पहिरोले १० घर बगायो
विदुर : अविरल वर्षात्सँगै आएको बाढीपहिरोले नुवाकोटका विभिन्न स्थानमा १० घर बगाएको छ। २६ घर विस्थापित भएका छन् भने एक सय रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीपहिरोले कटान गरेको छ। पहाडी संरचना रहेको नुवाकोटमा बाढी र पहिरोले करोडौंको क्षति गरिसकेको छ। विभिन्न स्थानमा आएको पहिरो र बाढीले घर, चौपाया तथा धनमाल नष्ट गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेको २० मुरी धान, लत्ताकपडा, नगद ८५ हजार रुपैयाँ क्षति भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। तामाङको २ लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ।
सोही स्थानमा धनबहादुर तामाङको घर र घरमा रहेको २० मुरी धानसमेत बगाउँदा एक लाख रुपैयाँको क्षति भएको छ। सोही स्थानमा जीतबहादुर तामाङको ८ रोपनी खेत, रुद्रबहादुर तामाङको ३ रोपनी, कृष्णबहादुर तामाङको ३ रोपनी, नुरबतासीबहादुर तामाङको ३ रोपनी खेतसमेत खोलाले बगाएर बगर बनाएको नुवाकोट प्रहरीले जनाएको छ।
बेलकोटगढी नगरपालिका–११ अमारेमा अमारे खोलामा आएको बाढीले हरिभक्त तिवारीको २ वटा घर र घरमा रहेको किराना पसल, मासु पसलसमेत बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले बताए। पसल सञ्चालक रामराजा तामाङ र उनकी पत्नी शुभलक्ष्मी घाइते भएको र बाढीको कारण ८ लाख रुपैयाँको क्षति भएको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए।
पहिरोले शिवपुरी गाउँपालिका–६ थानाभञ्ज्याङका मनोज लामा र डिलबहादुर तामाङको घर बगाएको छ। घरमा रहेका तीनवटा बाख्रा, अन्नपात, लत्ताकपडासमेत बगाएको छ।
नुवाकोट प्रहरीका अनुसार, पहिरोले दुई घर बगाउँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। तादी गाउँपालिका–६ आलडाँडाका डोरबहादुर तामाङकोे २ वटा र मुकेश तामाङको एउटा घर पहिरोले बगाएको छ।
पहिरोबाट मानवीय क्षति हुन पाएन भने २५ वटा बाख्रा र गाईगोरु पनि बगाएको छ भने अन्नपात र लत्ताकपडा नष्ट भएका छन्। उनीहरुको ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ।
विदुर नपा–२ पाटीपानीका अर्जुन कसाईको घर पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ। बाढी बस्तीमा समेत पस्दा ५ घर उच्च जोखिममा परेका छन् भने सयौं रोपनी जग्गा कटान गरेको छ। अविरल वर्षाले किस्पाङ गाउँपालिका–३ मा वितण्डा मच्चाएको छ।
सलाखु खोलामा आएको बाढीले करिब १७ रोपनी जग्गा र लाखौंको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ। बाढीले सय मिटर लम्बाई भएको झोलुंगे पुलसमेत पूर्णरुपमा क्षति पु¥याएको छ।
नुवाकोटको पुर्वी भेगमा रहेको पञ्चकन्या गापा–४ गोलेटोलमा अविरल वर्षाका कारण उक्त स्थानमा रहेका २६ घर उच्च जोखिममा छन्। केही घर जोखिममा परेपछि प्रभावितलाई उदय जाल्पा माविको भवनमा स्थानान्तरण गरिएको छ।