नेकपाको मधेस रणनीति : ‘समायोजन लगत्तै प्याकेज कार्यक्रम’
काठमाडौं : प्रधानमन्त्री केपी ओली पार्टीका ‘समकक्षी’ अध्यक्ष पुष्पकमल दाहाललाई लिएर शनिबार मधेस झरेका छन् । गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न केही घण्टा जनकपुरमा रहे पनि २०७२ फागुन यता प्रधानमन्त्री ओली पार्टीको काम लिएर ‘भित्री मधेस’ पसेका थिएनन् । चारवर्ष अगाडी संविधानमा विमति जनाएर मधेसी दलले असन्तुष्टि ओकलेपछि तत्कालिन एमालेले मेची–महाकाली अभियान चलाएको थियो । त्यसबेला ओली भित्री मधेस छिर्ने योजनासाथ मधेस पुगेका थिए । तर सप्तरीको मलेठमा भएको ‘हिंसात्मक घटनापछि मधेसको कार्यक्रम रोकेर हेटौडा हुँदै काठमाडौं फर्केका थिए ।
पार्टीका समकक्षी अध्यक्ष दाहाल, केही मन्त्री, पार्टीका नेतासहित दलवलका साथ ओली जनकपुर ओर्लेका थिए । संविधान जारी भएयता दुईपटक सत्ताको वागडोर समाल्दा होस् या चुनावका वेला मधेस नझरेका ओलीको यसपटकको मधेस अभियानको भित्री रहस्य के होला भन्ने बारेमा विविध कोणबाट टिप्पणी सुरु भएको छ ।
ओलीको मधेस भ्रमणका दुई कारण छन् । पहिलो, मधेससँग बिग्रिएको सम्वन्ध सुधार्नु । उनी चार वर्ष यता मधेस पुग्न सकिरहेका थिएनन् । दोस्रो, पार्टीभित्र पूर्वमाओवादी पक्षसँगको भावनात्मक एकता मधेसबाट देखाउनु । पार्टी एकतापछि तत्कालिन माओवादीका कुनै पनि कार्यक्रममा उनी सहभागी भएनन् ।
‘पशुपतिको जात्रा सिद्राको ब्यापार’ भनेझैं ओलीले यी दुवै उद्देश्य एकै पटक पुरा गर्ने प्रयास गरेका छन् । प्रदेशसभा संसदमा गरेको सम्वोधनवाट प्रधानमन्त्री ओलीले प्रदेश २ सरकार र संघीय सरकार वीचको वढ्दो खाडल पुर्ने प्रयास गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतको विवादास्पद अभिब्यक्ति र त्यसलगत्तै हुने भनिएको अमेरिका भ्रमणलाई संघीय संसदले रोक लगाएको थियो । त्यसपछि संघीय सरकार र प्रदेश २ सरकार वीचमा सम्वन्ध चिढिएको थियो ।
ओलीको प्रदेशसभा सम्बोधनलगत्तै सहिद रामवृक्ष यादव स्मृति दिवसमा धनुषा वरमझियामा नेकपाले गरेको ‘शक्ति प्रर्दशन’ले नेकपा अव मधेसमा फरक ढंगले शक्ति विस्तारको अभियानमा जुटेको सन्देश दिएको छ । मधेसमै कार्यक्षेत्र वनाएर काम गरिरहेका नेकपा केन्द्रीय सदस्य युवराज भट्टराई मधेस मुद्दामा सरकार र पार्टी सँगै छ भन्ने सन्देश शनिवारको कार्यक्रमले दिएको बताउँछन् ।
‘मधेसी जनताको पार्टीप्रतिको धारणा बदल्न र यहाँका समस्यामा सरकार र पार्टी सँगै छ भन्ने सन्देश शनिवारको कार्यक्रमवाट दिन खोजिएको छ’, भट्टराईले भने । भदौ १५ भित्र नेकपाका तत्कालिन घटक एमाले र माओवादीको प्रदेश र जिल्ला समायोजन सक्ने र त्यसलगत्तै मधेसमा पार्टीका अभियान चलाउने योजना रहेको उनले वताए । ‘सांगठनिक काम सक्ने वित्तिकै हामी पार्टी अभियान लिएर मधेसभित्र पस्ने योजना वनाउँदै छौं’, भट्टराईले भने ।
मधेसमा नेकपा, मधेसी दल र प्रतिपक्षी काग्रेसभन्दा पनि कमजोर रहेको गत प्रतिनिधीसभा तथा प्रदेशसभा चुनावले देखाएको छ । मधेसमा नेकपाका तत्कालिन दुवै पार्टीको गत चुनावको मत जोड्दा समेत ते श्रो स्थान छ । प्रतिनिधीसभाको ३२ निर्वाचन क्षेत्रको मतलाई आधार मान्दा मधेस केन्द्रीत दल ६ लाख ७१ हजार ४ सय १४ मतसहित पहिलो, काग्रेस ५ लाख ४१ हजार ७ सय ७२ मत सहित दो श्रो स्थानमा छ । नेकपासँग ४ लाख ८८ हजार ४ सय ८७ मतमात्रै मधेसमा देखिएको छ ।
प्रदेश २ मा मधेस केन्द्रीत दलसँग ५५ (फोरम ३० र राजपा २५), नेकपासँग ३० र कांग्रेससंग १९ सिट छ । सात प्रदेशमध्ये यही एउटा प्रदेशमा मात्र नेकपाको सरकार छैन । ‘मधेसमा पार्टीप्रति चलाईएको भ्रमपूर्ण प्रचारले केही नाफाघाटा चुनावमा भयो’, नेकपा केन्द्रीय सदस्य सत्यनारायण मण्डलले भने, ‘अव त्यस्ता भ्रम चिर्दै अगाडी जान्छौं । विकास, समृद्धिका योजना, मधेसी वास्तविक पीडितको माग सुनुवाई र पार्टी सुढिढिकरण अभियानलाई प्याकेजमा लिएर जान्छौं ।’
मधेसमा तत्कालिन एमालेप्रति नकारात्मक प्रचार गरिएकाले पार्टी कमजोर रहेको वुझाई नेकपाको छ । मधेसको मुद्दामा तत्कालिन एमाले अनुदार रहेको प्रचार मधेसमा गरिएको थियो । ‘हाम्रो पार्टी मधेसप्रति सम्वेदनशील छ’, भट्टराईले भने, ‘कसैका प्रायोजित प्रचारजस्तो होइन भन्ने सन्देश शनिवारको कार्यक्रमवाट मिलेको छ ।’
मधेसका तीन पार्टीको अवस्था
८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा
मधेसी दल : १९ सिट ( ६,७१,४१४ मत)
नेकपा : ७ सिट (४,८८,४८७ मत)
काग्रेस : ६ सिट (५,४१,७७२ मत)
(स्रोत: प्रतिनिधी सभा निर्वाचन २०७४ को मत परिणामका आधारमा निर्वाचन आयोगवाट प्राप्त मतका आधारमा)