हरियो उपभोक्तावाद
साउने झरीले ल्याउने प्राकृतिक हरियोपनसँगै केही वर्षयता हरियो, पहेँलो चुरा र कपडाले छपक्क ढाकिने गरेको छ, सहर । यो सहरमामात्र सीमित नभई गाउँघरतिर पनि फैलिसकेको छ ।
कक्षा १० र ७ मा पढ्ने भदैनीहरू साउनको पहिलो साता धादिङबाट काठमाडाैं आएका थिए । यसपटक यी केटीहरू देखेर म निकै छक्क परेँ । कारण थियो उनीहरूको नाडीभरिको हरियो पहेँलो चुरा ।
उनीहरूले गाउँबाट डेढघन्टाको उकालो उक्लेर भन्ज्याङपोखरी बजारमा गई चुरा र हत्केलाभरि मेहेन्दी लगाएका रहेछन् । बजारले कसरी सबैतिर आफ्नो उपस्थिति कायम गरिसकेको छ, यो एक उदाहरण हो । हाम्रा गाउँघर कुनाकानी सबैतिर छिचोल्न भ्याइसकेको छ हरियो उपभोक्तावाद ।
बजार रुचि
भारतीय लेखक शम्भुनाथ भन्छन्, ‘मुखुण्डोको संसार हो उपभोक्तावाद ।’ उनले भने जस्तै बाहिर एउटा देखिन्छ तर भित्र त्यसको लक्ष्य अर्कै हुन्छ । हरियो चुराकै सन्दर्भ यही छलपूर्ण बजारको उपज हो ।
र हाम्रो समाजमा घुसेको पुँजीवादको पछिल्लो अवतार । हरियो कपडा र चुरा पछिल्ला केही वर्ष यता साउने फेसन भएको छ । तर त्यसैसँग गाँसिएर आउँछ बजार, पुँजी, र उपभोक्तावाद जसले महिलालाई साउनमा हरियो लगाउन बाध्य बनाउँदै छ ।
शम्भुनाथकै विचारमा, उपभोक्तावादले मस्तिष्कको स्वतन्त्रतालाई चिडियाखानामा राखेर वास्तवमा दासतालाई नै किसिम किसिमले लेटेस्ट फेसन बनाइदिएको छ । जो सही सावित भइसकेको छ, हाम्रै समाजमा पनि । उपभोक्ताको स्वतन्त्रता अब कैद छ बजारमा ।
ऊ आफ्नो रुचिले भन्दा बढी बजारले निर्देशित हुन्छ । बजारका सामु आम मानिसको स्वतन्त्रा निकै निरीह बन्दै गएको छ यतिखेर । सहरैभरि फैलिने हरियो साउने फेसन यसैको एक सग्लो उदाहरण हो ।
बजारतन्त्र मानिसको मस्तिष्कमा पसिसकेको छ । केही समय अघिमात्र नेपाली बजार विश्वकपमा भाग लिएका फुटबल क्लबका जर्सीहरूले भरिभराउ भएको थियो । नाबालकदेखि अधबैंसेहरूसम्म कुनै न कुनै जर्सीमा सजिएका तस्बिरले फेसबुकको भित्तो छपक्कै भरिएको थियो ।
केहीसमय त्यो फुटबलको फेसबुके उन्माद गजबको रह्यो । तर त्यसका पछि निश्चय नै बजारले निर्माण गरिदिएको रुचिको हात थियो । ठीक समयमा दाउ मार्नु नै बजारको धर्म हो । विश्वकप २०१८ को अवसरमा नेपाली बजारमा पनि उही दाउ मार्यो पुँजीवादले ।
महिलाहरू स्वतन्त्रताका कुरा जोडले उठाइरहेका छन् एकातिर भने अर्कोतिर पत्तै नपाई पुँजीवादको चंगुलमा परिरहेका छन् ।
यस्तो उपभोक्ता मानसिकता तयार भयो कि कुनै क्लबको जर्सी नलगाए त त्यो फुटबलको तातो माहोलमा आफू त्यसै बिलाइने सम्भावना थियो त्यस बखत । त्यसैले पनि मानिसहरू आफ्नो उपस्थितिको लागि तँछाडमछाड गर्दै नाबालक केटाकेटीलाई धरी जर्र्सी लगाइदिँदै थिए ।
त्यो बजारको सफलता थियो । किनकि कुनै वस्तुको निम्ति उपभोक्तामा आतुरता सिर्जना गर्नु बजारको ध्याउन्न हुन्छ । क्षणिक खुसीमा फुलेल नेपालीहरूले पत्तै पाएनन्, एकमहिने फुटबलमेलाले हाम्रो कति पैसा लुटेर लग्यो ।
साउनसँगै नयाँ फेसन बजारमा सक्रिय छ । त्यसमा विशेषत महिलाहरू नै अगाडि देखिन्छन् । यस महिनामा गरिने व्रत, तीर्थ धार्मिक आस्था या महत्व आफ्ना ठाउँमा होलान् तर बडो डरलाग्दो गरी फिँजिएको छ साउने बजारको मानसिकता ।
मेरै भदैनीका उमेरका किशोरीहरूको कलिलो दिमागमा भरिदिसकेको छ बजारले साउनसँगको हरियो पहिरन र चुरा लगाउनै पर्ने एक भ्रमपूर्ण मानसिकता । साथीहरूसँगको बजार डुलाई, रंगीचंगी पहिरन, हातको रङयाई आदिले साउन उनीहरूका लागि निकै प्रतीक्षाको समय हुनेछ ।
अर्को वर्ष पनि उनीहरू उसैगरी केही घन्टा हिँडेरै बजार पुग्ने निश्चित छ । देख्दै गर्दै आएकाले साउनको हरियो बजार केही समयमा नै सत्य झैं भइसकेको छ । तर उपभोक्तावादसँग जोडिएको पुँजीवादको छोपिएको रूप भने निकै डरलाग्दो छ । जसलाई सामान्य उपभोक्ताले कहिल्यै मेसै पाउँदैनन् ।
उनीहरूको मस्तिष्कमा आफ्नो ठाउँ बनाएका नाफाखोर कम्पनीहरूको ध्याउन्न भन्नु मात्र आफ्नो साम्राज्यको विस्तार र नाफा । यो सामान्य जस्तो लाग्ने हरियो चुरासँगै नेपालबाट बाहिरिने मोटो रकमले फेरि पनि बर्सेनि थपिँदै गरेको ठूलो व्यापार घाटामा नै टेवा दिनेछ ।
महिला र बजार
महिलाको स्वतन्त्रता, परिवार र निजी सम्पत्तिको अवधारणा आएपछि समाज सामन्तवादतिर अघि बढेसँगै खोसिँदै गयो । कालान्तरमा उनीहरू दोस्रो दर्जाका बन्न पुगे । त्यही बनावटी र छलपूर्ण कुरा नै सत्य भइरह्यो । आज आफ्नो गुमेको स्वतन्त्रता र अस्तित्वको लडाइँ लडिरहेका छन् महिलाहरू ।
तर महिला स्वतन्त्रताको लडाइँमा भाँजो हाल्न लागिपरेका छन् यतिखेर बजार र नाफाखोर बहुराष्ट्रिय कम्पनीहरू । भारतीय लेखक कात्यायनीको विचारमा बजारतन्त्रले महिलाको वास्तविक छविलाई ढाकेर उपभोक्ता सामग्री, कमोडिटीको रूपमा उभ्याएको छ । उनीहरूलाई ब्रान्डले प्रतिस्थापन गरिदिएको छ ।
पुँजीवादले पुरातन प्रतिक्रियावादी मूल्यलाई नै अपनाइरह्यो जसले समाजलाई चरम निरंकुश उपभोक्तावादी संस्कृतितिर धकेलिदियो । अब महिलाहरू घरेलु गुलाम हुनुका साथै उपभोक्तावादी संस्कृतिको मारमा पर्दै गएका छन् ।
नेपाली समाजमा बेलाबेला फैलिने मौसमी हरियो रातो फेसनले महिलामा रोपिएको उपभोक्तावादलाई संकेत गर्छ जो आज संस्कृति नै भएको छ । महिलाहरू स्वतन्त्रताका कुरा जोडले उठाइरहेका छन् एकातिर भने अर्कोतिर पत्तै नपाई पुँजीवादको चंगुलमा परिरहेका छन् । कसरी सम्भव हुन सक्छ बजार निर्मित जालोको जकडाई र स्वतन्त्रताको कुरा एकै पटक ?
महिलाको स्वतन्त्रतामाथिको पछिल्लो प्रहारको रूपमा उदाएको छ फ्यासन र सौन्दर्य प्रशाेधन बहुराष्ट्रिय कम्पनी । महिलाहरू ब्रान्डसँग जोडिँदै गर्दा उनीहरूको वास्तविक देहको वस्तुकरण भइरहेको छ । महिलाको सौन्दर्य र शरीरसँग जोडिएको छ विश्वबजार ।
बजारले निर्धारण गरिदिन्छ महिलाको सौन्दर्यरुचि र सुरु हुन्छ बजारको नियन्त्रण साथै महिलामाथिको शोषणको अर्को शृंखला । सन् साठीकै दशकमा अमेरिकी कम्युनिस्ट महिला अधिकार अभियन्ता एब्लिन रिडले औंल्याइसकेकी थिइन् महिलामाथिको बजार शोषणबारे ।
उनले भनेकी थिइन्, ‘पुँजीवाद विकसित हुँदै गएपछि उत्पादक यन्त्रको व्यापक विस्तारसँगसँगै बजारको आवश्यकता जन्मियो । स्वास्नी मानिसहरू जनसंख्याको आधा नै भएकाले नाफाखोरहरूले नारी सौन्दर्यको शोषण गर्न थाले ।’
तर महिला स्वतन्त्रताको लडाइँमा भाँजो हाल्न लागिपरेका छन् यतिखेर बजार र नाफाखोर बहुराष्ट्रिय कम्पनीहरू । भारतीय लेखक कात्यायनीको विचारमा बजारतन्त्रले महिलाको वास्तविक छविलाई ढाकेर उपभोक्ता सामग्री, कमोडिटीको रूपमा उभ्याएको छ । उनीहरूलाई ब्रान्डले प्रतिस्थापन गरिदिएको छ ।
बजारले तय गरिदिन्छ मानक सौन्दर्य र वरिपरि घुमाइदिन्छ महिलालाई । वास्तवमा मानक या केन्द्र भन्ने केही छैन भनी उत्तरआधुनिक्ताले हामीलाई घच्घच्याउँछ । काला, गोरा, होचा, अग्ला, चिम्सा, थेप्चा सबै सुन्दर हुन् भनी पाठ पढाउछ । मानव आफैंमा सुन्दर सिर्जना हो पनि भन्छ ।
तर बजार र विज्ञापनमा सुन्दरताको मानक उभ्याइदिन्छन् । त्यसपछि आम मानिसको मानसिकतालाई त्यस्ता विज्ञापनहरूले अर्कै स्वरूप दिने काम गर्छन् ।
केही समयअघि मात्र डोभ साबुनको विज्ञापनमा त्यसको प्रयोगसँगै काली महिला गोरी हुँदै गएको देखाइँदा त्यो निकै रेसिस्ट भएको भनी चौतर्फी विवादमा पर्यो । कम्पनीले माफी माग्न बाध्य भयो ।
आज पनि गोरो छाला नै सुन्दरताको पर्याय हो भनेर लागिपरेका छन् उत्पादक कम्पनीहरू । यस्ता नाफाखोर बहुराष्ट्रिय कम्पनीहरूको मिलेमतोमा नै तय हुन्छन् महिलाका सौन्दर्यको एक मापदण्ड ।
नाफाका लागि सिर्जना गरिदिएका सुन्दरताका कृत्रिम र भ्रमपूर्ण घेराभित्र पर्न आज विश्वभरका महिलाहरू दौडिरहेका छन् । नाफाखोर कम्पनीहरूको सुन्दरी घेराभित्र बाँधिन जति सक्दो धेरै सौन्दर्य प्रशाधनका वस्तुहरू प्रयोग गर्ने होडबाजीमा हुन्छन् उनीहरू । बढ्दै गएका यस्ता कार्यले गर्दा महिलाहरू आफ्नो लागि आफैं निर्णय गर्न सक्ने एक चेतनशील प्राणी हुन् या बजारले तयार पारेको एक उपभोक्तावादी डमी हो, संशय सिर्जना भएको छ ।
हरियै प्रसंग
पितृसत्तात्मक सामन्ती मानसिकताको ह्याङओभरबाट मुक्त भइनसकेको वर्तमान नेपाली समाजमा आज पनि सार्वजनिकरूपमै महिलाको क्षमता माथि प्रश्न उठ्ने गरेको छ । चिकित्सा शास्त्र अध्ययन गर्दै गरेका छात्राहरूको योग्यता माथि उठाइएको प्रश्न यसको पछिल्लो उदाहरण हो ।
समयसमयमा उठ्ने यस्ता विवादास्पद र अनर्गल कुराहरूको सामना गर्दै पनि नेपाली महिलाहरू आफ्नो हकहित, स्वतन्त्रता र समानताका निम्ति अघि बढ्दै छन् ।
खुकुलिँदै गरेका सामाजिक मान्यताहरू, परिमार्जित हुदै गएका नियम कानुन अनि मुखरित हुँदै गएका महिलाहरूको आवाजले गर्दा यतिखेर उनीहरूले आफ्नो क्षमता देखाएर अघि बढ्ने सही समय छ । यस्तो पेचिलो समयको मागलाई महिलाले आफ्नो क्षमता र कार्यकौशलताले नै सम्बोधन गर्ने हो ।
यस संगीन समयमा पनि महिलाहरू बजारले सिर्जना गरिदिएको उपभोक्तावादी छलपूर्ण दुनियाँमा मक्ख रहिरहने हो भने हाम्रा गम्भीर विषयहरू ओझेलमा पर्न सक्छन् । नाबालक छोरीहरूको हातभरि चुरा र मेहेन्दी लगाइदिनमै तल्लीन आमाहरू देख्दा लाग्छ महिला स्वतन्त्रता र समानताका कुराहरू मात्र नेपथ्यमा गुञ्जिरहने नारा बन्ने त होइन ।
हरियो उपभोक्तावाद र बजारवादको पछिल्लो संस्करण हरियो जञ्जालबाट मुक्ति जरुरी छ । आफैं परिवर्तन नभए कसरी गर्ने समाज परिवर्तन ?