पहिरोको जोखिममा विद्यालय, त्रासले पठनपाठन प्रभावित
बैतडी : केही दिनदेखिको लगातारको वर्षाका कारण बैतडीको दुर्गम सिगास गाउँपालिकास्थित एक विद्यालय पहिरोको जोखिममा परेको छ । सिगास गाउँपालिका–४ गढतोलास्थित शिव आधारभूत विद्यालय पहिरोको जोखिममा परेको स्थानीय राजेन्द्र साँउदले जानकारी दिएका छन् ।
विद्यालयको पछाडीपट्टी निर्माण गरिएको पर्खाल बर्षाले भत्काएपछि विद्यालय भवन पहिरोको जोखिममा परेको विद्यालयका शिक्षक वीरसिंह धामीले बताए । उनले भने, ‘विद्यालय भवनको पछाडीपटीको पर्खाल पूरै भत्किएको छ । विद्यालयको मैदान समेत जोखिममा परेको छ ।’ पहिरोको त्रासले पठनपाठन गराउन समस्या भएको धामीले बताए ।
सिगास गाउँपालिकाको ५ लाख अनुदान सहयोगमा निर्माण गरिएको विद्यालयको खेलमैदान पनि पहिरोले भासिएको बताइएको छ । विद्यालय पहिरोको जोखिममा रहेकोबारे गाउँपालिकालाई जानकारी गराइएको छ । वि स २०४० सालमा स्थापना भएको विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ। विद्यालयमा २५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।