यौन शिक्षा किन ?

यौन शिक्षा किन ?

—‘ममी यो के हो ?’

मैले सहज उत्तर दिएँ— सेनेटरी प्याड। यो महिनावारी भएको बेलामा लगाइन्छ। दराजको ड्रयर तान्दा सेनेटरी प्याड देखेपछि उसको मनमा उब्जिएको कूतुहलता मेटिनुपर्छ भन्ने मलाई लाग्यो। प्रश्न कक्षा ६ मा अध्ययनरत मेरो ११ वर्षीय छोरोले गरेको थियो। मेरो जवाफसँगै सुरु उसका अरू जिज्ञासा थपिए– केटा मान्छेलाई किन हुँदैन ? म कसरी जन्मिएँ ? कहाँबाट जन्मिएँ ?

यी सबै प्रश्नको जवाफ दिन मलाई सहज त भएन तैपनि इन्टरनेट प्रयोग गरेर उसको धेरथोर जिज्ञासा शान्त पारें। तर हाम्रा आम परिवारमा यस्ता जिज्ञासा झपारेर वा आलटाल गरेर पन्छाउने गरिन्छ।

किशोरावस्थामा प्रेम र यौनसम्बन्धी जिज्ञासा उत्पन्न हुनु सामान्य हो। यो चरण हामी सबैले जीवनमा एकपटक भोगेरै आएका हुन्छौं भलै त्यसलाई उजागार गर्न सक्ने वातावरण थिएन। विडम्बना छोराछोरी पुस्तामा आइपुग्दा पनि हाम्रो सामाजिक चिन्तन उस्तै छ। हामी हाम्रा छोराछोरीसँग खुलेर यस विषयमा कुरा गर्न धक मान्ने गर्छौं। त्यसैले यो काम विद्यालय शिक्षाले पूरा गरोस् भन्ने चाहन्छौं। त्यसैले नै २०५६ देखि स्वास्थ्य शिक्षाअन्तर्गत यौनिकता शिक्षालाई समावेश गरिएको छ।

यद्यपि दुई दशकअगाडि प्रजनन प्रणालीबारे पढाउने समयमा हाम्रो पुस्ता कक्षा छोडेर बारीका डिलतिर भोगटे साँधेर खाई बसेजस्तै अहिले पनि शिक्षकहरू यो विषय पढाउन र विद्यार्थी पढ्न धक मान्छन्। लज्जाबोधले पाठ राम्रोसँग पढ्न सक्दैनन्। शिक्षकले बुझाउन सक्दैनन्। यसैकारण किशोरकिशोरीले आफूलाई आइपरेको समस्या पनि राख्न सक्दैनन्। बढ्दो उमेरसँगै उनीहरूमा अनेकन् शारीरिक र मानसिक परिवर्तन आइरहेको हुन्छ। तर त्यसले ल्याएका अप्ठ्यारो समाधान गर्न नपाउँदा उनीहरू उदास भइरहेका हुन्छन्। संकुचित सामाजिक चेतले उनीहरूलाई विस्तारै डिप्रेसनतिर धकेलिरहेको हुन्छ।

विश्व स्वास्थ्य संगठनको अनुसार १० देखि १९ वर्षसम्मको उमेर किशोरावस्था हो। नेपालमा भने ११ देखि १८ वर्षको उमेरलाई किशोरावस्था मानिएको छ। यो बाल्यकाल र युवा उमेरबीचको संक्रमणकालीन उमेर हो। बाल्यकाल मानिसको आधारस्तम्भ हो भने किशोरावस्था सफलता चढ्ने खुट्किलो हो। शारीरिक, मानसिक, भावनात्मक र संवेगात्मक रूपमा हुने व्यापक परिवर्तनले यो उमेरमा केटाकेटीहरू आँधी प्रतीत समय गुजार्छन्। यो अवस्थामा सही मार्गनिर्देशन पाएनन् भने उनीहरू बहकिन सक्छन्। विशेषतः यौन शिक्षाको कमी हुँदा उनीहरूमा जन्मिने कूतुहलको समाधान भएन भने उनीहरूमा आपराधिक मनोवृत्तिको विकास हुने सम्भावना हुन्छ, जसले उनीहरूको जीवन धरापमा मात्र पार्दैन, धराशायी नै पार्न सक्छ। केही उदाहरण यहाँ प्रस्तुत छन्  :

किशोरकिशोरीलाई समयमै यौन शिक्षा नदिँदा उनीहरू अवसाद उन्मुखमात्र छैनन्, अपराधउन्मुख पनि छन्।

मावि तहमा अध्ययनरत दुई विद्यार्थीबीच प्रेम प्रसंगबारे गाईंगुईं सुनियो। किशोरावस्थामा विपरीत लिंगीप्रति अनुराग उत्पन्न हुनु असामान्य थिएन। असामान्य त्यतिबेला भयो जब ती किशोरी विवाहपूर्व आमा बनिन्। पन्ध्र वर्षमै आमा बन्दा उनको र बच्चाको स्वास्थ्यमा पर्ने प्रभावबारेको चिन्ता त थियो नै, त्यसमाथि उनको पढाइ पनि रोकियो। उचित अध्ययनको कमीले भविष्यमा पैदा हुने बेरोजगार, त्यसले ल्याउने नैराश्य र त्यसपछि उत्पन्न हुने व्यावहारिक, घरायसी समस्यालाई उनीहरूले कसरी सम्बोधन गर्लान् ?

त्यस्तै भर्खरै भएको अर्को एक घटनामा चौध वर्षकी छात्राले आत्महत्या गरिन्। विद्यालयमा उनी जेहेनदार थिइन्। पोस्टमार्टमबाट उनको गर्भमा चार महिनाको शिशु भएको थाहा भयो। त्यो अनिच्छित गर्भ नै उनका लागि मृत्युको कारक बन्यो।

समयमै खुला यौन शिक्षा दिइएको भए र सुरक्षित यौन सम्पर्कबारे ज्ञान भएको भए पक्कै पनि उनीहरू कम उमेरमा नै यौन गतिविधिमा लाग्दैनन्थे वा सुरक्षाका उपाय अपनाउँथे। समयमै यौन शिक्षा नदिँदा कति किशोरकिशोरीको जीवनको लय भत्किएको होला ? नेपाली समाजमा त्यसको तथ्यांक घट्नुको साटो बढ्दै गइरहेको छ।

यौन प्राकृतिक अभ्यास हो, तर यसलाई मानिसले सभ्यता, इज्जतको नाममा अप्राकृतिक रूप बनाएका छन्। त्यसैले यो विषयमा खुलेर बोल्न, छलफल गर्न बन्देज गरिएको छ। यस विषयमा बोल्नेलाई अनेक गालीगलौज गरी तिरस्कार गरिन्छ। कतिपय समुदायमा त सामाजिक बहिस्कार नै गरिन्छ। प्राकृतिक नियममा हुने बन्देज विस्फोट भइदिन्छ। यो बन्देजै विकृत मानसिकता बनेर जन्मिन्छ, जसले गर्दा समाजमा बलात्कार, यौन शोषण, हाडनाता करणीलगायतका वीभत्स घटना हुन पुग्छ। त्यसैले घर होस् वा विद्यालयमा किशोरकिशोरीलाई यौन सामान्य प्रकृया हो भन्नेमा विश्वस्त गराउन आवश्यक छ। 

यौनचाहनामा संयमित हुनेलगायत सानो उमेरमा गर्भवती हुदाँका असर बताएर उनीहरूलाई स्वस्थ यौन व्यवहारउन्मुख गराउनुपर्दछ। तर हाम्रा विद्यालयमा महिनावारी हँदा किशोरीहरूले फेर्ने सेनेटरी प्याड व्यवस्थापनको लागि शौचालयमा डस्टबिनको व्यवस्थासम्म गरिएको हुँदैन। जसले गर्दा महिनामा चारदेखि पाँच दिन छात्राहरू अनुपस्थित रहनुपर्ने बाध्यता छ भने यौनिकताको सम्बन्धमा त सोच्नै भ्याएका छैनन्।

सन् २००६ मा यूएनएडको अध्ययनले यौनिकता शिक्षा लागू भएपश्चात् लैंगिक हिंसा, भेदभाव, दुव्र्यसन जस्ता क्रियाकलापमा कमी आएको देखाएको छ। यस किसिमको शिक्षाले विद्यार्थीमा सकारात्मक यौन व्यवहार गर्न अभिप्रेरित गर्दछ। यसले विस्तारै उनीहरूमा असल सामाजिक सम्बन्ध विस्तार गर्न साथै सही निर्णय गर्न, नवीनतम सोच राख्न सक्षम बनाउँछ। परिवेशअनुकूल बाँच्ने सीप विकास गर्दछ। समग्रमा शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक र भावानात्मक रूपले सन्तुलित जीवनयापन गर्न सक्षम मानिस उत्पादनमा यौनिकता शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.