ला लिगाको पहिलो खेलमा बार्सिलोनाको जित, मेसीको कीर्तिमानी गोल
काठमाडौं : बार्सिलोनाले शनिबार राति भएको स्पेनिस ला लिगाको यस सिजनको आफ्नो पहिलो खेलमा नै सानदार जित निकालेको छ । केहीदिन अघिमात्रै बार्सिलोनाको कप्तानी सम्मालेका लियोनल मेसीले आलाभेजविरुद्ध ३–० को जित निकाल्दा २ गोलको योगदान दिए ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । ६४ औं मिनेटमा मेसीले गोल गरी बार्सिलोनालाई अग्रता दिलाए ।
८३ औं मिनेटमा कोटिन्होले गोल गरे भने ९० मिनेटपछिको थप समयमा मेसीले दोस्रो गोल गरी टोलीका लागि ३–० को जित पक्का गरिदिए ।
शनिबारको खेल मेसीका लागि एक ऐतिहासिक कीर्तिमान राख्ने अवसर समेत बन्यो । मेस्सीले ला लिगामा बार्सिलोनाका लागि ६००० औं गोल गरे । ला लिगामा बार्सिलोनाका लागि ५००० औं गोल पनि २००९ मा मेसीले नै गरेका थिए ।
ला लिगाका शनिबारका अन्य खेलमा रियल सोसिडाडले भिल्लारियललाई २–१ ले हरायो । सेल्टा भिगो र स्पानियोलले १–१ को बराबरी खेले ।