जनप्रतिनिधिबीच किचलो
० हंसपुर नगरपालिकामा वडाध्यक्षसहित स्थानीयले अधिकृतलाई थुने ।
० विवादका कारण नागरिकले सेवा–सुविधा सहज रूपमा पाउन सकेनन् ।
जनकपुरधाम : २४ दिनयता धनुषाको नगराइन नगरपालिकामा ताला लागेको छ । नगरपालिकाको कामकाज ठप्प हुँदा सेवाग्राहीलाई समस्या भइरहेको छ तर तालाबन्दी खुल्ने अवस्था छैन ।
मेयर परमेश्वर यादवले एकलौटी रूपमा नगरपालिकाको नाम परिवर्तन गर्न खोजेपछि अन्य जनप्रतिनिधिले नै कार्यालयमा ताला लगाएको जनाइएको छ । कांग्रेसबाट मेयरमा निर्वाचित यादवले नगरपालिका पार्टीका नेता स्वर्गीय महेन्द्रनारायण निधिको नामबाट नामकरण गर्न खोजेपछि चार वडाध्यक्ष र १६ जना सदस्यले तालाबन्दी गरेका हुन् । कांग्रेस नेता विमलेन्द्र निधिका बुवा महेन्द्रनारायणका नाममा धेरै सालिक तथा संघसंस्था पहिलादेखि नै रहेको अवस्थामा नगरपालिकाको नाममा सहिद दुर्गानन्द झा समेटिनुपर्ने माग रहेको ५ नम्बर वडाध्यक्ष सञ्जय कुमार राउतले बताए ।
मेयरले आफूखुसी नगरपालिकाको नाम परिवर्तन गर्न खोज्दा आफूहरूले विरोधस्वरुप कार्यालयमा तालाबन्दी गर्नुपरेको १ नम्बरका वडाध्यक्ष प्रमोद साहले बताए ।
वडाध्यक्षहरू प्रमोदकुमार साह, रामदुलार मुखियासहित १८ सदस्य उच्च अदालत जनकपुरमा मेयर यादव र प्रशासकीय अधिकृत रामकुमार महतोविरुद्ध उत्प्रेषन मुद्दा दर्तासमेत गराएका छन् । उनीहरूका अनुसार गत असार १० गते भएको नगरसभामा बजेटबाहेक अरू कार्यसूची थिएन । त्यसबाहेक कुनै निर्णय पनि भएको थिएन । त्यसपछि नगरसभा पनि भएको छैन । यस्तो अवस्थामा नगरसभाबाट निर्णय भएको भनी घर–घरमा गई माइन्युटमा सही गराउन खोजिएको र त्यस आधारमा नगरपालिकाको नामकरण गर्न खोजिएको आरोप मेयरमाथि लगाइएको छ । अदालतले भने निवेदनमाथि सुनुवाइ गर्दै भदौ २५ गतेका लागि दुवै पक्षलाई छलफल गर्न बोलाएको छ ।
त्यस्तै, हंसपुर नगरपालिकामा वडाध्यक्षले निमित्त कार्यकारी अधिकृतलाई कार्यालयमै थुनेको घटना सार्वजनिक भएको छ । नगरपालिकाको २ नम्बरका वडाध्यक्ष उदय साहले निमित्त कार्यकारी अधिकृत साधुशरण यादवलाई कार्यालयमा थुनेका थिए । निमित्त कार्यकारी अधिकृतले सोमबार साँझ दोस्रो नगर परिषद्का निर्णय उपलब्ध गराउन नमानेपछि वडाध्यक्ष साहसहित स्थानीयले उनलाई कार्यालयभित्र थुनेका थिए ।
परिषद्मा भएका निर्णयको प्रतिलिपि उपलब्ध गराउन माग गर्दा यादवले उपलब्ध गराउन अस्वीकार गरेपछि वडाध्यक्ष साह र आक्रोशित स्थानीयले कार्यालयमा थुनेको उपमेयर रेणु झाले जानकारी दिइन् ।
हंसपुरमा गत असार १० गते दोस्रो नगर परिषद् सम्पन्न भएको थियो । परिषद्मा के–के योजना ल्याइयो भन्ने विषयमा वडाध्यक्ष साहले साउन १ गते सूचनाको हक प्रयोग गरी सूचना माग गरेका थिए । तर, मेयर रामज्ञान मण्डलले निवेदनमा तोक नलगाएपछि उपमेयर झाले तोक लगाएकी थिइन् । उपमेयरले सूचना उपलब्ध गराउन निवेदनमा तोक लगाए पनि निमित्त कार्यकारी अधिकृतले अटेर गरेपछि वडाध्यक्ष साहले स्थानीयको सहयोगमा दिनभरि कार्यालय घेराउ गरेका थिए ।
अधिकृत यादवले परिषद्को माइन्युट तथा निर्णय आफूसँग नरहेको बताएपछि स्थानीय थप आक्रोशित भएका थिए । स्थिति नियन्त्रणमा लिन जनकपुरबाट सुरक्षाकर्मीको टोली आउनुपरेको थियो ।
धनुषाका १८ स्थानीय तहमध्ये अधिकांशमा कर्मचारी अभाव, योजना बाँडफाँट, कमिसनको खेल, जनप्रतिनिधिमा बहुमतको दम्भलगायत समस्याले विवाद देखिएको छ । स्थानीय तहको विवादका कारण नागरिकले सेवा– सुविधा सहज रूपमा पाउन सकेका छैनन् ।