पाकिस्तानद्वारा भारतसँग वार्ताको आग्रह

पाकिस्तानद्वारा भारतसँग वार्ताको आग्रह

इस्लामावाद : पाकिस्तानका नवगठित सरकारका विदेशमन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गरेका छन् । भारतसँगको शत्रुतापूर्ण सम्बन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उनले विशेष जोड दिएका छन् ।

‘हामी दुई छिमेकी मात्रै होइन, आणविक हतियार सम्पन्न शक्ति पनि हौँ’, पाकिस्तानका नयाँ विदेशमन्त्री शाह मेहमुद कुरेशीले भने । दोस्रोपटक विदेशमन्त्री भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले भारतसँगको सम्बन्धकै विषयमा बढी जोड दिएका हुन् । यसअघि आइतबार दिएको पहिलो टेलिभिजन सम्बोधनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भारतसँगको सम्बन्ध सुधार्नेतर्फ आफ्नो जोड रहने बताएका थिए ।

 ‘हामीसँग लामो समस्या छ, मलाई वार्ताभन्दा बाहिरबाट यसको समाधान हुन्छ भन्ने लाग्दैन’, कुरेशीले भने । उनले भारत र पाकिस्तानबीचमा निकास ननिस्किँदासम्म नटुंगिने वार्ताको आवश्यकता रहेको बताए । बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४७ देखि नै भारत र पाकिस्तानबीच राम्रो सम्बन्ध छैन । विशेष गरी कश्मीर क्षेत्र आफ्नो देशको सिमानाभित्र पर्ने दुवै पक्षले दावी गरेकाले विवाद हुँदै आएको हो । 

त्यही विवादका कारण उनीहरूले तीनपटक युद्ध गरेका थिए । खानलाई बधाई दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देश पठाएको पनि कुरेशीले जानकारी दिए । भारतीय विदेश मन्त्रालयले भने कुनै औपचारिक पत्र नपठाएको पनि उनले पत्रकार सम्मेलनमा स्पष्ट पारेका छन् । विदेशमन्त्री कुरेशीले नयाँ शिराबाट अफगानिस्तानसँगको प्रेम र मित्रता अगाडि बढाउन चाहेको सन्देश दिन आफूले अफगानिस्तानको पनि भ्रमण गर्ने इच्छा रहेको बताएका छन् । ‘अफगानिस्तानमा शान्ति र स्थिरता नहुँदासम्म पाकिस्तानमा पनि शान्ति र स्थिरता हुँदैन’, उनले भने । खान नेतृत्वको मन्त्रिपरिषद्मा पनि विदेशमन्त्रीको जिम्मेवारी पाएका कुरेशी यसअघि सन् २००८ देखि २०११ सम्म पनि विदेशमन्त्री थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.