् । सामान्यतः यस चिया कोठाको आयतन साह्रै कम छ । कहिलेकाहीँ मोहिनीको च्यालेन्ज स्वीकार गरेर युवकहरू भित्रिने कोठा त योभन्दा पनि साँघुरो छ, धुवाँको रङले भित्ता कालो भइसकेको ।

पानी दर्केका बेला भिजेर हिँड्ने युवतीहरूको शरीरमा टाँसिएको पारदर्शी कपडा हेरेर सुख लिन म सक्दिनँ । एउटा निश्चित अठोट बोकेर म आफ्नो घर फर्कन्छु, जहाँ त्रासदी सधै‌ मलाई पर्खेर बसेको हुन्छ । जहाँ कालो सर्पले सपनामा सधैंसधै‌ मलाई डस्न खोज्छ ।

एक पाइला टेक्न धर्ती, एक गाँस खान अन्न र आङ छोप्न एकसरो कपडा, सायद मान्छेको सबैभन्दा ठूलो आवश्यकता यत्ति नै हो । सबैलाई थाहा भएकै कुरा हो, मान्छे आफैं पनि विरोधाभाष हो !

म कुनै वृत्तमा छैन, मेरो कुनै घर छैन, कुनै परिवार छैन र बाँच्ने समय पनि मेरो आफ्नो छैन । म सम्पूर्ण सन्दर्भहरूबाट मुक्त छु यस बेला । मलाई चौपट्टै न्यास्रो लागेको छ । यो चौकोर शून्यमा म आफ्नो हातगोडा फैलाउँदै छु । थाहा पाएको छु, तमाम सन्दर्भहरूले मलाई जीवनदेखि संत्रस्त मानिस ठहर्याएको छ ।

मृत्युको अनुभूति मात्रै पनि मेरा लागि सुखद भइरहेको छ । हरेक विषयले मलाई वाक्क दिक्क पारेका छन् । बितेका घटनालाई मैले आफ्नो सहज चेतनाको विस्फोट भनेर मीठो स्वाद भोगेको थिएँ तर त्यसबारेको चेतनशून्य र तीतो वातावरणले मलाई डाँको छोडेर रुने तुल्याएका छन् । मेरा सारा भ्रमबाट म मुक्त छु । म समयलाई कोट्याउन खोज्छु, समय सायद महाशून्य हो । यो अहिले म बाँचेको समय त झन् ठूलो शून्य हो ।

उमेरका अधिकांश दिन बितिसकेपछि बाँकी केही रहँदैन । जीवन थाक्दैमा बितिहाल्ने पनि के हुँदो रहेछ र ? आजबाट प्रारम्भ भएको विखण्डन र विस्थापनमा हिजोका ती दिन हराउनेछन् । म आफैंसँग प्रश्न गर्न सक्दिनँ, मलाई कहाली लागेर आउँछ । हुन सक्छ भने म कुनै यस्तो अचुम्बकीय क्षेत्रमा रहूँ, जहाँ उभिन वरपर, यताउताको कुनै आधार चाहिँदैन ।

मोहिनी, अष्टमंगल, वकिल, नीलु, दुर्गी, ईश्वरी र म । म ती तमाम मानिसका आँखाहरू सम्झन्छु, ती आँखा जो जो सँग मैले दुई मिनेट गफ गरेको छु, चिया पिएको छु, अथवा मात्तिएको छु । नशाका उन्मादहरूपछि पनि जो मेरो स्मृतिमा जीवन्त छन् ।

मैले कति अन्धकार प्रश्नको जवाफ दिन सकेको छैन । जस्तो कि एउटा हातले ठर्राको गिलास उठाएर, अर्को हातको मुड्की उज्याएर गरिने राजनीति र त्यसको व्याख्यान; न्याय–अन्याय, क्रमको निर्माण र क्रमहीनता । माक्र्स, हेगल, लेनिन, नित्से । मसँग यी कुनैको पनि जवाफ छैन । नशाले मातेका अनुहारहरूमा देखा पर्ने पीडाको मुखुण्डो कति सार्थक र सक्कली हुन्थ्यो, मलाई थाहा छैन ।

तथाकथित राजनीतिका सक्रिय कार्यकर्ताहरूले देश, गाउँ र सामान्य जीवनको मैलो र फाटेको राष्ट्रिय कपडालाई कति सुकिलो र महँगो बनाएर पहिरेका छन्, म त्यसको पनि लेखाजोखा गर्न तयार छैन ।

हो, यति नै बेला, म अनेक श्रीमान्हरू सम्झिन्छु । सम्झनाले मेरो सर्वांग घिनको हिलोमा पछारिन्छ । सम्झना त्यस्तो घाउ हुन सक्छ, जुन बाहिरबाट निको भएको देखिन्छ । भित्रभित्रै पाकेर पछि संगीन पल्टिन सक्छ ।

म साँझ बितेको बहुमूल्य साढे तीन घन्टा सम्झिन्छु । घरमा पस्नेबित्तिकै निथ्रुक्क भिजेको कपडा फुकालेर निचोर्छु । एउटा छाता किन्न कहिल्यै सकिएको होइन । म वकिल सम्झन्छु, जोे सनक चढेका बेला दस रुपियाँको कडक नोट बालेर चुरोट सल्काउँथ्यो ।

हो त, हेड ड्राइभर पनि यस्तै सन्की थियो । भोक लागेकाहरूलाई पेटभर दहीच्यूरा ख्वाएपछि, जब उसको जयजयकारले पशुपतिको ढोकामा निश्चित प्रतिध्वनि उत्पन्न हुन्थ्यो, त्यस बेला आफ्नो लठ्ठिएको जिब्रोले ऊ सम्पूर्ण इमानदार शब्द उद्घोष गथ्र्यो, ‘ए पाजी हो, के भनेको त्यस्तो ? सरकारको जय मनाउ, सरकारको ! सस्तो दरको सरकारी पेट्रोल साविक दरमा नबेचेको भए म मोरो भाग्यहारा नै रहन्थेँ । तिमीहरूका बाबुले पनि दहीच्यूरा सुँघ्न पाउँदैनथ्यो, बुझ्यौ ? ’

थाकेको शरीरलाई ओछ्यानमा फ्याँकेर म निदाउने प्रयास गर्छु । प्रयास मात्र हो, अनिद्राले केही दिनयता ग्रस्त पारेर राखेको छ । यो कोठामा एकदमै मुस्किलले रात बित्छ । जिन्दगी अनावश्यक नांगो र अपवित्र बोझ जस्तो लाग्छ । कति उचाल्ने बोझको भारी ।

विचारले थकित मस्तिष्क एकछिन आँखासँगै झपकिन्छन्, त्यसपछि दिन हुन्छ ः होइन बिहान हुन्छ । खण्डित समय भोग्ने मान्छेको यो प्रचलनले बिहान दिन र साँझ बनाएको छ । ओहो, तस्बिरमा मान्छे कति राम्रो देखिन्छ । तस्बिरमा मान्छे साँच्चै अप्रतीम देखिन्छ । एकनासको उरन्ठेउलो दिन बित्छ । झमझम झम्केर पानी पर्छ । नील काँडाका घारीहरूलाई छिचोलेर हिँड्नु असाध्यै दुरूह बन्छ । साँझ पर्ने बेलामा पश्चिमतिर बादल डढेर पहेंलो हुन्छ । एकैछिनपछि बादल फाट्छ । साँझको घाम चारैतिर छितरिन्छ । घामको किरण झ्यालढोकाहरूको प्वाल र चिराबाट कोठामा छिरेर भित्तालाई बुट्टे पर्दाजस्तो बनाइदिन्छ । म सहरको थकाइमा सामेल हुन्छु ।

‘के छ ? ’ कसैको आवाजले झस्किन्छु । टाउको फर्काएर हेर्छु । ‘थाहा पायौ, बुढिया मरिछन्’ मेरो लागि ऊ खबर दिन्छ । मलाई एकैपल्ट बिजुलीको नांगो तारमा हात राखेझैं हुन्छ । तर, मन बुझाउँछु । ढिलोचाँडो मर्नु त थियो नै, मरिन् । मैले के गर्न सक्छु ? बुढियाले कहिल्यै सुख पाउन सकिनन् । उनको छोरो उत्तम हाम्रो साथी थियो । आमाचाहिँ आँखाभरि आँसु भरेर मूक टोल्हाएकी थिइन् । आँसु स्वीकृति, अस्वीकृति, कुन्नि के थियो !

आठ महिनासम्म उत्तम फर्केन, न उसको चिठी आयो । अब उसको चिठी आए पनि वा ऊ आफैं फर्के पनि त्यसको अर्थ रहने छैन । अस्ति बुढियालाई उत्पात ज्वरो आएको थियो । त्यसैले पनि हिजो म वकिलसँग परामर्श गर्न गएको थिएँ कि बुढियाका लागि केही गर्न सकूँ । मैले केही गर्न पाउनुभन्दा अघि नै उनी बितिन् । बुढियालाई अस्पताल लगेर भर्नासम्म गरिदिएको हुँ । बुढिया मरिन्, सायद उनको लास अस्पतालमा नै छ अथवा अस्पतालबाट घाटमा पुगिसक्यो ।

उत्तम पनि सायद मरिसक्यो; ब्रिटिस सेनामा भर्ती भएको गोर्खा बटालियनको सिपाही आयरल्यान्डको दंगामा म¥यो कि अथवा भर्ती नै हुन नपाई म¥यो ? ऊ जीवित भए पक्कै चिठी लेख्दो हो । सम्भवतः उत्तम अझै जीवित छ र खल्तीमा हवाईपत्र किन्ने पन्ध्र पैसासम्म नभएर चिठी लेख्न पाएको छैन । अथवा फस्र्ट डिभिजनमा बीए पास भएको उत्तम भैरहवाको कुनै थकाल्नीको होटेलमा वेटर भएको छ ।

मैले लास छोपेको कात्रो पल्टाएर हेरिनँ । यसै पनि मलाई मात्र होइन, कसैलाई पनि लास हेर्नु राम्रो लाग्दैन । मैले बुढियाको चाउरी परेको अनुहार हेरेर केही चमत्कार हुने पनि होइन । म एकैछिन त्यहाँ उभिएर सोच्न थालँे । तर के सोच्दैछु, त्यो म आफैंलाई थाहा थिएन । मेरो सट्टामा उत्तम भएको भए के सोच्थ्यो ? मान्छेको बारेमा केही पनि सोच्न सकिँदैन । बाँचुन्जेल पनि र मरेपछि पनि ।

ग्यालरीबाट दुई नर्सहरू निक्लेर आएपछि म पलङको छेउबाट हटेर अलि पर उभिएँ । कतै यस्तो नहोस् कि, तिनीहरूले बुढियाको संरक्षक मलाई ठानून् र यो लास मेरो हिस्सा लागोस् ।

म चाहेर पनि यस्तो होस् भनेर सोच्न सक्दिन थिएँ । मेरो खल्तीमा चार पैसा थिएन । यो वर्षातमा, यो महँगीमा एउटा लास मसानसम्म बोकाउनु र पोल्नु लगाउनु म जस्तो बेरोजगार, लम्फु र फन्तुसका लागि सम्भव नै थिएन । भाग्य नै मानौं, ती नर्सहरूले न मतिर हेरे, न त बुढियातिर नै कुनै ध्यान दिन सके । तिनीहरू सायद मायाप्रेमका कुरा गर्दै थिए; यौवनको उभारमा रहेका तरुनी नर्सहरूले गर्न सक्ने कुरा त्यही हो ।

म त्यहाँ धेरै बेर उभिइनँ । मलाई रिंगटा छुटेर आयो । म फर्कें । अब अस्पतालका अधिकारीहरूकै काम हो कि उनीहरू यो लासलाई फ्याँकून्, पोलून् या राखून् । सायद डाक्टरहरूले डेथ सर्टिफिकेट लेख्न बिर्सेको हो अथवा जाँच्नै बिर्सिएको हो ।

त्यसो हो भने पनि भरे राउन्डमा आएर जाँचोस्, स्टेथेस्कोप लगाएर र लेखोस्, ‘एडमिटेड, इन हस्पिटल आफ्टर डेथ’, डाक्टरलाई त्यति फुर्सद होला नहोला । अस्पतालको महँगो क्याबिनका बिरामी बरन्डामा लडाइएका र जनरल वार्डमा राखिएका बिरामीभन्दा ज्यादा महŒवपूर्ण हुन्छन् । क्याबिनका बिरामीको राम्ररी उपचार गर्न सकियो भने अस्पतालबाट घर गएपछि पनि उनीहरूले फेमिली डाक्टर बनाउने सम्भावना शतप्रतिशत रहन्छ । जेसुकै होस् । म फर्कें ।

‘तर तैले र मैले मात्रैले यति बेला लास उठाउनु सम्भव छ र ? ’ म सोध्छु । सायद यो दायित्वबाट म पन्छिन खोजिरहेकोे छु । ‘होइन अरूलाई पनि बोलाएको छु । अस्पतालले लास उठाउनु भनेर चौरमा लडाइराखेको छ’, उसले भन्यो ।

‘लाससँग हाम्रो सम्बन्ध थियो भनेर कसले भन्यो र ? ’

‘म हेर्न जाँदा मसँग सोधेका थिए; मैले विचार गरँे, उत्तमकी आमा आफ्नै आमा जस्तो त हो ।’ रामबहादुर बनमान्छे होइन । दायित्व काँध थापेर आएछ । रिन जुटाएछ । मेरो लागि ‘नाइँ’ भन्ने बाटो थिएन । रामबहादुर र म अस्पतालमा पुग्दा विजय, रामेश्वर र हरिचा लासको छेउमा उभिइरहेका थिए ।

हामीमध्ये लासलाई एउटै बाँसमा बेर्न जान्ने पनि कोही थिएन । जसरी पनि हामीले लास उचाल्याै‌ । आलोपालो गरेर मसानघाट पु¥यायौं । बिना कुनै वैदिक विधान लास आगोलाई सुम्पिदियौ । उत्तमकी आमा बल्दै गर्दा हरिचा रोयो । उसले आफ्नी आमालाई यसैगरी पोलेको एक वर्ष पनि त भएको थिएन ।

हामी मसानघाटबाट फर्कंदा राति २ बजिसकेको थियो । पानी छिट्याउन थालेको थियो । हरिचाले भन्यो, ‘तिमीहरू मैकहाँ बस । अलिअलि ‘वासा’ खाऊँला’, हामी कसैले नाइँ भनेनौं । म त अझै नाइँ भन्न सक्ने स्थितिमा नै थिइनँ । मनमा लास, धुवाँ, राँको र सम्झना के–के नै आइरहेको थियो; यद्यपि मेरा बाबु मरिसके, आमा मरिसकिन्, तर पनि मसानमा आधा रातसम्म बसेको थिइनँ ।

जहाँसम्म मेरो कुरा छ, मेरो आफ्नो सम्बन्धमा असाधारण भनेर देखाउन मसँग केही पनि छैन । म जन्मेको बेला पुष्पवृष्टि भएको थिएन । मेघको गर्जन वा शंख घन्टको निनाद पनि सुनिएको थिएन । म पहाडमा जन्मेको हुँ, सहरका मान्छेहरूको कल्पनामा पहाड भन्नेबित्तिकै मृग नाच्ने उपवन, गुराँस, झरना र मन्द पवनका दृश्य आँखाका अगाडि आउँछन् । तर, म जन्मेको ठाउँमा गुराँस, उपवन र झरना केही थिएन ।

पानीसमेत पेटभरि पिउन मुस्किल पर्ने त्यस ठाउँमा अहिले पनि केही छैन । मानिसहरू लँगौटी र दौराजस्तो लामो भोटो लगाउँछन् । आइमाईहरू चोलो लगाउँदैनन् । एउटै फरियाले पूरै शरीर छोपेर हिँड्छन् । यो नेपाल हेर्न आउने पर्यटकलाई देखाउन आयोजना गरिएको पारम्परिक प्रचलन होइन । साहूलाई ब्याज बुझाउँदा बुझाउँदै मेरो गाउँका मानिसहरूसँग स्वास्नीको छाती छोप्ने कपडा किन्ने पैसासमेत जोगिँदैन । त्यसैले यो आफैं प्रचलन बनेको छ ।

एक रात विस्तारै म घरबाट निस्किएँ । बाटो थिएन, अन्धकार थियो; सबै अर्थमा । त्यसै रात म स्कुलको एउटा साथीकहाँ पुगे । उसको नाम भीमचरण थियो; उमेरले मभन्दा निकै पाको । ऊ झन्डै बीस वर्षको देहाती केटो थियो भने म भर्खर १० नाघ्न खोजेको थिएँ । भीमचरण कम्युनिस्ट विचारले रञ्जित टाइपको मान्छे थियो । त्यस बेला उसले गरेका कुराहरू सम्झदा म अहिले ठम्याउन सक्ने भएको छु

। ऊसँग धेरैजसो केटाहरू टाढा हुन्थे । मान्छे साह्रो थियो । तर, मद्दत सबैलाई गथ्र्यो । भीमचरण आधा रातमा मलाई देखेर छक्क प¥यो । मैले उसलाई अलिकति झुट र अलिकति सत्य कुरा बताएँ । त्यतिखेर उसले मलाई आ श्रय दियो । तर, एक रात उसले मलाई आक्रमण ग¥यो । आवेशमा मलाई अँगाल्यो र आफ्नी स्वास्नीलाई झैं चपाउन खोज्यो । मैले उसलाई थुकिदिएँ । उसले भोलिपल्ट आफ्नो सम्पूर्ण कम्युनिस्ट सेन्टिमेन्टसहित मलाई बर्खास्त ग¥यो ।

म मान्छे बन्न नसकेकोमा घरपरिवारका सदस्यहरू चिन्तित थिए । कतिका इच्छालाई लथालिंग पारेर म अविवाहित थिएँ । यो विश्वमा मान्छेको रगत नचुसी कोही पनि मान्छे बनिँदैन रे ! मलाई मान्छेको रगत चुस्नु छैन । ती मान्छे जसको शरीरको रगत राणाहरूले, अनेक खडेहरूले, सत्तापिपासु नेताहरूले, राष्ट्रवादीहरूले, कम्युनिस्टहरूले निथारेर चुसिसकेका छन् । यो नितान्त घृणाको कुरा हो मेरा लागि । म आफैं पनि त रगत चुसिइसकेको मान्छे हुँ ।

उत्तमकी आमालाई भष्म पारेर फर्केपछि हरिचाको घरमा बसेर हामी रक्सी पिइरहेका थियौं । यही अवस्थामा मैले नचिकेताले यमसँग मृत्यु र जीवनको यथार्थ जान्न चाहेजस्तै गरी जान्न खोजँे । यताको लागि न उताको लागि; अन्त्य आखिर खरानी नै हो भने चिन्ता गर्नु बेकार छ ।

हरिचा रामबहादुरसँग आफ्नी आमाको कुरा गरिरहेको थियो; यो सृष्टि, घरबार र खान पुग्ने सम्पत्ति सबै आमाको कृपा हो । ऊ रक्सी पिएर बढ्तै भावुक भएको हुन सक्छ । तर पनि भावुकता, हरिचाको सम्बन्धमा यो प्रख्यात कुरा हो । उसकी आमा तीनपटक पोइल गएर पनि पहिलो पोइको घर र पहिलो पोइबाट जन्मेको छोरालाई त्याग्न नसकेर फर्किएकी थिइन् । हरिचा आमाप्रति कृतज्ञ छ ।

अनौठो र परिकल्पित, वाक्क–दिक्क पार्ने फुंग उडेको डाँडामा एक दिन बाहुन रुद्रेले मसँग भनेको थियो, ‘सुत्न त कहाँ र मैले आफ्नी भाउजूलाई छोएको पनि थिइनँ । बरु एक दिन साइँला काजीसँग भाउजू लहसिएको जस्तो लागेर, धर्म डिगाउलिन् भनेर दाइलाई चैतन्यसम्म दिएको हुँ । काजी साइँलाले फसायो बाबु मलाई ।’

समय पलपल गुज्रिरहेको छ । आफ्नो छाक टरेकोमा म त्यति प्रसन्न भइनँ, जति रुद्रे आफ्नो भात चलेकोमा प्रसन्न थियो । उसको यो प्रसन्नता क्षणिक थियो, किनभने एक त म जात नफालेकोमा शंका गर्ने कुनै ठाउँ भएको मान्छे थिइनँ ।

अर्को, म रुद्रेको भात चलाउन योग्य मान्छे पनि थिइनँ । किनभने म गाउँको हाकिम थिइनँ । अगि भए थरी, मुखिया र अहिलेका हकमा सरकारले भनेर जनताले चुनेका मानिस त्यस कामका अधिष्ठाता हुन् ।

मैले रुद्रेलाई सम्झाएँ, ‘जात, भात भनेको केही होइन ।’

उसले मानेन ।

मैले रुद्रेलाई सम्झाएँ, ‘मैले उसले पकाएको खाँदैमा सबैले उसले पकाएको भात खाँदैनन् ।’

तर उसले आफ्नो पितामहको, गुरु बाको सन्तानमाथि फोगटको विश्वास डिगाउन चाहेन ।

विचार मात्रैले के हुन्छ ? सोचाइ मात्रैले के हुन्छ ? आज उत्तमकी आमा छैनन् । उत्तम छैन । सन्तान मात्रैले के हुन्छ ? एक पाइला टेक्न धर्ती, एक गाँस खान अन्न र आङ छोप्न एकसरो कपडा— सायद मान्छेको सबैभन्दा ठूलो आवश्यकता यत्ति नै हो । सबैलाई थाहा भएकै कुरा हो, मान्छे आफैं पनि विरोधाभाष हो !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.