रन वे पिच परिवर्तनका लागि साढे तीन अर्ब

रन वे पिच परिवर्तनका लागि साढे तीन अर्ब

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच परिवर्तन (रिह्याबिलिटेसन ) का लागि सरकारले साढे तीन अर्ब रुपैयाँ विनियोजन गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले संकलन गर्दै आएको विमानस्थल सेवा शुल्कबाट यो रकम विनियोजन गरिएको हो।

सन् २०१९ को फेब्रुअरी २८ देखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रूपमा बन्द गरी रनवेको पिच परिर्वतन सुरु गर्न लागेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए। रनवेको पिच परिवर्तन गर्न १८ महिना लाग्ने भए पनि पहिलो चरणमा सबैभन्दा बढी समस्या रहेको रनवेको मात्रै पिच परिवर्तन गरिने जानकारी दिए।

‘विमानस्थलको कोटेश्वरतर्फको ०२ रनवेको १६ सय मिटरमा बढी समस्या देखिएको छ’, गौतमले भने, ‘रनवेको पिच परिवर्तनसँगै ट्याक्सी वेको पिच परिवर्तन हुन्छ।’ कतिपय ठाउँको ३० सेन्टिमिटरसम्म माटो निकालेर नयाँ पिच हाल्नुपर्ने अवस्था छ। ट्याक्सी वेको कतिपय स्थानमा ५३ सेन्टिमिटरसम्मको संरचना परिवर्तन गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए। पिच परिवर्तनका लागि निर्माण कम्पनीसँग सम्झौता भएको चार महिनासम्ममा रनवेको काम गर्ने र त्यसपछि मात्रै ट्याक्सी वेको पिच परिवर्तन काम हुने उनको भनाइ छ।

रनवेमा २०१४ देखि नै समस्या देखिएको थियो। तर, त्यसपछि पनि २०१५ अप्रिलको भूकम्पपछि झनै समस्या बढेको उनको भनाइ छ। पिच परिवर्तनका लागि प्राविधिक रूपमा चारवटा कम्पनी छनोट भइसकेका छन्। प्राविधिक रूपमा सक्षम भएका कम्पनीबीच आर्थिक प्रतिस्पर्धा गराएर रनवेको पिच परिवर्तनको काम हुने उनले जानकारी दिए। योसँगै विमानस्थलको रनवे सुधार गर्न चौथो पटक टेन्डर भइसकेको छ। तीन पटकसम्मको टेन्डरमा कोही पनि निर्माण कम्पनीले चासो नदेखाएपछि फेरि रकम बढाएर टेन्डर गरिएको गौतमले बताए।

विमानस्थल रनवेको पिच परिर्वतन गर्दा दैनिक ८० मिटर काम सम्पन्न गर्ने गरी योजना तय भएको गौतम बताउँछन। सन् १९८० मा निर्माण भएको रनवे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको थिएन। रनवे सुधार प्रक्रिया सुरु भएकोे तीन वर्ष भइसकेको छ। प्राविधिक रूपमा सक्षम कम्पनीबीच आर्थिक रूपमा प्रतिस्पर्धा गराउन तयार गरिएको टेन्डर कागजातको फाइल प्राधिकरण बोर्डमा छ। ‘वर्षा सिजनमा रनवे मर्मत गर्न झनै गाह्रो हुन्छ’, उनले भने। विमानस्थल खुला रहेको समयमा पनि दैनिक तीनदेखि चारपटकसम्म जहाजलाई आकाशमै होल्ड गरेर रनवे मर्मत गर्नुपर्ने अवस्था छ।

रनवेमा सानो समस्या आएको अवस्थामा २० मिनेट र ठूलो समस्या आए पौने एक घण्टासम्म आकाशमै जहाज होल्ड गरेर काम गर्नपर्ने अवस्था रहेको उनको भनाइ छ। तर, रनवे सुधारका लागि पैसा, डिजाइन र प्राविधिक रूपमा सक्षम कम्पनी सबै जुटिसकेको छ। चालु आवमै रनवेको पिच परिवर्तन सकिने र विमानस्थल २४ घन्टा नै सञ्चालनमा आउने उनको भनाइ छ।

सन् २०१९ को फेब्रुअरी २८ देखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रूपमा बन्द गरी रनवेको पिच परिर्वतन सुरु गरिनेछ।

सन् २०१४ मै स्पेनिस कम्पनी ‘आइसा’ ले विमानस्थल रनवे सुधारका लागि डिजाइन तय गरेको थियो। तर सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले ‘डिजाइन रिभ्यू’का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम ग‍¥यो। परामर्शदाताकै प्रतिवेदनका आधारमा कार्यालयले रनवे सुधारका लागि ग्लोबल टेन्डर गरेको थियो। टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले चार कम्पनीलाई मात्रै प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको थियो।

यसमा चाइना रेलवे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड, चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेड र बेइजिङ चाङदो म्युनिसिपल इन्जिनियरिङ ग्रुप कम्पनी छन्। विमानस्थलकै रनवे सुधारसम्बन्धी दुई काम गरेको, आर्थिक रूपमा कति सक्षम र औजार कति भएको कम्पनी हो भनी यकिन गरेर मात्रै कम्पनी छनोट भएको उनले जानकारी दिए।

प्राधिकरणको बजेट ४५ अर्ब नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आव २०७५÷७६ का लागि ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार पाँच सय ५३ रुपैयाँ बजेट स्वीकृत गरेको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, हवाई क्षमता वृद्धि, आन्तरिक विमानस्थल स्तरोन्नति, रन वेको पिच परिवर्तन, विमानस्थल निर्माण र विस्तारमा आवश्यक जग्गा अधिग्रहण र मुआब्जा वितरणलाई प्राथमिकता दिएर रकम विनियोजन गरेको छ।

प्राधिकरणले चालु आवमा पाँच अर्ब ९६ करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको छ। विमानस्थल सेवा शुल्कबाट मात्रै दुई ३४ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको छ।

सात विमानस्थल मात्रै नाफामा प्राधिकरणका अनुसार गत आवमा सातवटा विमानस्थल मात्रै नाफामा गएका छन्। देशभर ५० भन्दा बढी विमानस्थल छन्। यसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्रै पाँच अर्ब ८१ करोड रुपैयाँ नाफा गरेको छ। यस्तै पोखरा विमानस्थल, गौतम बुद्ध विमानस्थल, लुक्लाको तेजिङ–हिलारी विमानस्थल, भरतपुर विमानस्थल, सिमिकोट विमानस्थल र नेपालगञ्ज विमानस्थल नाफामा छन्।

बढी घाटामा जाने १० विमानस्थल

प्राधिकरणले दिएको जानकारीअनुसार गत आवमा सबैभन्दा बढी घाटामा गएको जनकपुर विमानस्थल हो। यो विमानस्थलको घाटा एक करोड ८० लाख रुपैयाँ छ। यसैगरी धनगढी, सिमरा, सुर्खेत, विराटनगर, जुम्ला, रुकुम, रुम्जाटार, थामखर्क र तुम्लिङटार विमानस्थल पनि घाटामा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.