६० करोड बढी राजस्व उठ्यो
वीरगन्ज : वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिना लक्ष्यभन्दा ६० करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ।
भन्सार विभागले दिएको लक्ष्यभन्दा ६० करोड ६३ लाख बढी राजस्व संकलन भएको हो। विभागले साउन महिनाका लागि १२ अर्ब १ करोड २४ लाखको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारमा १२ अर्ब ६१ करोड ८७ लाख राजस्व संकलन भएको जनाइएको छ। गत आवको साउनमा भने वीरगन्ज भन्सारले लक्ष्यभन्दा ६८ करोड ४३ लाख अर्थात् ८ अर्ब ७२ करोड ३१ लाख मात्र राजस्व उठाएको थियो।
समीक्षा अवधिमा गत आवको साउनमा तुलनामा झन्डै ४५ प्रतिशत बढी राजस्व संकलन भएको वीरगन्ज भन्सारले जनाएको छ। यस्तै, गत आवभरिमा भने वीरगन्ज भन्सारले १ खर्ब ३४ अर्ब रुपैयाँको लक्ष्य पाएकोमा त्यसभन्दा दुई प्रतिशत कम संकलन गरेको थियो।
साउनमा भन्सार महसुलतर्फ ४ अर्ब २६ करोड ३४ लाख, मूल्य अभिवृद्धि करतर्फ ५ अर्ब ३६ करोड ६६ लाख, अन्तः शुल्कतर्फ २ अर्ब २५ करोड २७ लाख र पूर्वाधार करतर्फ ५० करोड २४ लाख संकलन भएको वीरगन्ज भन्सारले जनाएको छ।
यसअघि पहिलो महिना लक्ष्य भेटाउन कठिन हुने गरेको सुनाउँदै वीरगन्ज भन्सार प्रमुख सेवन्तक पोखरेलले चालू आवमा बढी राजस्व संकलन भएको बताए। उनका अनुसार नयाँ सवारी साधन, इन्धन, औद्योगिक कच्चा पदार्थलगायत सामान आयात बढेकाले राजस्व असुली लक्ष्यभन्दा बढी भएको हो। अलौंस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पनि गत चैतदेखि सञ्चालनमा आएकाले आयात–निर्यात थप सहज भएका कारण पनि त्यसको सकारात्मक प्रभाव राजस्व संकलनमा परेको उनले बताए।
‘चैतदेखि आईसीपी र पुरानो वीरगन्ज भन्सार दुवैतर्फका नाकाबाट मालवस्तुको आयात–निर्यात हुन थालेको छ। यसले कारोबारी र आयाकर्तालाई थप सहज भएको छ’, उनले भने, ‘दुवैतर्फ कारोबार भएपछि आयात–निर्यात सहज हुँदा यसले गर्दा राजस्व संकलनमा वृद्धि भएको छ।’