मूल्य वृद्धि १३ वर्षयताकै कम
काठमाडौं : गत आवको मूल्य वृद्धि १३ वर्षयताकै कम छ । आर्थिक वर्ष २०६१÷६२ देखि लगातार बढेको बजार भाउ यस वर्ष ओर्लिएको हो । आर्थिक वर्ष २०६५÷६६ मा १२.६ प्रतिशतसम्म बजार भाउ उक्लिएको थियो । तयसपछि केही घट्न सुरु गरे पनि उतार चढाव हुँदै बजार भाउ यो अवस्थामा आइपुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार गत आवमा औसत मूल्य वृद्धि चार दशमलव दुई प्रतिशतमा सीमित छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर साढे चार प्रतिशत थियो । राष्ट्र बैंकले आर्थिक वृद्धिदर सरकारले प्रक्षेपण गरेअनुसार नै पुग्ने बताएको छ ।
बढ्यो कर्जा र निक्षेप
२८ खर्ब ३६ निक्षेप र २४ खर्ब २२ अर्ब कर्जा
नेपालमा सञ्चालित बैंक तथा वित्तीय क्षेत्रबाट गत आवमा २८ खर्ब ३६ अर्ब निक्षेप संकलन र २४ खर्ब २२ अर्ब कर्जा प्रवाह भएको छ । गत आवमा बैंक तथा वित्तीय संख्याले प्रवाह गरेको कर्जा अघिल्लो आवभन्दा २४.९ प्रतिशतले बढी हो । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह बढाए पनि सोही अनुपातमा निक्षेप भने संकलन गर्न सकेको देखिँदैन । गत आवमा अघिल्लो आवको तुलनामा १९.२ प्रतिशतमात्र निक्षेप संकलन भएको छ । अघिल्लो आवमा बैंक तथा वित्तीय संस्थाले १९ खर्ब ८६ अर्ब कर्जा प्रवाह गरेका थिए भने २३ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेका राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ ।
बैंक तथा वित्तीय संस्थामा भएको पुँजी वृद्धिसँगै बैंकहरूले अघिल्ला वर्षका तुलनामा कर्जा विस्तार गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालका अनुसार बैंक तथा वित्तीय संस्था तथा सहकारीसहित गत आवमा ३२ खर्ब निक्षेप संकलन भएको छ ।
समीक्षा अवधिमा कृषि क्षेत्रको कर्जा ५०.८ प्रतिशत, औद्योगिक कर्जा २०.६ प्रतिशत, निर्माण क्षेत्रको कर्जा १९.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा २२.४ प्रतिशतले बढेको छ । त्यस्तै उद्योगतर्फ २२.३, यातायात, सञ्चार तथा सार्वजनिक सेवातर्फ २६.७ प्रतिशतले वृद्धि भएको छ ।
गत आवमा १२ अर्ब २३ करोड पुनर्कर्जामा लगानी भएको छ । दुई प्रतिशत ब्याजमा एक हजार ६७ भूकम्पीडितका लागि एक अर्ब ७९ करोड कर्जा स्वीकृत भएको छ ।
गत आवमा निजी क्षेत्रबाट प्रवाहित कर्जा साढे २२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १८.२ प्रतिशतले बढेको थियो ।
गत आवमा बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी लगानी थोक तथा खुद्रा व्यापारमा गरेका छन् । यो क्षेत्रमा गरिएको लगानीबाट छिटो प्रतिफल आउने भएकाले बैंकहरू सो क्षेत्रमा लगानी गर्न हौसिएको गभर्नर नेपालले बताए ।
गत आवमा बैंक तथा वित्तीय संस्थाको करिब चार खर्ब उत्पादनमूलक क्षेत्रमा लगानी छ । ‘कृषिमा कुल लगानीको १० प्रतिशत गर्नै पर्ने भए पनि गत आवमा सोहीअनुसार कर्जा प्रभाव हुन सकेको छैन । गत आवमा कृषिमा एक खर्ब ३५ अर्ब लगानी छ । सो लगानी कुल कर्जाको ५.५७ प्रतिशतमात्र हो ।
चालू खाता घाटा दुई खर्ब ४५ अर्ब पुग्यो
गत आवमा सरकारको चालू खाता दुई खर्ब ४५ अर्ब रुपैयाँले घाटामा गएको छ । अघिल्लो आवसम्म १० अर्ब १३ करोड रहेको चालू खाता एकै वर्षमा दुई खर्ब ३५ अर्बले घाटामा गएको हो । पेट्रोलियम पदार्थ, यातायातका साधन तथा औद्योगिक सामग्रीमा भएको उच्च आयातका कारण चालू खाता घाटामा गएको हो ।
अघिल्लो आवमा कुल निर्यात साढे १५ प्रतिशत र कुल आयात २७.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा निर्यात ९.९ र र आयात ३० प्रतिशतले वृद्धि भएको थियो । त्यसरी नै गत आवमा भ्रमण आय १६.४ र विप्रेषण आय १०.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । चालू खाता ऋणात्मक रहे पनि शोधनान्तर बचत भने गत आवमा ९६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै गत आव कुल गार्हस्थ्य उत्पादनसँग ८.९ प्रतिशत बजेट घाटा छ । नगद प्रवाहमा आधारित बजेट घाटा दुई खर्ब ६८ अर्ब पुगेको छ । अघिल्लो आवमा यस्तो घाटा एक खर्ब ८८ अर्ब थियो ।
सरकारले गत आवमा न्यून वित्त पूर्ति गर्न एक खर्ब ४४ अर्ब आन्तरिक र ६३ अर्ब वैदेशिक ऋण परिचालन गरेको छ । सरकारले गत आवमा वैदेशिक सहायताबाट दुई खर्ब १४ अर्ब वैदेशिक ऋण परिचालन गर्ने योजना बनाएको थियो । गत आवसम्म पाँच खर्ब तीन अर्ब वैदेशिक ऋण र तीन खर्ब ९० अर्ब आन्तरिक ऋण गरी जम्मा आठ खर्ब ९४ अर्ब सरकारी ऋण पुगेको छ ।
गत आवमा ११ खर्ब दुई अर्ब विदेशी मुद्रा सञ्चिति छ । सो सञ्चिति अघिल्लो आवभन्दा २३ अर्बले बढेको छ । गत असार मसान्तसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.९ प्रतिशतले अवमूल्यन भएको छ । २०७४ असार मसान्तमा अमेरिकी डलर एक बराबर १०२ रुपैयाँ ८६ पैसा विनिमय दर रहेकोमा २०७५ असारमा आइपुग्दा १०९ रुपैयाँ ३४ पैसा पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।
गत आवमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानी
कुल कर्जा २४ खर्ब २२ अर्ब
उपभोग्य कर्जा ८७ अर्ब
सेवा उद्योग १ खर्ब ९७ अर्ब
बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा २ खर्ब ३ अर्ब
थोक तथा खुद्रा ५ खर्ब ३२ अर्ब
यातायात, संचार तथा सार्वजनिक सेवा १ खर्ब ३३ अर्ब
यातायात उपकरण तथा जडान सामग्री ३६ अर्ब
कृषि १ खर्ब ३५ अर्ब
खानी तथा उत्खनन् ५ अर्ब
उत्पादनमूलक उद्योग ३ खर्ब ९७ अर्ब
पूर्वाधार २ खर्ब ५३ अर्ब
धातु उत्पादन, मेसिनरी र इलेक्ट्रिकल उपकरण र फिटिङ ३३ अर्ब
अन्य ३ खर्ब ४४ अर्ब
स्रोतः राष्ट्र बैंक