नानीबाबुसँग मुकुन्दशरण उपाध्यायका मनका कुरा
मेरो जन्मस्थल पोखराको हेम्जा गाउँ हो। हाम्रो पालासम्म गाउँमा पाठशाला पनि खुलेको थिएन। जहानियाँ राणा शासनको समय भएकाले सरकारी क्षेत्रबाट विद्यालय खोल्ने त झन् कुरै भएन। पिताजी पण्डित हुनुहुन्थ्यो, पुराण भन्नुहुन्थ्यो। ज्योतिषमा समेत उहाँको दक्खल थियो। उहाँले नै मलाई अक्षर चिनाउनुभयो। हामी धुलौटामा पढ्थ्यौं। अलि पछिदेखि आँपको पात पकाएर मसी बनाउँथ्यौं। बाँसको कलमले बाँसकै खबटामा लेख्थ्यौं।
त्यस बेला टुकी बत्तीसमेत थिएन। मट्टितेलको कुरै भएन। हामी निगालाका सिटा बालेर पढ्थ्यौं। त्यसपछि पिँढी पाठशालाको चलन आयो। घरमै पिँढीमा बसेर गुरुले पढाउनुहुन्थ्यो। हामी गाउँका केटाकेटी भेला हुन्थ्यौं। मेरो व्रतबन्ध आठ वर्षकै उमेरमा भयो। त्यसपछि गुरुकुलमा बसेर पढ्न थालेँ। चण्डी, रुद्री, अमरकोश, लघुकौमुदी छिचोलेँ। गुरुकुलमा संस्कृत बोल्न सिकेँ। हाम्री आमाले अक्षरसमेत चिन्ने मौका पाउनुभएको थिएन। तर, सुनेकै भरमा गीत र श्लोकहरू सुनाउनुहुन्थ्यो।
म १३ वर्षको उमेरमा तीर्थयात्रीको साथ लागेर भारतको वृन्दावन गएँ। छात्रावासमा बस्न थालेँ। हिन्दी भाषा नजानेर संस्कृतमै बोल्थेँ। मेरो पढाइ निम्बार्क संस्कृत महाविद्यालयमा सुरु भयो।। त्यहीँबाट आचार्य गरेँ। ६ महिना जति त्यहीँ पढाएँ। तलब भारतीय ५० रुपियाँ दिइएको थियो। छात्रावासमा बस्ने भएकाले खर्च उब्रिन्थ्यो। पढाइ सकेपछि नेपाल फर्किएँ। डेढ वर्षजति भैरहवाको एक विद्यालयमा अध्यापन गरेँ। त्यस बेला तलब एक सय पच्चीस रुपैयाँ थियो।
त्यसपछि पोखरा फर्किएँ। केही वर्ष स्थानीय स्कुलमा पढाएँ। २०२५ सालदेखि २०५९ सालसम्म पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाएर सेवानिवृत्त भएँ। प्राध्यापनकालमै त्रिभुवन विश्वविद्यालबाट नेपाली र संस्कृत भाषा दुईवटामा एमए पनि गरेँ।
हाम्रो घरमा मोटा अक्षर भएको भानुभक्तको रामायण थियो। बुवा पाठ गरिरहनुहुन्थ्यो। म खुब रस मानेर सुन्थेँ। यसले मलाई छन्दमा कविता लेख्न प्रेरणा दियो। मैले कसैबाट छन्दमा लेख्न सिकेको होइन। पछि कालिदासका किताबबाट पनि प्रेरणा पाएँ। म संस्कृत र हिन्दीमा पनि उत्तिकै कविता लेख्थेँ। १४ वर्षको हुँदा 'भागवत जयन्ती' नामक कविता संस्कृतमा लेखेको थिएँ। वनारसमा हुँदा गोष्ठीहरूमा भाग लिइरहन्थेँ। सधैं प्रथम हुन्थेँ। दोस्रो पुरस्कार लिनुपर्दा दुःख लाग्थ्यो।
हामीलाई न्यूनतम तीनवटा भाषा नेपाली, अंग्रेजी र हिन्दीको ज्ञान हुनु जरुरी छ। यसका अतिरिक्त घरमा बोलिने भाषामा समेत पकड हुनुपर्छ।
भाषा, व्याकरण, काव्य आदि गरी मेरा दर्जनभन्दा बढी पुस्तक छन्। मेरो पाकृत पोखरा नामक काव्यले मदन पुरस्कारसमेत प्राप्त गर्यो। किनमेलका लागि हामी पोखरा जान्थ्यौं। पोखरामा बुटवलबाट भरियाले सामान ल्याउँथे। फूलपातीका दिन बजार लाग्थ्यो। हाम्रो पालामा जुत्ताचप्पल थिएन। पढ्न भारत जाने बेलामा बुवाले कपडाका जुत्ता किनिदिनुभयो। जुत्ता लगाएर हिँड्ने बानी थिएन। जुत्ता लगाएर हिँड्न नै आएन। फुकालेर खाली खुट्टै हिँडे।
भाइबहिनीले नयाँ प्रविधिको भरपूर उपयोग गर्न सिक्नुपर्छ। प्रविधिकै कारण संसार साँघुरिँदै गएको छ। घरमै बसेर संसार देख्न सकिन्छ। हामीसँग न्यूनतम तीनवटा भाषाको ज्ञान हुन जरुरी छ, नेपाली, अंग्रेजी र हिन्दी। यसका अतिरिक्त घरमा बोलिने भाषामा समेत पकड हुनुपर्छ। भाषाका दक्खल भएपछि धेरै कुरामा सहजता हुन्छ।
नेपाली संस्कृति संसारकै अब्बल धनी संस्कृति हो। यसमा हामीले गौरवबोध गर्नुपर्छ। अर्काको संस्कृतिको पनि सम्मान गर्नुपर्छ। यस्तो सहिष्णुताको भावनाले समाजमा समानता ल्याउँछ। मानवीयता झल्किन्छ। हाम्रो सहिष्णुताको संस्कार वेदबाट आएको हो। वेदलाई हामी संसारकै जेठो किताबका रूपमा लिन्छौं।
मोबाइल, टीभी, कम्प्युटरले भाइबहिनीको समय बर्बाद गरिरहेको छ। मैले यी चिज छुँदै नछुनु भनेको हुँदै होइन। हरेक कुराको नकारात्मक पक्षको विचार गर्नुपर्छ र त्यसबाट जोगिनुपर्छ। यसमा बानी नपरोस् भन्ने चिन्ता मात्रै गरेको हुँ। भाइबहिनीले आफ्ना अभिभावकलाई पढेको कुरा सोध्ने र सोध्न लगाउने बानी गर्नुपर्छ। यस्तो प्रश्न गर्ने शैलीले जिज्ञासु बनाउँछ। लेख्ने बानीले पढेको कुरा याद हुन्छ। नत्र दिमागबाट सजिलै हराउँछ, पढेको र नपढेको एकै हुन्छ।
कोर्सका मात्र किताब पढेर केही सिकिँदैन। यो सीमित घेराभन्दा बाहिर निस्किनुपर्छ। इतिहास, दर्शन, विज्ञान पढ्नुपर्छ। नेपाल र नेपालीका विषयमा जानकारी लिनुपर्छ। हाम्रा पाठ्यक्रममा यस्ता विषय समावेश गरिएको छैन। यो राज्यले चिन्तन गर्ने विषय भयो। कक्षामा गुरुले पढाउँदा सावधान भएर सुन्नुपर्छ। यसले पढेको कुरा दोहोर्याउँदा सम्झिन सजिलो हुन्छ।
म २०३४ सालदेखि नेपाली भाषा शुद्धताको पक्षमा लागेको छु। अहिलेको मानक लेखाइमा मेरो विमति छ। नेपाली भाषा विश्वव्यापी रूपमा एकरूपता हुनुपर्छ भन्ने मेरो ठम्याइ छ। धरै साथीले मलाई समर्थन गर्नुभएको छ र सोहीअनुसार आफ्ना किताबहरू छपाउनुभएको छ।
बच्चालाई गुरुकुलीय शिक्षा आवश्यक छ भन्ने भेरो ठम्याइ छ। यो हाम्रो संस्कृति पनि हो। हामीले राजधानीको गहनापोखरीमा एक गुरुकुल सञ्चालन गरेका छौं। भाइबहिनीलाई परम्परागत गुरुकुलीय पद्धतिबारे जिज्ञासा भए हाम्रोमा आएर जानकारी लिन सकिन्छ। सहभागी हुन सक्नुहुन्छ।
(भाषाविद् उपाध्यायसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)