पढ्दै हिमाल चढ्दै

पढ्दै हिमाल चढ्दै

पढाइ भनेको किताबी ज्ञान मात्र हो भन्ने बुझाइ अहिले पनि व्याप्त छ। अथवा पढेपछि कि त डाक्टर, इन्जिनियर, पाइलट वा शिक्षक बन्नुपर्छ, होइन भने सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारीमा लाग्नुपर्छ भन्ने चाहना धेरैको छ।

विस्तारै यो शैलीको पढाइको विकल्पमा नयाँ नयाँ विधाहरूको ‘इन्ट्रोड्युस’ हुँदै छन्। किताब घोकेर मात्र होइन प्रत्यक्ष फिल्डमा घुमेर पनि पढ्न सकिन्छ र यस्तै पढाइबाट जीवन निर्वाह गर्न सकिन्छ भन्ने आत्मविश्वास यस्ता विधाहरूले दिइरहेका छन्। यस्तै विषयमध्येको एक हो माउन्टेनेरिङ। सरकारले पहिलो पटक हिमाल आरोहण मात्र नभएर अध्ययनसमेत गर्न पाउने गरी विश्वमै पहिलो पटक स्नातक तहका लागि ब्याच्लर अफ माउटेनेरिङ स्टडी (बीएमएस) को पढाइ सुरु गरेको छ।

अध्ययन प्रमाणपत्रमा मात्र सीमित नराखी प्राविधिक विषयका रूपमा दक्षता हासिल गराउने लक्ष्यले गत वर्षदेखि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले यो पढाइ सुरु गरेको हो। मानवसँग हिमालको सम्बन्ध जोडिएको ६५ वर्षसम्म हिमाललाई आरोहणका लागि मात्र भन्ने बुझाइ रहेपछि अध्ययन गर्न पनि सकिन्छ भनेर अध्ययन सुरु गरेको नेपाल माउन्टेन एकेडेमीका सदस्यसचिव रोमनाथ ज्ञवालीले बताए। अध्ययनअनुसार विश्वभरका २६ देशमा हिमाल छ, यीमध्ये नेपाल सबैभन्दा धेरै हिमाल भएको देशको रूपमा परिचित छ।

 सबैभन्दा अग्ला हिमाल सगरमाथादेखि आठ हजारभन्दा अग्ला १४ वटा हिमालसमेत नेपालमै छन्। यीबाहेकका सुन्दर र प्राविधिक पक्ष उत्कृष्ट आवश्यक पर्ने हिमाल नेपालमै भएकाले हिमाल आरोहणअघि अध्ययन गर्नुपर्ने आवश्यक भएकाले विश्वका आरोहीहरूलाई हिमालसम्बन्धी ज्ञान दिलाउन अध्ययनले सहयोग पुर्‍याउने ज्ञवालीले बताए। सरकारले ६ हजार ५ सयभन्दा माथिका चार सय ७६ हिमाल आरोहणका लागि उपयुक्त भनी पहिचान गरेको छ। नेपालमा पाँच सय बढी हिमाल छन् सरकारले यीमध्ये चार सय तीन वटा पहिचान गरी आरोहणका लागि खुला गरिसकेको छ।

एक वर्ष अघिदेखि सुरु भएको पढाइमा हाल २३ जना विद्यार्थी अध्ययनरत रहेका एकेडेमीका सूचना अधिकारी उत्तम भट्टराईले बताए। दोस्रो ब्याजका विद्यार्थी भर्ना हुने क्रममा छन्, चीन भारत र अन्य मुलुकका विद्यार्थीसमेत सम्पर्कमा आएको उनले बताए। यो विषय अध्ययनका लागि ज्ञान पर्याप्त भएर मात्र पुग्दैन, शारीरिक रूपमा सक्षम हुनु जरुरी हुन आउँछ त्यसैले पनि यो विषय अध्ययन जोसुकैको रोजाइमा पर्न सक्दैन।

हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका प्राविधिक जनशक्तिमध्ये ५८ जना पर्वतारोहण पथ प्रर्दशकका रूपमा अन्तर्राष्ट्रिय जगत्ले मान्यता दिइसकेको छ। दुई दर्जनबढी अन्तर्राष्ट्रियस्तरको तालिम पूरा गरिसकेपछि दक्षजनशक्तिको रूपमा मान्यता दिने गरेको छ। तर यी जनशक्तिलाई नेपाल सरकारले कुनै पनि मान्यता दिन सकेको छैन। प्राविधिक शिक्षाको रूपमा सीप परीक्षण गरी सीटीईभीटीबाट मान्यता दिने निर्णय गरे पनि हालसम्म गाइडहरूको दक्षता प्रमाणित गर्न सकिएको छैन। यस्ता समस्या पछिल्लो पुस्तामा नहोस् भन्ने लक्ष्यले स्नातक तहदेखि हिमाल अध्ययनसम्बन्धी व्यवस्था गरेको हो।

पढाइको प्रकृति 

विश्वमै हिमालको हबको रूपमा चिनिएको देश नेपालमा हिमाल विषयको पढाइ हुँदा पर्यटन विकास हुने विश्वास लिएको एकेडेमीले जनाएको छ। चारबर्से कोर्स पूरा गर्न सातौं र आठौं सेमेस्टरमा विद्यार्थीले ६ हजार र ७ हजार मिटर उचाइको हिमाल अनिवार्य आरोहण गर्नुपर्नेछ। पर्यटनविद् प्राध्यापक डाक्टर रमेशराज कुँवरको प्राज्ञिक संयोजकत्वमा विज्ञहरूको सहभागितामा स्नातक तहको पाठ्यक्रम निर्माण गरिएको हो। यो समितिले स्नातकोत्तर तहको समेत पाठ्यक्रम तयार गरिसकेको छ।

पाठ्यक्रममा सैद्धान्तिकभन्दा प्रयोगात्मकलाई प्राथमिकता दिएको छ। कोर्स पूरा गर्दा पर्यापर्यटन, व्यवस्थापन, हिमालय हेरिटेज, वाल क्लाइम्बिङ, पैदल यात्रा, पर्वतारोहणमा मानवशास्त्र र समाजशास्त्र, नेपाली हिमालको भौगोलिक अध्ययन, नेपालको पर्यटन, साना हिमालसम्मको यात्रा र आरोहण गर्नुपर्ने पाठ्यक्रम रहेको छ। पाँचौं सेमेस्टरमा फ्रेन्च भाषा, हिमाल, वातावरण र पर्यटन क्षेत्रको अध्ययन, आरोहणमा सुरक्षा, हिमालको आधारभूत आरोहण पढाइ हुन्छन्। 

६ सेमेस्टेरपछि पर्यटन कानुन, आरोहण व्यवस्थापन, मानवीय स्रोतको व्यवस्थापनदेखि ६ हजारदेखि ७ हजारसम्मका हिमालको सफल आरोहणसमेत गर्नुपर्ने छ। अग्ला हिमालैहिमालको देश नेपाल भएकाले विदेशीलाई हिमाल पढाउन नेपाल भित्र्याउने लक्ष्य यो विषयको रहेको छ। अधिकांश नेपालीलाई हिमालबारे जानकारी छैन, यसैले हिमालका संस्कृति, हिमालमा हुने र गर्न सकिने गतिविधि, हिमालको महत्व, संसारभर यो पढाइको अध्ययनबाट सन्देश पुग्ने छ।

त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिएर एकेडेमीले छुट्टै पाठ्यक्रम निर्माण गरी चार वर्षका लागि अध्ययन सुरु गरेको हो। तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सन् १९५३ मा सगरमाथाको सफल आरोहणदेखि हिमालसँग मानवीय सम्बन्ध आधिकारिक रूपमा जोडिएको ६५ वर्ष बिते पनि परम्परागत पद्धति मात्र भएकाले अध्ययनलाई प्रयोगात्मक रूपमा बढी जोड दिइएको हो। कीर्तिमान बनाउन मात्रै आरोहण गरिँदै आएको हिमाललाई अब नेपालबाटै विश्वभरका विद्यार्थीले पढ्न पाइने भएको छ। चार वर्षयतादेखि तयारी थालेको एकेडेमीले ०७३ माघमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो।

पढाइ पछि भविष्व

मेनेजमेन्ट विषयअन्तर्गत पढाइ हुने बीएमएस पढ्न कक्षा १२ मा ४५ प्रतिशतभन्दा माथि अंक प्राप्त गरी पास गरेको र हिमालसम्बन्धी पढाइमा रुचि राख्ने विद्यार्थी भर्ना हुन पाउने व्यवस्था छ। विश्वमा हिमाल आरोहण र गाइड गर्ने आरोहीहरू परम्परागत र तालिम प्राप्त गरी दुई प्रकारका छन्। प्राकृतिक र परम्परागत रूपमा हिमाल आरोहण गर्ने गरे पनि मान्यताप्राप्त प्रमाणपत्र उनीहरूले पाउन सकेका छैनन्। प्रमाणपत्र अभावमा आरोही र गाइड मजदुरहरूले सरकारी सेवामा प्रवेश गर्न पाएका छैनन्। 

आरोहणका क्रममा दुर्घटनाहरू हुदाँ उच्च क्षेत्रमा उद्धारमा खटिने जनशक्ति सेना, प्रहरीसँग समेत छैन। उद्धारलाई व्यवस्थित गर्न पर्वतारोहीहरूलाई प्रयोग गर्नुको विकल्प छैन। यो विषय अध्ययनपछि सैद्धान्तिक र प्रयोगात्मक रूपमा दक्ष हुने हुनाले धेरै अवसर पाउनेमा दुई मत छैन। यो विषय अध्ययनपछि सरकारी सेवामा प्रवेशदेखि विश्वका हिमालमा आधिकारिक रूपमा आरोहण, गाइड, मजदुरी गर्न र अध्ययन अवलोकन गर्न अवसर पाइने छ।

कोर्ष अध्यनका विषेशता

१, ब्याच्लर अफ माउन्टेनेरिङ स्टडी (बीएमएस) कोर्स पूरा गर्न ६ हजारदेखि ७ हजारसम्मका हिमालको सफल आरोहण गर्नुपर्ने।

२. प्रत्येक सेमेस्टरमा पैदलयात्रा र फिल्ड रिपोर्टिङ गर्नुपर्ने।

३. वाल क्ल्याइम्बिङ र साना हिमालको आरोहण फिल्डमै गएर गर्नु पर्ने।

४. फिल्डमै हाई अल्टिच्युडको व्यवस्थापन र मानवीय व्यवस्थापन गर्नुपर्ने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.