थोपा–थोपा बचत गरी हाँसमा लगानी
बकुलिया : गर्न सके गाउँमै रोजगारीको वातावरण बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् बाराको जितपुर–सिमराका १ युवा ।
दुई वर्षअघि रकम बचत थालेका बकुलियाका यी युवा त्यही रकम लगानी गरी तीन महिनायता सामूहिक रूपमा हाँसपालनमा लागेका छन् । आफूहरूले बचत गरेको २ लाख रुपैयाँ लगानी गरी उनीहरूले गाउँमै व्यावसायिक रूपमा हाँसपालन सुरु गरेका हुन् । यसका लागि उनीहरूले युवा युनाइटेड बहुउद्देश्यीय कृषि फार्म (युग) गठन गरेका छन् । संस्थाका अध्यक्ष अनिल विश्वकर्माका अनुसार फार्ममा शिक्षक, लेखापाल, फर्मासिस्ट, व्यापारी र उद्योगमा काम गर्ने मजदुर आबद्ध छन् ।
‘विभिन्न पेसामा आबद्ध हामी १३ जना युवाले दुई वर्षदेखि सानोतिनो रकम बचत गर्दै आएका थियौं’, अध्यक्ष विश्वकर्माले भने, ‘दुई वर्षमा करिब २ लाख रुपैयाँ बचत भएको थियो, त्यो रकम ब्याजमा अरूलाई दिनुभन्दा रोजगारमूलक कुनै काम आफैं गर्ने सल्लाह भयो । अनि, हामीले गाउँमै सामूहिक रूपमा हाँसपालन व्यवसाय सुरु गरेका हौं ।’ डेढ लाख थपेर साढे ३ लाख रुपैयाँमा लगानीले हाँसपालन सुरु गरेको उनको भनाइ छ ।
हाँसपालनका लागि उनीहरूले गाउँमै तीन कट्ठा जग्गा भाडामा लिएका छन्, जहाँ हाँसको खोर र हाँस विचरण गर्ने कृत्रिम पोखरी बनाइएको छ ।
पहिलो लटमा गत वैशाख २८ गते खोरमा हालिएको १ हजार चल्ला अहिले मासुका लागि बिक्री गर्न तयार भइसकेको उनले सुनाए । ‘बजारमा जिउँदो हाँस प्रतिगोटा १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्ममा खदिरबिक्री हुँदै आएको छ’, उनले भने, ‘तर, हामीले ५ सयमै हाँस बिक्री गरिरहेका छौं ।’ कम मुनाफामा धेरै हाँस बेच्ने सोचमा रहेको उनले सुनाए ।
सबै खर्च कटाएर १ लाख रुपैयाँ मुनाफा कमाउने लक्ष्य रहेको संस्थाका सचिव रमेश चौधरीले बताए । अब थप ३ हजार हाँसको चल्ला राख्ने योजना रहेको विश्वकर्माले सुनाए । भने, ‘दसैंलगत्तै करिब १० कट्ठा थप जग्गा लिजमा लिएर ३ हजार चल्ला थप्ने योजना छ ।’ हाँसको अण्डा उत्पादन गरी बिक्री गर्ने योजना पनि रहेको उनले जानकारी दिए । उनका अनुसार यहाँका उत्पादन पहिले वीरगन्ज, जितपुर र सिमराका बजारमा आपूर्ति गर्ने र फार्म विस्तारपछि पोखरा र काठमाडौंसम्म पु¥याउने योजना छ ।
यो व्यवसायमा लागेका युवा विभिन्न पेसामा आबद्ध रहे पनि बिहान र बेलुकीको खाली समय हाँसको रेखदेख गरेर सदुपयोग गर्दै आएको सचिव चौधरीले बताए । ‘सबै जना दिनभरि आआफ्नो काममा जान्छौं’, उनले भने, ‘तर, बिहान ६ देखि ९ र साँझ ५ देखि ८ बजेसम्मको खाली समयमा फार्ममै आएर काम गर्छांै ।’
उनका अनुसार दुई जनाले रोजगारी पनि पाएका छन् । फार्म रेखदेखका लागि ८÷८ हजार रुपैयाँ मासिक तलब दिने गरी दुई जनाई रोजगारी दिइएको हो । हाँसपालनका लागि कुनै किसिमको तालिम नलिएको स्वीकार गर्दै उनले भने, ‘तर, हामी १३ जना सदस्यले नै जनकपुर र रौतहटमा रहेका हाँस फार्मको अवलोकन भ्रमण ग¥यौं । त्यसबाहेक इन्टरनेटबाट पनि धेरै जानकारी लिएका थियौं ।’
यी युवाको काम देखेर अरूले पनि देखासिकी गरेका छन् । बकुलियाकै राजेन्द्र चौधरीले एक सातायता ७ सय हाँसको चल्ला ल्याएर व्यवसाय थालेको जनाइएको छ ।