एसियाड उद्घाटनमा यस्तो चमत्कार : राष्ट्रपतिको बाइक 'स्टन्ट'

एसियाड उद्घाटनमा यस्तो चमत्कार :  राष्ट्रपतिको बाइक 'स्टन्ट'

जकार्ता (इन्डोनेसिया) : उद्घाटनको नाटकीय र अविश्वासिलो शैली खेलकुदको इतिहासमा सायदै देख्न पाइन्छ। १८औं एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा त्यस्तै दृश्य देखियो, जसको कल्पनासम्म रंगशालामा उपस्थित खेलाडी, पदाधिकारी, विदेशी पाहुना र सञ्चारकर्मीले समेत गरेका थिएनन्। 

जसले त्यो दृश्य देख्यो त्यो चकित पार्‍यो अनि आफ्नो मानसपटलमा त्यो दृश्यलाई सँधैका लागि कैद गर्न बाध्य बन्यो। यस्तै थियो, १८औं एसियाली खेलकुदको उद्घाटन समारोह।

स्थानीय समय अनुसार साँझ पाँच बजेदेखि नै मध्य जकार्तास्थित ऐतिहासिक जेलोरा बुङ कार्नो रंगशाला दर्शकले खचाखच भरिएको थियो। तर, सात बज्नै लाग्दा पनि कार्यक्रम स्थलमा प्रमुख अतिथि देखा परेका थिएनन्। ७६ हजार क्षमताको रंगशालामा करिव दुई घन्टादेखि प्रतिक्षारत दर्शकको धैर्यको बाँध छुट्नै लागेको हुन्छ।

यस्तैमा रंगशाला अगाडिको सडकमा एक्कासी सुरक्षाकर्मीको सवारी साधनको निकै लामो लस्कर देखा पर्छ। साइरन बजाउँदै हुइँकिएका सुरक्षाकर्मीको गाडीको लस्करको बीचमा कालो रंगको एउटा छुट्टै गाडी देखिन्छ। केही समयपछि त्यो गाडी एक्कासी रोकिन्छ र गाडीबाट सुट, पाइन्ट र टाईमा ठाँटिएका एक ब्यक्ति हात हल्लाउँदै ओर्लन्छन्।

त्यसपछि उनी एउटा मोटरसाइकलमा सवार हुन्छन् र हेलमेट लगाएर मोटरसाइकल स्टन्ट गर्दै रंगशालातर्फ हुइँकिन्छन्। ठाउँठाउँमा मोटरसाइकल रोकेर हेलमेट फुकाल्दा उनलाई देख्ने ब्यक्तिहरु छक्क पर्दै अनुहारमा आश्चर्यको भाव ल्याउँछन्। त्यसरी नै मोटरसाइकल चलाउँदै उनी रंगशालाभित्र प्रवेश गर्छन् र मोटरसाइकलबाट ओर्लिएर लिफ्ट चढी विशिष्ठ पाहुनाहरु बस्ने स्थानमा पुग्छन्।

उनलाई देख्नासाथ रंगशालामा चर्को होहल्ला सुरु हुन्छ र विशिष्ठ पाहुनाहरु पनि आआफ्नो स्थानबाट उठेर उनलाई अभिवादन गर्न थाल्छन्। धेरैलाई नाटकीय लाग्ने शैलीमा रंगशाला प्रवेश गर्ने ती ब्यक्ति हुन्, शनिबारदेखि सुरु भएको १८औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि अर्थात इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो।

यसरी नाटकीय शैलीमा राष्ट्रपति विडोडोको रंगशाला प्रवेशपछि सुरु हुन्छ, एसियाली खेलकुदको १८औं संस्करणको औपचारिक उद्घाटन समारोह। राष्ट्रपतिको प्रवेशलगत्तै सुरु हुन्छ, कोरियोग्राफीको विछट्टै राम्रो प्रयोग गरिएको स्वागत नृत्य। त्यसपछि १८औं एसियाली खेलकुदमा सहभागी ४५ वटै राष्ट्रका खेलाडी एकपछि अर्को गर्दै मार्च पास्ट्का लागि मैदानमा देखा पर्छन्।

अंग्रेजी अक्षरको वर्णानुक्रम अनुसार सबैभन्दा पहिले अफगानिस्तानका खेलाडी मार्च पास्ट्का लागि आउँछन्। त्यसपछि क्रमशः बहराइन, बंगलादेश, भुटान हुँदै २५औं नम्बरमा नेपाली खेलाडी मार्च पास्टका लागि देखा पर्छन्। मार्च मास्ट्मा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले राष्ट्रिय झण्डा बोकेर नेपालको नेतृत्व गर्छन्। मार्च पास्ट्मा सहभागी अधिकांश राष्ट्रका खेलाडी आआफ्नै संस्कृति झल्काउने पोशाकमा देखा परेका थिए। आयोजक राष्ट्रको हैंसियतले इन्डोनेसियाका खेलाडी मार्च पास्ट्मा सबैभन्दा अन्तिममा आएका थिए।

मार्च पास्ट् कार्यक्रमपछि मन्तब्य ब्यक्त गर्न आएका ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अध्यक्ष अहमद अल फहाद अल अहमद अल सबाबले खेलकुदलाई राजनीतिसँग जोडेर आफ्नो संक्षिप्त धारणा राखे। उनले राजनीतिक कारणले लामो समयदेखि टाढिएका उत्तर र दक्षिण कोरिया खेलकुदको माध्यमले नजिकिनु १८औं एसियाडको सबैभन्दा ठूलो उपलब्धि भएको विचार ब्यक्त गरे।

‘उत्तर र दक्षिण कोरिया एक भएर खेलकुद मञ्चमा उभिनु यो एसियाडको सबैभन्दा ठूलो उपलब्धि हो। यसले विश्व भाइचारामा खेलकुदको भूमिकालाई अझ प्रस्ट्याएको छ’, उनले भने। उनले १८औं एसियाडसँगै इन्डोनेसियाले आफ्नो ७३औं स्वतन्त्रता दिवस मनाउने अवसर पनि जुर्नु इन्डोनेसियाका लागि दोहोरो खुसीको क्षण भएको धारणा पनि ब्यक्त गरे।

त्यसपछि राष्ट्रपति विडोडोले प्रतियोगिता औपचारिक रुपमा सुरु भएको घोषणा गर्दै १८औं एसियाडको शुभारम्भ गरे। उद्घाटन समारोहमा इन्डोनेसियाका ओलम्पियन खेलाडीहरुले ‘ओलम्पिक ज्योति’ प्रज्ज्वलन गरेका थिए। यसैगरी खेलाडी र निर्णायकका एक÷एकजना प्रतिनिधिले प्रतियोगिता अवधिभर अनुशासित रुपमा खेल्ने र निश्पक्ष रुपमा खेलाउने सपथ पनि लिएका थिए।

उद्घाटन समारोहमा इन्डोनेसियाको कला र संस्कृति झल्काउने लोभलाग्दो झाँकी र साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। उद्घाटन समारोहलाई सब्य र भब्य रुपमा सम्पन्न गर्न आतिसबाजीसँगै विभिन्न बैज्ञानिक प्रविधिको समेत प्रयोग गरिएको थियो। उद्घाटन समारोहमा विभिन्न राष्ट्रबाट विशिष्ठ पाहुनाहरुको समेत उपस्थिति रहेको थियो।

प्रतियोगिताको उद्घाटन राजधानी जकार्तामा भए पनि प्रतियोगिताका केही खेल भने पालेम्बाङ सहरमा पनि हुनेछन्। एसियाली खेलकुदको इतिहासमा पहिलो पटक एउटै राष्ट्रको दुई ठूला सहरमा प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रतियोगितामा एसियाका ४५ राष्ट्रका ११ हजार पाँच सय खेलाडी सहभागी छन्। यसदेखि बाहेक पाँच हजारभन्दा बढी प्रशिक्षक, निर्णायक, खेल पदाधिकारी र सञ्चारकर्मी समेत प्रतियोगितामा सहभागी छन्। प्रतियोगिता १६ दिनसम्म चल्ने छ। एसियाडको १८औं संस्करणमा ४० वटा खेल समावेश गरिएको छ। ६ वटा खेल भने एसियाडमा पहिलो पटक समावेश गरिएको हो।

इन्डोनेसियाले एसियाली खेलकुद आयोजना गर्न लागेको यो दोस्रो पटक हो। यसअघि सन् १९६२ मा इन्डोनेसियाले एसियाडको चौथो संस्करण आयोजना गरेको थियो। त्यतिबेला पनि प्रतियोगिताको उद्घाटन जेलोरा बुङ कार्नो रंगशालामै भएको थियो। त्यतिबेला केवल १३ खेलमा एक हजार चार सय ६० खेलाडीले मात्र सहभागिता जनाएका थिए।

उद्घाटन समारोह शनिबार मात्र भए पनि १८औं एसियाडका केही खेल भने चार दिन अघिदेखि नै सुरु भइसकेका छन्। समय अभावलाई ध्यानमा राखी फुटबल, बास्केटबल, वाटर पोलोलगायतका खेल उद्घाटन अघि नै प्रारम्भ गरिएको हो।

तीन राष्ट्रको झण्डामा परिवर्तन

१८औं एसियाली खेलकुद सुरु हुनुभन्दा ठीकअघि आयोजना स्थलमा राखिएका तीनवटा राष्ट्रको झण्डामा हेरफेर गरिएको छ। उद्घाटन समारोहभन्दा केही अघिसम्म प्रतियोगिता स्थलमा कुवेतको झण्डा राखिएको थिएन। सरकारले खेलकुदमा हस्तक्षेप गरेको भन्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले सन् २०१५ को अक्टोबरमा कुवेत माथि प्रतिबन्ध लगाएको थियो।

त्यसयता कुवेतले आफ्नो राष्ट्रिय झण्डामुनि बसेर कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएको थिएन। सन् २०१६ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको ओलम्पिक खेलकुदमा समेत कुवेतले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को झण्डामुनि रहेर ओलम्पिकमा सहभागिता जनाएको थियो।

एसियाली खेलकुदको १८औं संस्करणमा समेत कुवेत ओसीएकै झण्डामुनि खेल्न इन्डोनेसिया पुगेको थियो। तर, प्रतियोगिता सुरु हुनुभन्दा ठीकअघि आईओसीले कुवेतमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपछि एकाएक प्रतियोगिता स्थलमा कुवेतको झण्डा पनि फहराइएको छ।

यसैगरी १८औं एसियाडमा उत्तर र दक्षिण कोरियाको दुईवटा छुट्टाछुट्टै झण्डाको स्थानमा दुवै कोरियाको संयुक्त झण्डा राखिएको छ। प्रतियोगितामा दुवै कोरियाको संयुक्त टोलीले प्रतिस्पर्धा गर्ने भएकाले यी दुवै राष्ट्रको फरक फरक झण्डाको स्थानमा एकताको संकेत दिन बेग्लै संयुक्त झण्डा राखिएको हो।

प्रतियोगिताको उद्घाटन समारोहमा समेत दुवै कोरियाका खेलाडीले संयुक्त रुपमा मार्च पास्ट् गरेका थिए। खेलाडीले मार्च पास्ट् गरिरहँदा दुवै कोरियाका राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) का अध्यक्षहरु मञ्चमा एकअर्काको हात समाएर प्रसन्न मुद्रामा उभिएका थिए।

फुटबलमा ऐतिहासिक जितको खोजी

१८औं एसियाली खेलकुदमा आइतबार नेपालले फुटबलको महत्वपूर्ण खेल खेल्दै छ। अघिल्ला दुई खेलमा पराजित भएका कारण नकआउट चरण प्रवेशका लागि नेपाललाई आइतबार हुने पाकिस्तानविरुद्घको खेल निकै महत्वपूर्ण छ।

त्योभन्दा पनि महत्वपूर्ण पक्ष नेपाली फुटबलले एसियाली खेलकुदमा हालसम्म १७ खेल खेलेकोमा एक खेल पनि जित्न सकेको छैन। त्यसैले पनि आइतबार पाकिस्तानसँग भिड्दा नेपाली टोली ऐतिहासिक पहिलो जितको खोजीमा हुनेछ।

नेपाली टोलीका सहायक प्रशिक्षक बालगोपाल महर्जन पनि यस कुरामा सहमत देखिन्छन्। उनी आइतबार आफूहरु पाकिस्तानलाई हराउँदै ऐतिहासिक जित हात पार्ने तयारीमा रहेको बताउँछन्। ‘हामी पाकिस्तानलाई हराउँदै एसियाली खेलकुदमा पहिलो जित दर्ता गराउने तयारीमा छौं’, महर्जन भन्छन्।

यसैगरी नेपालले पदकको आशा गरेको तेक्वान्दो खेल पनि आइतबारदेखि नै सुरु हुँदैछ। यसका अतिरिक्त ब्याडमिन्टनको टिम स्पर्धामा पनि नेपालले आइतबार नै प्रतिस्पर्धा गर्दैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.