सन्तान नपाउनेलाई कर
बेइजिङ : चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जबरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् ।
चीनमा जनसंख्या बढाउन दुईभन्दा कम सन्तान जन्माउनेलाई वा नजन्माउनेलाई ‘प्रजनन कोष’ मा कर तिर्ने व्यवस्था गर्न सुझाव दिइएको छ । जनसंख्या घट्दै गएको समस्याबाट मुक्ति पाउन यस्तो सुझाव दिइएको हो ।
विज्ञहरूको यो सुझावलाई लिएर अहिले चीनभरि पक्ष र विपक्षका बहस चलिरहेको छ । कम्युनिस्ट पार्टीले लागू गरेको ‘एक सन्तान’को नारा सहितको परिवार नियोजनसम्बन्धी नीतिका कारण जनसंख्या घटेको कतिपयको भनाइ छ । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा अहिले जनसंख्या घट्दै गएपछि देशको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको ठानिएको छ । लैंगिक तथा जनसांख्यिक असन्तुलन बढेपछि सामाजिक समस्या पनि थपिदै गएको सरोकारवालाले बताएका छन् ।
चीनले जनसंख्या बढ्ने अपेक्षासहित सन् २०१६ मा कानुन खुकुलो बनाउँदै एकभन्दा बढी सन्तान जन्माउन सकिने व्यवस्था गरिएको थियो । तैपनि जनसंख्या अपेक्षित रूपमा र आवश्यकताअनुसार बढ्न नसकेको तथ्यांकले देखाएको छ । त्यसैले अहिले यसका बारेमा पुनः विचार गर्नुपर्ने अवस्था आएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले बिहीबार दुई विज्ञले जनसंख्या घट्दै गएको सम्बन्धी अहिलेको समस्याबाट छुटकारा पाउन नयाँ प्रस्ताव सहितको लेख लेखेका छन् । उनीहरूले ४० वर्षभन्दा कम उमेरका दम्पतीले दुईभन्दा कम सन्तान जन्माएमा वा जन्माउँदै नजन्माएमा अरूलाई सहयोग पु¥याउन वार्षिक रूपमा एउटा कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था गर्नु उपयुक्त हुने उल्लेख गरेका छन् ।
‘जब कसैले दुई वा दुईभन्दा बढी सन्तान जन्माउछन्, तब उनीहरूले सो कोषमा राहत रकमका लागि दाबी गर्न सक्नेछन्’, नान्चिङ विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापकद्वय लिउ झिविओ र झाङ येले लेखेका छन् । क्षतिपूर्ति वा राहत रकम दाबी गर्दा सन्तान जन्माउँदा लागेको खर्च वा त्यस क्रममा आम्दानीमा भएको गिरावट उल्लेख गर्नुपर्ने र त्यसबापतको भुक्तानी कोषबाट गर्नुपर्ने व्यवस्था गर्न उनीहरूले सुझाएका छन् ।
उनीहरूले पर्याप्त मात्रामा शिशु स्याहार केन्द्र खोल्नु पनि जन्मदर बढाउने अर्को सहयोगी उपाय हुन सक्ने बताएका छन् । दुईभन्दा बढी सन्तान जन्माउनेलाई सेवा निवृत्त भएपछि विशेष आर्थिक व्यवस्था गरिदिएमा उनीहरू सन्तान जन्माउन प्रेरित हुने अपेक्षा गरिएको छ । दुई विज्ञको सुझावहरूलाई लिएर विभिन्न सामाजिक सञ्जालमा चिनियाँ नागरिकले पक्ष र विपक्षमा बहस गरिरहेका छन् । उनीहरूको प्रस्तावप्रति व्यंग्य गर्दै एकजनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले जन्मदर बढाउन चाहन्छ भने बहुविवाहका लागि किन छुट दिँदैन त ? ’
सरकारी टेलिभिजन सीसीटीभीको अनलाइन संस्करणमा पनि यो प्रस्तावलाई ‘निराधार, अव्यवहारिक र अनुचित’ प्रस्तावको रूपमा टिप्पणी गरिएको छ । टिप्पणीमा लेखिएको छ, ‘यो प्रस्तावमा आम बुझाइको कमी देखिएको छ भने अध्ययन अनुसन्धान सम्बन्धी व्यवसायिकताको अभाव प्रष्ट भएको छ ।’
चीनले जनसंख्या घटाउन यसअघि लागू गरेको एक सन्तान नीतिले चीनमा जनसंख्या घट्नेक्रम चलिरहेकाले सरकारलाई अहिले यो चिन्ताको विषय भएको छ । सन् १९७० को दशकदेखि पछाडि जनसंख्या नियन्त्रण अभियान चलाइएको थियो । जनसंख्या घटाउने अभियानअन्तर्गत त्यस बेला दुई वा त्योभन्दा बढी बच्चा जन्माउनेलाई दण्ड जरिवानाको व्यवस्था गरिएको थियो भने महिलाहरूलाई गर्भपतनका लागि प्रोत्साहन गरिएको थियो ।