राप्रपामा सक्रिय सदस्यता अभियान

राप्रपामा सक्रिय सदस्यता अभियान

काठमाडौं : राप्रपाले सक्रिय सदस्यता वितरण अभियान सुरु गरेको छ । राप्रपाले पहिलो पटक सक्रिय सदस्यता वितरण गर्न लागेको हो । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आइतबार आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनबाट पहिलो सक्रिय सदस्यता लिएर अभियानको औपचारिक सुरुवात गरे ।

त्यसपछि अध्यक्ष थापाले उपाध्यक्ष बुद्धिमान तामाङ, टंक ढकाल, महामन्त्री राजेन्द्र लिङ्देन, वरिष्ठ नेता बालाराम घर्तीमगर, कोषाध्यक्ष उद्धव पौडेल, सहमहामन्त्री चन्द्रबहादुर गुरुङ, सचिवालय प्रमुख भास्कर भद्रालगायत पदाधिकारी र सदस्यहरूलाई सक्रिय सदस्यता वितरण गरे । पार्टी कार्यालयमा ५ सयभन्दा धेरै नेता कार्यकर्तालाई सक्रिय सदस्यता वितरण गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘यो अभियान आज शुभारम्भ भएको हो, अब निरन्तर जारी रहनेछ । यसलाई हामी देशव्यापी लैजान्छौं ।’

गत जेठमा वीरगन्जमा भएको केन्द्रीय परिषद् बैठकको निर्णयअनुसार संगठन विभागले कार्यविधि बनाएर सक्रिय सदस्यता वितरण अभियान थालेको महामन्त्री लिङ्देनले बताए । उनले भने, ‘हामीले मंसिरसम्म ५० हजार सक्रिय सदस्य बनाउँछौं र सक्रिय सदस्यकै बलमा पार्टीको एजेन्डा स्थापित गर्न जनपरिचालन गर्छौं ।’

अब राप्रपाका पुराना सदस्यले पनि अनिवार्य रूपमा सदस्यता नवीकरण गर्नुपर्ने भएको छ । राप्रपालाई स्मार्ट पार्टी बनाउने अभियानअन्तर्गत सफ्टवेयर निर्माण गरी सबै किसिमका सदस्यको इलेक्ट्रोनिक अभिलेखिकरणको तयारी गरिएको प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।

यसअघिको गाउँ, नगर, क्षेत्र र जिल्लाको प्रतिनिधित्वका आधारमा महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था परिवर्तन गरी राप्रपाले सक्रिय सदस्यका आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्ने विषयमा छलफल थालेको छ । यस्तै पार्टीको विधान संशोधन गर्न उपाध्यक्ष तामाङको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

‘सरकारले अपेक्षाअनुसार काम गर्न सकेन’

अध्यक्ष कमल थापाले जनअपेक्षा बमोजिम सरकारले काम गर्न नसकेको बताएका छन् । पार्टी कार्यालयमा सक्रिय सदस्यता वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘सरकारप्रति जनताको ठूलो अपेक्षा थियो, तर दुई तिहाइको सरकारले जनताको आशाअनुरूप सामान्य उज्यालो पनि देखाउन सकेन ।’

 ‘सरकारप्रति जनताको ठूलो अपेक्षा थियो, तर दुई तिहाइको सरकारले जनताको आशाअनुरूप सामान्य उज्यालो पनि देखाउन सकेन ।’
–कमल थापा, अध्यक्ष, राप्रपा

उनले सरकारका ६ महिनाका कामकारवाहीले राप्रपाले अवलम्बन गरेको हिन्दु राष्ट्र, राजसंस्था र स्थानीय स्वायत्त शासनको महत्व झन् बढेको दाबी गरे । ‘संघीयता पक्षधरले नै संघीयता उचित छैन भन्न थालेका छन्, राजसंस्थाको आवश्यकताबारे बहस हुन थालेका छन्’, उनले भने, ‘संघीयता, गणतन्त्र र धर्म निरपेक्षता देशले धान्न नसक्ने अहिले नै प्रमाणित भइसक्यो ।’

उनले जनताको ढाड सेक्ने गरी सरकारले बढाएका करको पनि आलोचना गरे । उनले सरोकारवालासँग आवश्यक परामर्श नगरी फौजदारी र देवानी संहिता लागू गरेको भन्दै असन्तुष्ट पक्षको आवाज सुन्न सरकारको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.