भोक लाग्यो ? 'कांग्रेस क्यान्टिन' छ नी !

भोक लाग्यो ? 'कांग्रेस क्यान्टिन' छ नी !

 काठमाडौं  : चुनावपछि ठूलो दल बनेको नेकपा यतिबेला सरकारमा छ । प्रतिपक्षमा छ, कांग्रेस । ठूलो पार्टीको हैसियतले सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो । नेता, कार्यकर्ता र शुभेच्छुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ । नेकपाकै कतिपय नेतालाई दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् । उनीहरू खाजा खान होस् वा भेटघाट गर्न, ‘कांग्रेस क्यान्टिन’ पुग्छन् ।

साउन ३० गते बुधबार दिउँसो १ बजे । उक्त क्यान्टिन पुग्दा नेकपाका नेता यमलाल कँडेल खाजा खाँदै पत्रकारसँग गफिइरहेका थिए । केही समय बसेर उनी आफ्नो कार्यालयतिर लागे । कँडेलमात्र हैन, नेकपाका धेरै नेता, शुभेच्छुक दिउँसोतिर त्यही क्यान्टिनमा भेटिन्छन् । कांग्रेस र नेकपाको संसदीय दलको कार्यालयमा एक मिनेटको पनि दूरी छैन । वल्लो–पल्लो भवन हो । छिमेकी भएर बसेका छन् । नेताहरू प्रायः एउटै क्यान्टिनमा भेटिन्छन् । खाजा खाँदै एकअर्कासँग बसेर गफिइरहन्छन् ।

दुई ठूला दललाई दर्बिलो गरी जोडेको छ यो क्यान्टिनले । डोटीबाट निर्वाचित नेकपाका सांसद प्रेम आलेमगर सिंहदरबार गएका बेला कांग्रेस संसदीय दलको क्यान्टिनमा प्रायः छिर्ने गर्छन् । खाजा खान यो क्यान्टिन उपयुक्त लाग्छ, उनलाई । ‘धेरै थरीका परिकार पकाइएका हुन्छन्, रोजेर खान पाइन्छ’, उनले अन्नपूर्णसँग भने, ‘मचाहिँ प्रायः फापरको रोटी र मकै खान्छु । यसले स्वास्थ्यमा फाइदा पुर्‍याउँछ ।’

क्यान्टिन फराकिलो र चहलपहल हुने भएकाले आफू खाजा खान आउने गरेको उनको भनाइ छ । साथीसँग भेटघाट र गफ गर्न पनि उनलाई यही क्यान्टिन सजिलो लाग्छ । ‘जिल्लाबाट आएका मान्छेलाई भेट्नुपर्ने हुन्छ । क्यान्टिनमा बसेर चिया खाँदै गफ गर्न सजिलो हुन्छ’, उनले भने, ‘हाम्रोतिरको क्यान्टिन अलि साँघुरो छ । धेरै परिकार पनि पाक्दैन ।’ नेकपाकै नेता कार्यकर्ता कांग्रेस क्यान्टिनमा आइदिँदा नेकपा संसदीय दलको क्यान्टिन भने दिनभर शून्य हुन्छ । अर्डर गर्ने मान्छे पनि हुँदैनन् । मान्छे नभएपछि खाजा पाक्ने कुरै भएन ।

आफूले धेरै परिकार नपकाएकाले मान्छे नआएको बताउँछिन् एमाले संसदीय दलमा क्यान्टिन चलाएर बसेकी हिमा सुवेदी । उनी दैनिक २/३ थरी परिकारमात्र पकाउँछिन् । प्रायः फापरको रोटी, मकै र गेडागुडीको तरकारी । क्यान्टिनबाट दैनिक १६/१७ वटा फापरका रोटी बिक्री हुने गरेको सुनाउँछिन्, उनी । ‘चिया पकाउन ४ पोका दूध ल्याउने गरेको छु, चिया पनि धेरै बिक्दैन’, उनले भनिन्, ‘बस्ने ठाउँ सानो छ । किचेन पनि साँघुरो छ । यस्तो ठाउँमा खासै क्यान्टिन नै चल्दैन । नेताज्यूहरू पल्लो क्यान्टिन (कांग्रेस संसदीय दलको क्यान्टिन) मै जानुहुन्छ ।’

कांग्रेस क्यान्टिनमा भने दिउँसो बस्ने ठाउँसम्म हुँदैन । खाजा खानेको भीड लाग्छ । बस्ने ठाउँ नपाएपछि उभिएरै खाजा खानुपर्ने बाध्यता पनि हुन्छ । क्यान्टिनका ५० वटै कुर्सी खाली हुँदैनन् । छेउमा रहेको खाली जमिनमा उभिएरसमेत खान्छन् ग्राहक । ‘दिउँसो १–३ बजेसम्म त हामीलाई एकछिन बस्ने फुर्सद पनि हुँदैन’, क्यान्टिन चलाउँदै आएका राजाराम श्रेष्ठ भन्छन्, ‘अर्डर लिनुपर्‍यो, पुर्‍याउनुपर्‍यो, पैसा लिनुपर्‍यो । कामै काम हुन्छ ।’

साउन ३१ बिहीबार बिहान १० बजेतिर उक्त क्यान्टिन पुग्दा फाट्टफुट्ट मान्छे आउन थालिसकेका थिए । राजाराम भन्छन्, ‘कांग्रेसका मात्रै हैन, नेकपाका नेता पनि खाजा खान यहीँ आउनुुहुन्छ । सिंहदरबारमा काम भएर आउने जो–कोही खाजा खान यहीँ पस्छन् । संसद् सचिवालयबाट पनि आउनुहुन्छ । सबैको जमघट गर्ने थलोजस्तो बनेको छ यो ।’

स्वस्थ खानेकुरा पाइने भएकाले पनि आफ्नो क्यान्टिनमा मान्छे झुम्मिने गरेको उनको ठम्याइ छ । नेताहरूको स्वास्थ्यलाई हेरेर खाजा पकाउने गरेको बताउँछन् उनी । ‘नेताहरू विभिन्न रोगबाट ग्रस्त छन् । क्यान्टिनमा देश हाँक्ने नेताहरू आइपुग्छन् । उनीहरूको स्वास्थ्यलाई ख्याल गरेर खाजा बनाउनु पर्छ’, उनले भने । नेताहरू प्रायः मकै, फापरको रोटी, मोही खान्छन् । फापरको रोटी धेरै बिक्छ यो क्यान्टिनमा । पेटलाई फाइदा पुर्‍याउने भएकाले नेताको रोजाइमा परेको उनको बुझाइ छ ।

राजारामको परिवारले दैनिक २१ थरीका खानेकुरा बनाउँछन् । घट्दा पनि १४ थरी त सधैं पाकेकै हुन्छ । यहाँ पाक्ने फापरको रोटी, मेथीको अचार, लौकाको तरकारी, सिस्नुको साग, मासको बाराजस्ता परिकारले धेरैको ध्यान तान्ने गरेको छ । ‘स्वास्थ्यका लागि फाइदा हुने खानेकुरा पकाउँछौं हामी’, राजारामकी आमा मैया भन्छिन् । मैयाले ०४९ सालतिर यो क्यान्टिन खोलेकी थिइन् । त्यसयता उनको परिवारले सिंहदरबारमा आउनेहरूलाई विभिन्न परिकार बनाएर खुवाइरहेकै छ ।

परिकार राखिएका भाँडा बेलुका ७ बजेसम्म सबै रित्तिन्छन् । दैनिक २ सय गिलाससम्म चिया बिक्छ । ५० गिलासभन्दा माथि त मोही नै बिक्छ । मैया भन्छिन्, ‘हाम्रामा स्वस्थ र मिठो खानेकुरा पाइन्छ त्यसैले त मान्छे आउँछन् र खान्छन् । क्यान्टिन राम्रैसँग चलेको छ ।’

कांग्रेस संसदीयदलको कार्यालयमा रहेको यो क्यान्टिन २०४९ सालमा खुलेको हो । मैया श्रेष्ठका पति काशिराम सिंहदरबारस्थित संसद् सचिवालयका कनिष्ठ कर्मचारी थिए । त्यसैले उनले ठुल्ठूला नेतालाई चिनेका थिए । नेताहरूले पनि उनलाई चिन्थे । परिवार चल्न गाह्रो थियो । नेताहरूले सहानभूतिपूर्वक मैयालाई क्यान्टिन खोल्न अवसर दिए । ‘यहाँ आउनुअघि आमाले रत्नपार्कमा काँक्रोलगायत फलफूल बेच्नुहुन्थ्यो नाङ्लामा’, मैयाका छोरा राजारामले भने, ‘यहाँ क्यान्टिन चलाउन पाएपछि खानेकुरा पकाएर बेच्न थाल्नुभयो ।’

त्यतिबेला मासु, रोटीलगायत ७/८ परिकार पकाउँथिन् मैया । २०७१ सालसम्म मासु पाक्ने क्यान्टिनमा हिजोआज पाक्दैन । त्यतिबेला यहाँको विशेष खाजा नै कुखुरा र खसीको मासु थियो । ‘ग्रेभी’ मासु र रोटी खान्थे नेताहरू । ‘खाजाका लागि मासु पकाउँथे । मान्छेहरू मासु र रोटी मिठो मानेर खान्थे’, मैयाले भनिन् । मासुले स्वास्थ्यलाई फाइदा नहुने भन्दै अहिले मासु पकाउन छाडिएको छ । ‘पकाएपछि खान मन लाग्छ । खाएपछि रोग लाग्छ । पकाउनै छाडिदिऔं । अरू पनि निकै थोक बनाएकै छौं । आफूलाई जेले फाइदा गर्छ त्यही खानुपर्छ’, उनले भनिन् ।

खासमा आफ्नोभन्दा नेताहरूको स्वाथ्य हेरेका हुन् उनीहरूले । मासु नपाकेर के भयो, थरीथरीका परिकार पाकेकै छन् । ग्राहक पल्किएकै छन् ।

गरिखानु त यसरी ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.