प्रधानमन्त्री र राष्ट्रपतिसँग प्रदेश सभामुखहरूको यस्तो गुनासो

प्रधानमन्त्री र राष्ट्रपतिसँग प्रदेश सभामुखहरूको यस्तो गुनासो

काठमाडौं : सातवटै प्रदेशका सभामुख र उपसभामुखले कर्मचारी व्यवस्थापन र भौतिक पूर्वाधारको कमीले प्रदेशसभा सञ्चालनमा कठिनाई भएको गुनासो गरेका छन् । संघीय संसद सचिवालयको पहलमा काठमाडौं आएका उनीहरुले संघीय संसदका पदाधिकारी, प्रधानमन्त्री र राष्ट्रपतिसँगको छुट्टाछुट्टै भेटमा प्रदेशसभाका लागि कर्मचारीको दरबन्दी निकै कम भएको र सरकारले अनुभवी कर्मचारी नखटाउँदा प्रदेशसभा सञ्चालनमा कठिनाई भएको गुनासो पोखेका हुन् ।

सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘प्रदेशमा संसदीय अभ्यासमा अनुभव भएका कर्मचारीको कमी छ, कर्मचारीको सरुवा छिटो छिटो हुँदा काम गर्न हामीलाई कठिनाई भएको छ । पूर्वाधारको समस्याबारे पनि हामीले अवगत गरायौं ।’

कर्मचारीको दरबन्दीमा पनि कमी भएको भन्दै सातवटै प्रदेशसभाका सभामुख र उपसभामुखले प्रदेशसभाका लागि स्थायी र अनुभवी कर्मचारीको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । प्रदेश ७ का सभामुख अर्जुनबहादुर थापाले भने, ‘दरबन्दी अनुसार हामीले कर्मचारी पाएका छैनौं भने दरबन्दी संख्या पनि पर्याप्त भएन भनेर हामीले प्रधानमन्त्री र राष्ट्रपतिज्यूको ध्यानाकर्षण गराएका छौं ।’ प्रदेश संसदलाई सरकारले ३६ जना कर्मचारीको दरबन्दी दिएको छ । तर दरबन्दी कम हुँदा विगयगत समिति र संसदीय दललाई कर्मचारी दिन नसकिएको उनीहरुको भनाइ छ ।

सातै प्रदेशका सभामुख उपसभामुखले प्रदेशसभाको बैठक कक्ष, समिति सभाहल, सचिवालय र संसदीय दलका लागि उपयुक्त पूर्वाधार नभएको बताए । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले भने, ‘सबै प्रदेशमा संसद बैठक सञ्चालन गर्न भौतिक पूर्वाधारको निकै अभाव छ । प्रदेशसभामा अडियो, भिडियो रेकर्डजस्ता प्रविधिहरुको पनि अभाव भएको कुरा अवगत गरायौं ।’ जनप्रतिनिधिको सम्मानजनक मर्यादाक्रम नभएको भन्दै वर्तमान प्रोटोकलमा सच्याउन पनि उनीहरुले माग गरेका छन् । मौलिक अधिकार, संविधानमा उल्लेखित साझा अधिकार सूची लगायतका विषयमा संघीय संसदबाट छिटो कानुन बनाउन आफूहरुले सुझाव दिएको प्रदेश पाँचका सभामुख घर्तीले बताए ।

‘हामी नयाँ प्रणालीमा गएका छौं, सबैले सिक्दै त्यसलाई बलियो बनाउँदै जाने हो । यसलाई परिपक्व बनाउने जिम्मा तपाईहरुकै काँधमा आएको छ ।’

-केपी ओली, प्रधानमन्त्री

आफूहरुका समस्याप्रति राष्ट्रपति सकारात्मक देखिएको प्रदेश १ सभामुख भण्डारीले बताए । राष्ट्रपतिको भनाई उद्धत गर्दै उनले भने, ‘तपाईहरुको समस्याको सहजीकरणका लागि म लाग्छु ।’ प्रधानमन्त्री ओलीले संघीयता सबैका लागि नौलो अभ्यास भएकाले यसलाई सुधार्दै लैजाने बताए । उनले भने, ‘हामी नयाँ प्रणालीमा गएका छौं, सबैले सिक्दै त्यसलाई बलियो बनाउँदै जाने हो । यसलाई परिपक्व बनाउने जिम्मा तपाईहरुकै काँधमा आएको छ ।’ उनले संघीयतालाई कमजोर बनाउने अभ्यासहरु हुन थालेको भन्दै सबै मिलेर यसको सवलीकरणमा लाग्नुपर्नेमा जोड दिए । ‘कलिलो अवस्थाको हाम्रो संघीयताको टेको खुस्काउन अहिलेदेखि नै प्रयास भएका छन् । यस्ता प्रयासलाई सबै मिलेर परास्त गर्नुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, तपाईहरुका माग सम्बोधन गर्दै प्रदेश सरकारलाई बलियो बनाउन संघीय सरकार प्रतिवद्ध छ ।’ प्रधानमन्त्री ओलीले करका विषयमा अनावश्यक प्रचारबाजी भएको जिकीर गरे ।

आइतबार सातवटै प्रदेशका सभामुख उपसभामुखले प्रधानमन्त्रीसँग बालुवाटारमा भेटवार्ता गरेका थिए भने दिउँसो संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षका साथै पूर्वसभामुखसँग अन्तक्र्रिया गरेका थिए । संसद सचिवालयले संघीय संसद र प्रदेश सभाका पदाधिकारीबीच संसदीय प्रक्रिया र अनुभवका आदानप्रदान गर्न पहिलोपटक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.