जहाँ डोमलाई होटलको भाँडामा खाना दिइँदैन
गौशाला : मनरासिस्वा नगरपालिकामा अझैं पनि डोम समुदायलाई होटलको भाँडामा खान नदिने गरिएको पाइएको छ। उक्त नगरपालिका-१ मनरा बस्ने प्रगास डोमले आफूलाई यहाँका कुनै पनि होटलमा बस्न र त्यहाँको भाँडाकुडामा खानेकुरा खान नदिएको बताए।
चार पुस्तादेखि मनरासिस्वामा बस्दै आएका उनले होटलमा जाँदा त्यहाँका सञ्चालकले प्रवेश गर्न नदिने र होटलको थाल, कचौरा र गिलासमा खान र पानीसमेत पिउन नदिने गरिएको अर्का पीडित सोगारथ डोमको भनाइ छ।
होटलवालाले आफूहरूलाई बाहिरै उभ्याएर कागजमा खानेकुरा दिने गरेको र दिँदा पनि माथिबाट हातमा पर्ने गरी फालेर दिने गरेको उनको गुनासो छ। उक्त नगरपालिका-१स्थित जलेश्वर-सम्सी सडकखण्डको छेउमै वर्षौदेखि बस्दै आएका डोम समुदायलाई मनरा बजारमा अवस्थित करिब ५० होटलमध्ये कुनै पनि होटल सञ्चालकले सहजपूर्वक खानेकरा खान दिने गरेका छैनन्।
स्थानीय बिजुली डोमले पनि होटल सञ्चालक मात्रै नभइ आम स्थानीय बासिन्दा आफूहरूबाट टाढा रहने र खानपिन गर्दा पनि टाढै रहने गरेको पीडा सुनाउँछन्। कानुनले छुवाछुतको अन्त्य गरिसक्दा पनि यस क्षेत्रका बासिन्दालाई कानुनले नछोएको भन्दै उनीहरुको गुनासो छ। रासस