१८औं एसियाड : नेपालको निराशाजनक सुरुवात
जकार्ता (इन्डोनेसिया) : एसियाली खेलकुद प्रतियोगिताको १८औं संस्करणमा नेपालले निराशाजनक सुरुवात गरेको छ। प्रतियोगिताको दोस्रो दिन आइतबार खेलिएका अधिकांश खेलमा नेपाली खेलाडीले नमिठो पराजय ब्यहोरेका छन्।
ब्याडमिन्टनको टिम स्पर्धामा भने नेपाल क्वार्टरफाइनलमा पुगेको छ। पदकको आशा गरिएको तेक्वान्दोमा पनि आइतबार नेपाली खेलाडीले निकै फितलो प्रदर्शन गरे। एसियाली खेलकुदमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेल भएकाले यसपटक पनि तेक्वान्दोबाट नतिजामुखी प्रदर्शनको आशा गरिएको छ।
लोकप्रिय खेल फुटबलमा नेपालको अगाडि बढ्ने सपना समाप्त भएको छ भने तेक्वान्दोसँगै फेन्सिङ, टेनिस, कुस्ती, सुटिङ, उसु र कबड्डीमा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक रहेको छ। ब्याडमिन्टनको पुरुष टिम स्पर्धामा भने नेपाली टोली पाकिस्तानलाई ३-१ सेटमा हराउँदै क्वार्टरफाइनलमा पुग्न सफल भएको छ।
ब्याडमिन्टनको पुरुष टिम स्पर्धामा नेपालका रत्नजित तामाङले पाकिस्तानका मुहम्मद इरफान भट्टीलाई २१-१२, २१-११ को सोझो सेटमा पराजित गरे भने नेपालका दीपेश धामीले पनि पाकिस्तानका सरवार अजिजलाई २१-१६, २१-१० ले पाखा लगाए। नेपालका नवीन श्रेष्ठ भने पाकिस्तानका रिजवान आजमसँग २१-१३, १८-२१, १५-२१ ले पराजित भए।
त्यसपछि डबल्स स्पर्धामा नेपालका दीपेश धामी र रत्नजित तामाङको जोडीले पाकिस्तानका सुलेहरि कासिम अली र रिजवानको जोडीलाई २१-१७, १७-२१, २१-५ अंकले हराएपछि नेपाल डबल्सतर्फ ३-१ ले विजयी हुँदै क्वार्टरफाइनलमा पुग्यो।
ब्याडमिन्टनकै महिला टिम स्पर्धामा भने नेपाली टोलीलाई माल्दिभ्सले ३-२ ले हरायो। पहिलो खेलमा नेपालकी नङ्सल तामाङले माल्दिभ्सकी अब्दुल रज्जाक नवाहलाई २१-१७, २१-१५ ले हराइन् भने दोस्रो खेलमा नेपालकी जेसिका गुरुङले पनि माल्दिभ्सकी अब्दुल रज्जाक नवाहलाई नै १५-२१, २५-२३, १७-२ ले पाखा लगाइन्।
त्यसपछि नेपालले लगातार तीन खेलमा हार ब्यहोर्न पुग्यो। नेपालकी रसिला महर्जन नाजिव निलासँग २२-२४, २१-१५, २१-१६ ले पराजित भइन् भने नेपालकी जेसिका र नङ्सलको जोडी तथा अमिता गिरी र रसिलाको जोडी पनि माल्दिभ्सका खेलाडीसँग हार स्वीकार्न बाध्य बने।
यसैगरी सुटिङको १० मिटर एयर राइफल मिक्स टिम स्पर्धामा नेपाल २२औं स्थानमा रहन पुग्यो। नेपालकी सुस्मिता र सुसी चौधरीले कुल ७७६.४ अंकमात्र जोड्न सके। सुस्मिताले ४०३.५ र सुसीले ३७२.९ अंक बटुले।
यसैगरी कबड्डीमा पनि नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन। समूह ‘बी’ मा रहेको नेपाली टोली आफ्नो पहिलो खेलमै आयोजक राष्ट्र मलेसियासँग ३३-२९ अंकले पराजित भयो। नेपाली कबड्डी टोली महेश बोहराको कप्तानीमा एसियाड यात्रामा निस्किएको हो।
यसैगरी आइतबार नै भएको तेक्वान्दोको पुम्से स्पर्धामा पनि नेपाली खेलाडीले आफ्ना समर्थकलाई खुसी पार्न सकेनन्। यद्दपि, पहिलो चरणमै अधिकांश नेपाली खेलाडीको खेल बलियो प्रतिद्वन्द्वी चाइनिज ताइपेइसँग परेको थियो।
पुरुष एकल पुम्सेमा नेपाली खेलाडी कमल श्रेष्ठ चाइनिज ताइपेईका चेन चिङसँग पराजित भए। चेन चिङले ८.३८० अंक प्राप्त गरे भने कमलले ७.५१० अंकमात्र बटुल्न सके। महिला एकल पुम्सेमा पनि नेपालकी पार्वती गुरुङ चाइनिज ताइपेइकै लिआवो वेन सुनसँग हारिन्। लिआवोले ८.१०० अंक जोडिन् भने पार्वतीले ७.५४० अंक मात्र बटुलिन्।
महिला टिम पुम्सेमा भने नेपालले पदक जित्ने गतिलो अवसर गुमायो। पहिलो खेलमा आफ्नो प्रतिद्वन्द्वी उज्वेकिस्तान डिसक्वालिफाइड (अयोग्य) घोषित भएपछि नेपाली टोली सजिलै क्वार्टरफाइनलमा पुगेको थियो। तर, क्वार्टरफाइनल खेलमा नेपाली टोली चाइनिज ताइपेइसँग हार्न पुग्यो। चाइनिज ताइपेइले ८.१९० र नेपालले ७.४२० अंक हात पारे।
महिला टिम पुम्सेमा नेपालको तर्फबाट सीना मादेन लिम्बु, नीता गुरुङ र पार्वती गुरुङले प्रतिस्पर्धा गरेका थिए। क्वार्टरफाइनल खेलमा चाइनिज ताइपेइलाई हराउन सकेको भए नेपालले कम्तिमा कांश्य पदक जित्ने पक्का थियो।
पदक जित्ने सम्भावना भएकाले नै तेक्वान्दो खेल हेर्न युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट पनि रंगशाला पुगेका थिए। नेपाली पुम्से टोलीका प्रशिक्षक नोर्बु लामाले आफ्ना खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया दिए। उनले यसपटकदेखि एसियाली खेलकुदमा पुम्से स्पर्धाको नियम परिवर्तन भएकाले पनि खेलाडीलाई अप्ठ्यारो परेको बताए।
यसैगरी टेनिसको पुरुष एकल स्पर्धामा नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक वास्तोला तथा महिला एकलतर्फ माहिका राणा र मायांका राणा आफ्नो पहिलो खेलमै पराजित भए। संरक्षकलाई आयोजक इन्डोनेसिया, अभिषेकलाई भियतनाम, माहिकालाई भियतनाम र मायांकालाई हङकङका खेलाडीले हराए।
टेनिसकै दुईवटा मिक्स डबल्स स्पर्धामा पनि नेपाली खेलाडीले सुखद् नतिजा निकाल्न सकेनन्। मिक्स डबल्समा नेपालकी माहिका र प्रणव खनाल तथा संरक्षक र एनी माथेमाको जोडी हङकङका खेलाडीसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिए।
यसैगरी कुस्तीको पुरुष फ्रिस्टायल ७४ केजी तौल समूहमा नेपालका सुरेश चुनरालाई जापानका फुजिनामी युतोले ४-० ले पराजित गरे। पुरुष फ्रिस्टायल ६५ केजी तौलसमूहमा नेपालका सरोज यादवलाई मंगोलियाका वाचुलुन वातामाग्नीले ४-० ले पाखा लगाए।
यसैगरी उसुको पुरुष चाङक्वान स्पर्धामा नेपालका विजय सिंजाली कुल १७ खेलाडीमध्ये १४औं स्थानमा आए। उनले कुल ८.२५ अंक हात पारे। महिला नानक्वान स्पर्धामा नेपालकी नीमा घर्तीमगर कुल १२ खेलाडीमध्ये ११औं स्थानमा आइन्। उनले ८.७० अंक हात पारिन्। उनीभन्दा पछाडि कजाकस्तानकी खेलाडी डायना उत्यामसेभा मात्र थिइन्।
उसुमै नेपालकी जुनी राई पनि पराजित भइन्। महिला सान्दा ५२ केजी तौलसमूहमा उनलाई भियनतामकी खेलाडीले हराइन्। आइतबार नै भएको फेन्सिङ स्पर्धामा पनि नेपाली खेलाडीले निराशाजनक प्रदर्शन गरे।
यसैगरी पुरुष फुटबलमा पनि नेपालले इतिहास रच्ने अवसर गुमायो। समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाली टोली पाकिस्तानसँग २-१ गोलले पराजित भयो। नेपालले पाएको एक गोल पनि पाकिस्तानी खेलाडीबाट आत्मघाती रुपमा भएको थियो। पाकिस्तानलाई हराउन सकेको भए नेपाल नकआउट चरणमा पुग्ने प्रबल सम्भावना थियो भने एसियाली खेलकुदमा ऐतिहासिक पहिलो जित पनि हासिल गर्ने थियो। एसियाली खेलकुदमा हालसम्म १८ खेल खेलेको नेपाली फुटबल टोलीले एक जित पनि हात पार्न सकेको छैन।