माया गराैं मानविकीलाई
चितवन घर भएकी ममता आचार्य काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा बीए प्रथम वर्षमा अध्ययन गर्छिन् । पत्रकारिता र अंग्रेजी मुख्य विषयमा अध्ययनरत उनी यस क्षेत्रमा राम्रो भविष्य देखेर अध्ययन गरिरहेको बताउँछिन् । ‘पत्रकारिता गर्ने मेरो बालकालैदेखिको चाहना हो । मलाई पत्रकार भएको हेर्ने चाहना बाबाको पनि हो’, ममता भन्छिन्, ‘बाबाको इच्छासँगै मैले पत्रकारिता विषय रोजेकी हुँ ।’ अवसर सबै विषयसँग जोडिएका हुन्छन्, तर आफूले पत्रकारितामा अवसर र करिअर खोजेको आचार्य बताउँछिन् ।
हालसालै मात्र प्लस टुको नजिता सार्वजनिक भएको छ । अहिलेको समय स्नातकमा भर्ना गर्ने हो । प्लस टुमा जुन विषय लिएर अध्ययन गरेको हो सोही विषयमा नै अध्ययन गर्दा उत्तम हुन्छ । प्लस टु लेभल विषयबारे आधारभूत जानकारी गराउने तह हो । प्लस टुमा छनोट गर्ने विषय भविष्यको जग हो । प्लस टुमा पढेका विषय विश्वविद्यालयमा गएर अझ विस्तृत रूपमा अध्ययन गर्नुपर्ने हुन्छ । जोकोहीले करिअरको सुरुवात आफूमा निहित प्रतिभाअनुसार सुरु गर्नु अझ उत्तम हुन्छ । आफूमा भएको प्रतिभालाई समयानुकूल शिक्षा र अवसरसँग जोड्न सके अझ प्रभावकारी हुने विज्ञहरूको सुझाव छ ।
प्रतिष्ठासँग जोडिएको विषय
मानविकी संकाय (कला विज्ञान) समाजमा प्रतिष्ठासँग जोडिएको विषय भनेर चिनिने गरेका छ । यस संकायभित्र विभिन्न विधा छन् । जहाँ धेरै विषय रोज्ने सुविधा हुन्छ । पत्रकारिता, कानुन, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, साहित्यलगायत विषय मानविकी संकायअन्तर्गत रहेका छन् । त्यसैले यसलाई समाजमा प्रतिष्ठासँग जोडिएको विषय भनिएको हो । यो संकायमा अध्ययन गरेका विद्यार्थी समाजसँग बढी नजिक हुन्छन् । जुनसुकै विषय अध्ययन गरे पनि समाजसँग प्रत्यक्ष सरोकार रहन्छ । पत्रकारिता समाजको ऐना हो । समाजमा घटेका घटना जस्ताको त्यस्तै देखाउने काम पत्रकारिताले गर्छ । जिम्मेवार पत्रकारको दायित्व समाज विकासको गहन जिम्मेवारी निभाउनु हो । आमसञ्चारले समाजमा रहेका र लुकेका विषय वा सूचनालाई आममानिसमाझ पु¥याउनने काम गर्छ ।
पछिल्ला तीन वर्षमा कानुन विषय कर्मचारी, सुरक्षाकर्मी, दलका नेता, पत्रकार सबैको रोजाइ बनेको छ । पछिल्लो समय कानुन विषय फेसन जस्तै भएको छ । यो विधामा जागिरको सम्भावना पनि निकै धेरै छ । अर्कोतर्फ आफंै पनि स्वरोजगारमूलक काम गर्ने अवसर यसमा रहन्छ । अन्य विषयभन्दा कानुन व्यावहारिक मानिन्छ । यसकारण विद्यार्थीको आकर्षण यसमा बढेको जानकारहरू बताउँछन् ।
त्रिविले स्नातक तहमा तीनबर्से एलएलबी र पाँचबर्से बीएएलएलबी कक्षा सञ्चालन गरेको छ । स्नातकोत्तर तहमा चार सेमेस्टर र छ सेमेस्टर कक्षा सञ्चालन गरेको छ । त्रिभुवन विश्वविद्यालय तथा यसअन्तर्गत छ वटा आंगिक र दुई वटा निजी क्याम्पसका साथै पूर्वाञ्चल विश्वविद्यालयमा मात्र कानुन विषयको पढाइ हुने गर्छ ।
संघीयता लागु भएसँगै स्थानीय तहमा कानुन विषय पढेको जनशक्ति चाहिने भएकाले पनि यसप्रति आकर्षण बढेको हो भन्न सकिन्छ । सरकारी कार्यालयमा प्रमुख हुनका लागि कर्मचारीले अनिवार्य कानुन विषय पढेको हुनुपर्ने र बढुवाका लागि पनि कानुन विषय सहज हुने प्रावधानले यो विषय पढ्नेको संख्या वृद्धि भएको उच्च शिक्षालयहरूको अनुमान छ । समाजशास्त्र विषय अध्ययनमा पनि आकर्षण बढेको छ । समाजशास्त्र मानव समाजको अध्ययन हो । यो सामाजिक विज्ञानको एक शाखा हो । जो मानवीय सामाजिक संरचना र गतिविधिसँग सम्बन्धित जानकारीको ज्ञान दिने गर्छ । त्यसले विकासका लागि अनुभवजन्य विवेचना र विवेचनात्मक विश्लेषणको विभिन्न पद्धतिलाई उपयोग गर्ने ज्ञानको दायर बढाउँछ ।
अन्य विषयको तुलनामा समाजशास्त्रको क्षेत्र सबैभन्दा ठूलो भएको रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राध्यापक योगेशप्रसाद जोशीको भनाइ छ । समाजशास्त्रले सबै विषयसँग सम्बन्ध राख्ने र मानव सभ्यतादेखि मानवको व्यवहारसँग यसको सम्बन्ध रहेको उनको भनाइ छ ।
‘सबै विषय समाजशास्त्रबाट प्रभावित भएको हुन्छ’, जोशीले भने, ‘अनुसन्धान, सामाजिक व्यवस्था, सांस्कृतिक व्यवस्था, आर्थिक व्यवस्था, राजनीतिक व्यवस्थालाई समाजशास्त्रले छोएको हुन्छ । मानव जन्मेदेखि नमरेसम्म उसका सम्पूर्ण क्रिया, घटनासँग अध्ययनको विषय जोडिन्छ ।’
समाजशास्त्रको माग विस्तार हुँदै गएको उनी बताउँछन् । आगामी वर्षदेखि नौ कक्षादेखि १२ कक्षासम्म अनिवार्य रूपमा सोसल स्टडी समावेश हुने भएको उनले जानकारी दिए । सामाजिकीकरण प्रक्रियासँग जोड्ने भएकाले यसको क्षेत्र फराकिलो भएको उनको हो । हरेक विषयमा समाजशास्त्रीय अध्ययनसँग जोडिएको छ । मान्छेलाई मान्छे बनाउने अवस्था, के कारणले समाजमा परिवर्तन आएको हो भन्ने कुराको गहन अध्ययनका लागि समाजशास्त्र आवश्यक छ ।
अवसरको छैन खाँचो
अवसर र सम्भावना हरेक विषयमा हुन्छ । हरेक व्यक्तिको सोच र चाहना फरक हुन सक्छ । कसैले व्यवस्थापनमा अवसर देख्ला, नदेख्ला । मानविकी संकायमा पनि अवसर नै छैन भन्नेहरू पनि भेटिएलान् । तर बृहत् कार्यक्षेत्र समेटिएको मानविकी संकायमा अवसरको खाँचो भने नभएको मानविकीका ज्ञाताहरू बताउँछन् । पत्रकारिता, राजनीति, भाषाशास्त्र, समाजशास्त्र, वातावरण, अर्थशास्त्र, संगीत, मनोविज्ञान, नीतिशास्त्र साहित्यलगायत क्षेत्रमा लाग्न चाहनेका लागि यो संकाय अध्ययन अनिवार्य जस्तै छ । राजनीति विज्ञान, गृह विज्ञान, अर्थशास्त्र, समाजशास्त्र, जनसंख्या, पत्रकारिता, दर्शशनशास्त्र, इतिहास, संस्कृति, म्युजिक, नृत्य, मनोविज्ञान, ग्रामिण विकास, इन्भारोमेन्ट शिक्षाशास्त्र, ज्योतिष, साहित्य, न्याय, नीतिशास्त्र, लाइब्रेरी, सूचनाप्रविधि, जियोग्राफीलगायत विषय मानविकी संकायभित्र पर्छ । यसैले यो संकायमा अवसर र दायरा फराकिलो छ ।
फराकिलो दायरा
मानविकीभित्र स्नातक तहमा अध्ययन गरिने विषयले समग्र मानव जातिको विकासदेखि समाजका विविध आयाम हुँदै राष्ट्रका महत्ववपूर्ण एजेन्डासमेतमा विद्यार्थीले आफूलाई घुलमिल गराउन सक्छन् । यी विषयमा पकड जमाउने विद्यार्थीले भोलिका दिनमा सरकारी वा गैरसरकारी क्षेत्रमा रहेर योजना बनाउने, कार्यान्वयन गराउने र सामाजिक काममा नेतृत्व गर्नेसम्मको हैसियत राख्ने भएकाले यसको क्षेत्र फराकिलो देखिन्छ र प्रतिष्ठित पनि । त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी संकायको स्नातक तहमा पत्रकारिता, ग्रामीण विकास, समाजशास्त्र, राजनीतिक विकास र आर्थिक विकासलगायत विषय (ग्रामीण विकास र समाजशास्त्रभित्र विकास अध्ययन) पढाइ भइरहेका छन् ।