वडाअध्यक्षको तलब वडा विकासमा
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्षले आफ्नो तलबभत्ताको सम्पूर्ण रकम वडाको विकासमा खर्चिने घोषणा गरेका छन्।जनकपुरधाम उपमहानगरपालिका- ४ का वडाध्यक्ष सुदर्शन सिंहले आफूले पाउने तलब र सम्पूर्ण सुविधा बापतको रकम वडाको विकासमा खर्च गर्ने बताएका छन्।
उनले सोमबार बिहान सञ्चारकर्मीमाझ प्रतिबद्धता व्यक्त गर्दै यस्तो घोषणा गरेका हुन्।हाल दश महिनामा आफूले पाएको तलब पहिलो चरणमा सडक मर्मतमा खर्च गर्ने उनले जानकारी गराए। आफू निर्वाचित भएदेखि हालसम्म १० महिनामा तलबबापत पाएको २ लाख ५० हजार र भत्ताबापत पाएको ४५ हजार गरी जम्मा २ लाख ९५ हजार वडाभित्र पर्ने सडकको मर्मत संभारमा खर्चिने बताए।
२४ वटा सडकमध्ये जीर्ण र खाल्डाखुल्डी भएकालाई तत्काल मर्मत गर्ने सिंहको योजना छ। राष्ट्रिय जनता पार्टी नेपालबाट स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष पदमा निर्वाचित भएका ३२ वर्षीय सिंहले आफ्नो तलबभत्तामा जनताकै अधिकार भएको हुँदा यस्तो निर्णय गरेको बताए।
उनले भने, 'जनकपुर उपमहानगरपालिकाको २५ वटा वडामध्ये सबैभन्दा बढी जनसंख्या भएको वडा मेरै हो। यस वडाको वडाध्यक्षमा जनताले सर्वाधिक मत दिएर विजयी गराएका हुन्। यस्तो अवस्थामा जनताको भावनाको कदर गर्नु र उनलाई कुनै दुःख कष्टमा साथ दिनु मेरो दायित्व हुन जान्छ।'
'मैले निर्वाचित भएको बेलानै आफ्नो सबै तलबभत्ता समाजकै लागि खर्च गर्ने निधो गरेको थिए, सिंहले थपे सोही योजना अनुसार बल्ल १० महिनाको तलबभत्ता हातमा आएपछि खर्चको योजना सार्वजनिक गरेको हुँ।'
यसपछि पाउने तलबभत्ताबाट समाजमा रहेका वृद्धवृद्धा र असहायको सहयोगमा खर्चिने सिंहले जानकारी गराए। जनकपुरधाम उपमहानगरपालिकाले गत आर्थिक वर्षमा २५ वटै वडामा विकास निर्माणको खर्चका लागि ५१ लाख रकम विनियोजन गरेको थियो।
वडा नम्बर ४ मा सबैभन्दा बढी १५ हजार १ सय ३३ जनसंख्या भएको र यहाँ सबैभन्दा बढी सडक परेपनि सबै वडालाई एकै दायरामा राखेर बजेट विनियोजन गर्दा वडा विकासमा गति दिन समस्या भएको सिंहले बताए।