पुनर्मिलनका लागि उत्तरकोरिया पुगे दक्षिण कोरियाली
सोल : सन् १९५०-५३ को कोरियाली युद्धबाट छुट्टिएका परिवारजनसँग भेटघाट गर्न सोमबार ८९ जना दक्षिण कोरियाली उत्तर कोरिया पुगेका छन् । दक्षिण र उत्तर कोरियाबीच साताव्यापी पारिवारिक पुनर्मिलन यही सोमबारदेखि शुरु भएको हो । सन् २०१५ अक्टोबरयता यस्तो पुनर्मिलन कार्यक्रम हुन सकेको थिएन । उत्तर कोरियाको पूर्वी तटमा रहेको माउन्ट कुमगाङ रिसोर्टमा यो भेटघाटको व्यवस्था मिलाइएको हो । दक्षिण कोरियाको उत्तरपूर्वी तटीय शहर सोक्चोबाट सोमबार बिहानै झण्डै ३० वटा बस कुमगाङतर्फ प्रस्थान गरेका थिए ।
यी बसमा बूढाबूढी सहित उनीहरूका सहयोगी गरी ३ सयभन्दा बढी सहभागी छन् । केही अशक्त व्यक्तिहरू ह्विलचेयरमा छन् वा केही आफन्तको सहयोगमा त्यहाँ गएका हुन् । आफ्ना उत्तर कोरियामा रहेका आफन्तलाई दिन उपहार पनि उनीहरूले साथमा लगेका थिए । उत्तर कोरिया प्रस्थान गर्नुअघि उनीहरू उत्साहित मुद्रामा बसमा चढेका थिए । ‘राति ९ बजे सुतेको म आज बिहान ३ बजे नै ब्युझिएँ’, ७० वर्षीय वयोवृद्ध शिन जोङ-होले भने, ‘मलाई कुनै किसिमको स्वास्थ्य समस्या छैन । शायद त्यहाँ पुग्दासम्म मलाई केही हुने छैन र सहज रूपमा फर्कनेछु।’
सोमबारको पुनर्मिलन कार्यक्रम स्थानीय समयअनुसार अपराह्न ३ बजेका लागि तोकिएको थियो । उत्तर कोरियाली सरकारका तर्फबाट उनीहरूलाई खाना व्यवस्था गरिएको छ । दोस्रो दिन मंगलवार उनीहरूले आफ्ना परिवारजनसँग दोस्रोपटक भेट गर्न पाउनेछन् र सँगै खाना खानेछन् ।
तीन दिन रहँदा उनीहरूले आफ्ना परिवारजनसँग ५ पटक भेट्न पाउँछन् र यो करिब ११ घण्टाको अवधि हुनेछ । उनीहरू बुधबार दक्षिण कोरिया फर्कनेछन् । दक्षिण कोरियालीहरू लगभग ७० र ८० वर्ष उमेरका छन् । एकजना चाहिँ सबैभन्दा बढी उमेर १०१ वर्षका छन् । धेरैजसो व्यक्तिहरू वृद्धवृद्धा रहेकाले बाबुआमा, छोराछोरीबीचको पुनर्मिलन भने त्यति सम्भव देखिन्न।
सरकारले वृद्धवृद्धाको हेरचाह र कुनै जरुरी परेको अवस्थामा उपचार गर्नेगरी करिब ३० जनाको चिकित्सा टोलीसमेत सँगै पठाएको छ । गत अप्रिलमा दुबै कोरियाका नेताहरूबीचको शिखर बैठकपश्चात् यस्तो पारिवारिक पुनर्मिलन सम्भव भएको हो । सन् २००० यता उत्तर र दक्षिण कोरियाबीचको प्रत्यक्ष वार्ता शुरु भएयता यो बीसौं पुनर्मिलन कार्यक्रम हो । करिब ५७ हजार दक्षिण कोरियालीहरू उत्तर कोरियामा रहेका आफन्तलाई भेट गर्न प्रतीक्षारत छन् । कोरियाली युद्ध सन् १९५३ मै समाप्त भए पनि दुवै कोरिया प्राविधिक रूपमा अद्यापि युद्धकै स्थितिमा रहेका छन् ।
योन्हाप