एसियाली खेलकुदको पहिलो स्वर्ण पदक चीनको पोल्टामा
जाकर्ता: इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा चीनले पहिलो स्वर्ण पदक जित्न सफल भएको छ । चीनका सुन पेइयुयानले १८ औँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेका हुन् ।
उनले आइतवार उसुको चाङ्गक्वान स्पर्धामा इन्डोनेसियाका एड्गर मार्भेलोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । चाङ्गक्वान स्पर्धा नेपाली समयानुसार बिहान सवा ९ बजे सुरु भएर एक घण्टामा सकिएको थियो ।
सुनले ९.७५ को स्कोर बनाउँदै स्वर्ण पदक जितेका हुन् । उनले त्यही सहरमा यो पदक जिते जहाँ उनले सन् २०१५ मा विश्वकपको पदक पनि जितेका थिए ।
जेट ली, ज्याकी च्यान र ब्रूस लीको फिल्म हेरेपछि उसु खेल्न थालेका मार्भेलोले आयोजक इन्डोनेसियालाई रजत पदक दिलाए । मार्भेलोले ९.७२ को स्कोर गरे । ताईवानका त्साई से मिनले कास्य पदकमा चित्त बुझाए ।